एकतालाई अनुमोदन

पार्टी भित्र गुट उपगुट बनाउनु अपराध हो : झलनाथ खनाल

नेकपा राष्ट्रियता र लोकतन्त्रको पहरेदार, जनजीविकाका सवालमा निरन्तर लड्ने लडाकू पार्टी हो
पार्टी भित्र गुट उपगुट बनाउनु अपराध हो : झलनाथ खनाल

२०२५ सालमा पार्टी सदस्यता प्राप्त गरेका झलनाथ खनालले २०३४ सालमा नेकपा माले स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरे। तत्कालीन मालेको शक्ति संघर्षले उनलाई उक्त पार्टीको नेतृत्वमा स्थापित गरायो। ३३ वर्षकै उमेरमा २०३९ मा उनी नेकपा मालेको महासचिव भए। २०४७ सालसम्म निरन्तर यही पदमा रहे। २०४७ मा नेकपा माक्र्सवादी र नेकपा माले एकीकृत भइ नेकपा एमाले बनेपछि उनी उक्त पार्टीको स्थायी समिति सदस्य रहँदै आए। २०६४ को संविधानसभा निर्वाचनमा पार्टीको हारपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएपछि उनले पुनः पार्टीमा महासचिवको जिम्मेवारी सम्हाले। २०६५ को बुटबल महाधिवेशनबाट अध्यक्षमा निर्वा्चित भए र २०६७ माघ २३ गते प्रधानमन्त्री बन्न सफल भए।
२०७० मा काठमाडौंमा भएको पार्टीको नवौं महाधिवेशनपछि उनी पार्टीका वरिष्ठ नेताका रुपमा रहे। २०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकता भएपछि नेता माधवकुमार नेपाललाई तेस्रो वरियतामा राखियो। यसमा उनले पार्टीसमक्ष असन्तुष्टि राखे। र, हालैमात्र पार्टीले पूर्व निर्णय सच्याएर उनलाई तेस्रो वरियतामा राखेको छ। प्रस्तुत छ पार्टी एकता, समसामयिक राजनीतिलगायतका विषयमा नेता खनालसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वरियता विवाद टुंगियो। विभाग गठन भए। जिल्लाको नेतृत्व चयन भयो। अब चाहिँ एकता प्रक्रियाले गति लिएको हो ?
निसन्देह नै। हामीले १५ महिनाअघि तत्कालीन एमाले र माओवादीबीच एकताको घोषणा गरेका थियौं। एकता घोषणापछि पार्टीका तल्लो तहका निकाय विघटन गर्रुयौं। यद्यपि, विघटन गर्नुहुने थिएन। विघटनपश्चात एकता प्रक्रिया कहिले अगाडि बढ्छ भन्ने जिज्ञासा र चिन्ता सिंगो पार्टी पंक्तिभित्र थियो। आमजनतामा पनि त्यो चिन्ता थियो। क्रमशः पछिल्लो समय पार्टीका निकाय एकीकरण गरेका छौं। केन्द्रीय कमिटी, प्रान्तीय कमिटी बने। जिल्ला कमिटी बने। तल्लो तहसम्म एकीकरण भयो। त्यसैगरी वर्गीय संगठन पनि एकीकरण गर्ने प्रक्रिया अघि बढ्यो। ३२ वटा विभाग अघि सारेका छौं। प्रमुख र उपप्रमुख तोकेका छौं। विभागका अरु सदस्य बनाउन बाँकी छ। राष्ट्रिय परिषद र राष्ट्रिय सल्लाहकार परिषद बनाउन बाँकी छ। त्यस्ता केही काम बाँकी छन्। तर, आधारभूत रुपले एकता भयो। अब पार्टीले गति लिन्छ । आलोपालोको विषयलाई लिएर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच घोचपेच पनि भय।

यसले पार्टीको आन्तरिक जीवनमा असर गर्दैन ?
