चिसोकै कारण दुई बालकको मृत्यु

सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँसे लेकमा हिउँ परेपछि राउटे समुदायको विचल्ली

राउटे समुदायहरु एक हप्तादेखि गुराँसे र रातानाङ्लामा रहेका पसल तथा घरको बाहिर ओत लाग्ने गरेका छन्
सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँसे लेकमा हिउँ परेपछि राउटे समुदायको विचल्ली

सुर्खेत र दैलेखको सिमानामा पर्ने गुराँसे लेकमा हिउँ परेपछि राउटे समुदायको विचल्ली भएको छ। उनीहरु बसेको पातीकाल्न लेकमा हिउँ परेपछि राउटे समुदायहरु एक हप्तादेखि गुराँसे र रातानाङ्लामा रहेका पसल तथा घरको बाहिर ओत लाग्ने गरेका छन्। गत शुक्रबार गुराँसेमा वर्षासँगै हिउँ परेको थियो। यो साताको बिहीबार पनि गुराँसेमा हिउँ परेको छ। वस्तीमा हिउँ परेर झुप्रोहरु चुहिन थालेपछि उनीहरु विचल्लीमा परेका हुन्। आफू बसेको बस्तीमा हिउँसँगै चिसो बढेपछि आफूहरु वीरेन्द्रनगरस्थित झुप्रा खोलाको किनारमा बसाइँ सर्न लागेको राउटे समुदायका मनवीर शाहीले बताए। ‘हामी बसेको ठाउँमा हिउँ पर्यो, पाल पनि चुहिन थाले,’ उनले भने, ‘धेरै चिसो भएपछि हामी अब झुप्रोमा बसाइँ सर्ने हो।’ एक हप्तादेखि आफूहरुलाई खाना र बस्न समस्या भएको उनले बताए। ‘धेरै दिन भयो हामीहरुले खान र बस्न पाएको छैन, कहिले कहिले साउजीहरुले सेल रोटी दिन्छ, त्यही खान्छौँ’ उनले भने।

चिसोकै कारण दुई बालकको मृत्यु
चिसोकै कारण यही पुसभित्र राउटे समुदायका दुईजना बालकको मृत्यु भएको छ। पुस ९ गते चिसोका कारण हर्क बहादुर शाहीको चार महिने छोरा जंगबहादुर शाहीको मृत्यु भयो भने गत साता मात्र १४ वर्षीय पीपल शाहीकोे मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा परेको छ। चिसोकै कारण राउटे समुदायका धेरैजसो सदस्य बिरामी समेत पर्न थालेका छन्। चिसोमा न्यानो कपडा र पोसिलो खाने कुरा नहुँदा उनीहरु चिसोबाट ज्यान गुमाउन बाध्य भएका हुन्। राउटे समुदायभित्र पोसिलो खानेकुरा र न्यानो लुगा उपलब्ध नहुँदा उनीहरुलाई समस्या हुने गरेको राउटे समुदायका लागि काम गरिरहेको सामाजिक सेवा केन्द्रका संस्थापक हिरासिंह थापाले बताए। राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का राउटेहरुका लागि सुरक्षित बासको व्यवस्था सरकारले गरिदिनुपर्ने बताउँछिन्। फिरन्ते जीवन विताउँदै आएका लोपोन्मुख राउटेहरु अस्थायी टहरा बनाएर जंगलमा नै बस्ने गर्छन् । राउटे समुदायमा अहिले ४६ परिवार छन्। साभार सेतोपाटी

प्रतिक्रिया दिनुहोस

सुचना तथा प्रशारण दर्ता विभाग दर्ता प्रमाणपत्र नं १२४३/०७५-०७, प्रेस काउन्सिल दर्ता सुचिकरण मिति २०७५/०६/०७