मलाई लाग्छ, त्यसले कुनै असर गर्दैन। पार्टी एकीकरण गर्दा जुन मूल्य, मान्यता, दृष्टिकोण, सहमति र समझदारी अघि सारियो ती कुरा धेरै महत्वपूर्ण छन्। हामी सबैले यो एकतालाई अनुमोदन गरिसकेका छौं। कम्युनिष्ट आन्दोलन र आमजनताले पनि नेकपाको एकीकरण आवश्यक थियो भनेर अनुमोदन गरेको प्रमाण गत चुनावले पनि देखायो। दुईतिहाइ आयो। त्यसैले पार्टी एकतामा जे समझदारी भएको छ, त्यो समझदारी र सहमतिको सबैले सम्मान गर्नुपर्छ। यद्यपि, दुई अध्यक्षबीच सहमति भयो भन्ने हामीले सुनेकामात्रै छौं। केन्द्रीय कमिटीमा, स्थायी समितिमा वा सचिवालय बैठकमा दुई अध्यक्षबीचको सहमतिबारे हामीलाई जानकारी गराइएको छैन, हामीलाई थाहा छैन। तर, सहमतिपत्र नै बाहिर आएको छ। हामी प्रष्ट हुनुपर्छ, यो एकताको प्रक्रियामा भएको जेसुकै समझदारीको सम्मान गर्नुपर्छ। त्यसलाई मानेर अगाडि बढ्नुपर्छ।
नेता माधवकुमार नेपालले फरक मत राखेर ‘एक व्यक्ति एक पद’ को माग गर्नु भएको छ। प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी र केपी ओलीलाई सरकार सञ्चालनको जिम्मेवारी दिनुपर्ने उहाँको माग छ। यसमा तपाईंको धारणा के छ?
उहाँ (माधवकुमार नेपाल) ले आफ्नो मत अगाडि सार्नु भएको छ। त्योभन्दा अगाडि वामदेव गौतमले लामो दस्तावेज नै प्रस्तुत गर्नु भएको छ। उहाँले पनि यी कुरा राख्नु भएको छ। हामीले पनि छलफल गर्दै आएका हौं। पूर्व एमालेमा पनि हामीले एक पद एक व्यक्ति भन्दै आएका हौं। तर, त्यो अहिले सम्भव भएन। दुई वटा पार्टी एक हुँदा न एमालेको मापदण्ड अघि सारेर हुन्छ, न माओवादीको। साझा मापदण्ड बनाएर अघि बढ्नुको विकल्प छैन। कुनै पनि पार्टीमा दुई वटा अध्यक्ष हुँदैन। तर, साझा मापदण्डअनुसारै दुई जना अध्यक्ष बनायौं। त्यसैअनुसार चलेको हुँदा अहिले दुई वटा अध्यक्षमध्ये एउटा हटाइदिउँ भनेर हुँदैन। जबसम्म महाधिवेशन हुँदैन, त्यति बेलासम्म हट्दैन। महाधिवेशनपछि फेरि एक अध्यक्षको प्रणालीमा जान्छौं। अहिले चाहिँ समझदारीकै आधारमा जानुपर्छ। बैठकमा आएका विषयलाई कमिटीले आवश्यक ठान्यो भनेर बहसमा ल्याउछ। छलफल हुन्छ। बैठकबाट विश्लेषण हुन्छ, संश्लेषण हुन्छ, त्यसरी अघि बढिन्छ।

अहिले नै नेता माधवकुमार नेपालको प्रस्ताव कार्यान्वयन गर्दा पार्टीकै हित हुन्थ्यो कि, नवीनतम प्रयोग हुन्थ्यो कि ? उहाँले पनि केही सोचेर नै प्रस्ताव गर्नु भएको होला नि ?
निश्चय पनि यो एकीकरण एउटा नयाँ कुरा नै हो। यद्यपि, यो पहिलो होइन। हामीले एकताको प्रक्रियालाई २०३२ सालबाटै सुरु गर्रुयौं। त्यतिबेला कोअर्डिनेसन केन्द्र निर्माण गरेका थियौं। केन्द्रको उद्देश्य कम्युनिस्टलाई एकताबद्ध गर्ने नै थियो। एकपछि अर्को गर्दै तीन दर्जनभन्दा बढी कम्युनिष्ट समूहलाई एकताबद्ध गर्रुयौं। एकताबद्ध गर्दै जाने पछिल्लो कडीको रुपमा पूर्व एमाले र पूर्व माओवादीको एकीकरण भएको हो। अब पनि कतिपय समूह बाँकी छन्। ती पनि एकताबद्ध हुन्छन्। कुनै बिन्दूमा गएर तिनलाई पनि एकता प्रक्रियामा ल्याउन सकिन्छ। तर, अहिले नेकपाको एकता नयाँ मूल्य, मान्यताहरु, दृष्टिकोण र उपलब्धिका साथ भएको छ। ती कुरालाई संरक्षण गर्दै अघि बढ्नुपर्छ। त्यसमा सबैका विचारमाथि बहस, छलफल गर्न सकिन्छ। पार्टी एकताले अझै पूर्णता पाएको छैन। नेकपाको एकतामा कुन–कुन विषय मुख्य चुनौतीका रुपमा छन्? त्यसको

निराकरणको बाटो कस्तो हुन सक्छ ?
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी तीन दशकदेखि अलग–अलग हिँडेर आएका पार्टी हुन्। अरु केही पार्टी अलग भएर एकताबद्ध भए। तर, यी दुई वटा पार्टीको विकास ३० को दशकमा भयो। ४०, ५० र ६० को दशकभरि एकआपसमा प्रतिस्पर्धा गर्ने काम भए। झण्डै चार दशक प्रतिस्पर्धामा बित्यो। त्यसपछि हामी एकताबद्ध भएका हौं। यति लामो पृष्ठभूमिमा अलग कार्यशैली, अलग दृष्टिकोणका साथ काम गरेका थियौं।त्यसैले यी दुई पार्टी एकीकरण गर्ने्बित्तिकै सबै कुरा मिलिहाल्दैन। जस्तै एकातिरबाट कालीगण्डकी बगेर आउँछ, अर्को्तिरबाट सेतीगण्डकी बगेर आउँछ, जब दुई नदी मिल्छन्, एक किनाराबाट सेती बगिरहेको हुन्छ, अर्को किनाराबाट काली। अलि तल गएपछि न काली देखिन्छ, न सेती। त्यस्तै अहिले दुई वटा पार्टीको एकीकरण भएको छ। अझै केही कुरामा एकीकरण गर्न बाँकी छ। यस्तो बेलामा एकातिर एमाले हिँडेजस्तो र अर्को्तिर माओवादी हिँडेजस्तो आभास हुनु स्वाभाविक छ। तर अलिकति अगाडि बढेपछि त्यस्तो देखिँदैन। एकताको प्रक्रिया पूर्ण भएपछि राष्ट्रव्यापी रुपमा वैचारिक रुपान्तरण अभियान थाल्छौं। यसबाट पार्टीलाई शक्तिशाली बनाउँछौं। सम्पूर्ण कमिटी, पार्टी सदस्य, समर्थक, शुभेच्छुकलाई गतिशील बनाउने काममा हामी लाग्छौं। यो महाअभियानले पार्टीलाई बेग्लै गति प्रदान गर्छ।

एकताको १५ महिनासम्म नेकपा सुस्तायो नि। बरु तपाईंहरूले प्रतिक्रियावादी भन्नेहरू चाहिँ बढी सक्रिय देखिए, जनतामा निराशा छ, त्यसकारण तपाईले भन्नुभएको महाअभियान तत्काल सुरु गर्नुपर्ने होइन र ?
पार्टीलाई माथिल्लो तहमा एकता गर्न एक वर्ष लाग्यो। एकताको घोषणापछि पार्टी कमिटी विघटनले आठ लाख सदस्य निष्कृय भए। सारा कमिटी निष्कृय भए। स्थानीय निकायमा ६० प्रतिशत जितेका छौं। ६ वटा प्रदेशमा सरकार निर्माण गरेका छौं। संघीय संसदमा पनि झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेका छौं। तर, हाम्रो पार्टी निष्कृय भएको हुनाले ती निकायलाई मागदर्शन गर्न सकेनौं। भिजन दिन सकेनौं। उनीहरूलाई नीति दिन सकेनौं। पार्टीको पकडमा राखेर काम लगाउन सकेनौं। अन्यौल भयो। युवामा विचलन आयो। त्यस्तै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर अरु कतिपय प्रतिगामी तत्व पनि सिङ पुच्छर निकालेर हिँड्न खोजेका छन्। एकता प्रक्रियाले पूर्णता पाएपछि यी विचार सामसुम भएर जान्छन्। त्यसै हामी अहिले पार्टी एकता चाँडै सम्पन्न गर्ने र राष्ट्रव्यापी रुपमा वैचारिक, राजनीतिक अभियान सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं।
पछिल्लो समय अलि निष्कृय रहनु भयो। अब तपाईंको मागअनुसार तेस्रो वरियता तोकियो। अब चाहिँ पार्टीमा सक्रियता बढाउनु हुन्छ?
म पार्टीमा सधैँ सक्रिय छु। तर, १५ महिना अगाडि ममाथि अन्याय भयो। अन्याय भए पनि विद्रोह गरिनँ। पार्टीमा जथाभावी बोलेर हिँडिनँ। आफ्नो कुरा राखेँ। सचिवालयमा असहमति राखेँ। पटक–पटक कुरा उठाएँ। मलाई अन्याय भएको छ, यसलाई पुनर्विचार गरियोस् भनेँ। तर, त्यसको सुनुवाइ भएको थिएन। तर, १५ महिनापछि सबै कामरेडले त्यो कुरा महसुस गर्नु भयो। पार्टी अध्यक्षद्वय, माधव कामरेड र अरु कामरेडले पनि रियलाइज गर्नुभयो। त्यतिबेला कमजोरी भएकै हो भनेर सर्वसम्मतिका साथ सच्याउनु भयो। राम्रो भयो। यसले के उदाहरण दियो भने संसारमा धेरै पार्टी छन्, हाम्रो देशमा पनि धेरै छन्, हर पार्टीले गल्ती गर्छ। कम्युनिस्ट पार्टीले पनि गल्ती गर्छ। तर, कम्युनिष्ट पार्टी फरक हुन्छ, आफ्ना कमजोरी देखेपछि सच्याउँछ। यसको उदाहरण फेरि एक पटक नेकपाले प्रस्तुत गरेको छ। पार्टीले न्याय दिन्छ भन्ने स्थापित भएको छ। मदन भण्डारी रहनु भएको बेलामा पनि मलाई अन्याय भएको थियो। तर, त्यति बेला पनि विद्रोह गरिनँ। पार्टीले जे जिम्मेवारी दियो, लिएँ। तर, मेरो विरोध पार्टी्भित्र दर्ज गर्दै हिँडे। त्यही क्रममा पहिले पनि सँच्चियो, अहिले पनि सँच्चियो। तर शालिनतापूर्वक, विधि र नीतिपूर्वक, अन्तरपार्टी जनवाद र संघर्ष नियमपूर्वक अघि बढ्नुपर्छ। हामी न्याय स्थापित गर्न सक्छौं। कम्युनिस्ट पार्टी नै न्याय स्थापित गर्ने अग्रदूत पार्टी हो। नेकपाभित्र सामूहिकतामा चल्नै सकेन।

किन यतिविघ्न गुटगत प्रवृत्ति हावी भयो ?
निसन्देह नै। यो बहुत महत्वपूर्ण प्रश्न हो। कम्युनिस्ट पार्टी एकताबद्ध हुनुपर्छ। एउटा कार्य्दिशा, नीति र सिद्धान्त हुनुपर्छ। लक्ष्य पनि एउटै बोकेको हुन्छ कम्युनिस्ट पार्टीले। एउटै पार्टीमा अनेकन प्रकारका गुट–उपगुट निर्माण गर्ने काम कहिल्यै गर्नु हुँदैन। पार्टी्भित्र गुट–उपगुट बनाउनु अपराधपूर्ण काम हो। त्यसलाई म अपराध ठान्छु। कामरेड पुष्पलाल, जसले यो पार्टीको स्थापना गर्नुभयो, उहाँले पार्टी्भित्र गुटबन्दी भनेको महारोग हो भन्नुभएको छ। गुटले पार्टी्भित्र रोगको काम गर्छ, दृष्टिकोण बिगारिदिने काम गर्छ। त्यसैले कहिल्यै पनि गुटबन्दी गर्नुहुँदैन। मैले कहिल्यै पनि गुटबन्दी गरिनँ। अहिले पनि मेरो गुट छैन। मेरो गुट नै नेकपा हो। नेकपाका सबै नेता र कार्यकर्ताप्रति मेरो माया छ, सम्मान छ। उहाँहरूको योग्यता, क्षमता आदिलाई सम्मान गर्छु, कसैलाई काखापाखा देख्दिनँ। तर, कतियत साथीको आफ्ना मान्छे नियुक्ति गर्ने, आफ्ना मान्छेलाई मात्रै अघि बढाउने प्रवृत्ति छ। त्यसलाई समाप्त गर्नैपर्छ। गुटबन्दी भएको पार्टीले देशलाई अघि बढाउन सक्दैन। जनताको पक्षका काम गर्न सक्दैन। त्यसैले एउटै नीति र विधिका आधारमा पार्टीलाई स्थापित गर्नुपर्छ। नेपालका नेता चाहिँ मुलुकका समस्यामा भन्दा पनि अदृश्य विदेशी शक्तिप्रति बढी बफादार छन् भन्ने आरोप लाग्ने गरेको छ। यो विषयमा तपाईं र तपाईको पार्टी नेकपा कत्तिको सचेत छ ?
नेकपा राष्ट्रियता र लोकतन्त्रको पहरेदार पार्टी हो। जनजीविकाका सवालमा निरन्तर लड्ने लडाकू पार्टी हो। शान्ति स्थापना गर्न अग्रदूतको भूमिकामा रहेको पार्टी हो। नेकपाले सधैँभरि देशभक्तिका पक्षमा अडान लिन्छ। नेकपाको स्थापनादेखि नै राष्ट्रियताको पक्षका आवाज उठाउँदै आएको छ। विदेशी हस्तक्षेपका विषयमा आवाज उठाएर आयो। कालापानी र सुस्ता मिचिँदा आवाज उठाउँदै, संघर्ष गर्दै आएको पार्टी हो नेकपा। नेपालमा राखिएका विदेशी चेकपोस्ट हटाउने सवालमा पनि हामीले नै अगुवाइ गरेका हौं। नेकपाका धारा–उपधाराले आवाज उठाउँदै आए। तिनै धारा र उपधाराको विकसित रुप हो नेकपा।त्यसैले नेकपाका सबै नेता–कार्यकर्ताले देशभक्ति र लोकतन्त्रको झण्डालाई उठाउनुपर्छ। शान्ति र समाजवादको झण्डालाई उठाउनुपर्छ। जनजीविका, विकास र निर्माणको अगुवाइ गर्नुपर्छ। अब हामी नयाँ रुपान्तरणको युगमा आयौं। अब हामीले ६ वटा काम गर्नुपर्छ। पहिलो, राष्ट्रियतालाई सुदृढ गर्नुपर्छ। दोस्रो, लोकतन्त्रलाई समुन्नत र सुदृढ पार्नुपर्छ। तेस्रो, सामाजिक र आर्थिक रुपान्तरणलाई दृढता र तीव्रताका साथ अघि बढाउनुपर्छ। चौथो, मुलुकमा अनुशासन स्थापना गर्नुपर्छ, सुशासन स्थापना गर्नुपर्छ। पाँचौं, हाम्रो देशको संस्कृतिलाई विकास गर्नुपर्छ, किनभने अत्यन्तै समृद्ध संस्कृति छ हाम्रो देशमा। छैटौँ चाहिँ नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालको हितलाई हेरेर अगाडि बढाउनुपर्छ। त्यो सम्बन्धले हाम्रो देशको विकासलाई तीब्रता प्रदान गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७