३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ

कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ : अध्यक्ष प्रचण्ड

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई भिडियो कन्फ्रेसमा सम्बोधन गर्दै प्रचण्डले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताए
कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ : अध्यक्ष प्रचण्ड

असार ५ गते २०७७

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त कार्यशालामा प्रचण्डले भने– सैन्य गठबन्धनमा जोडिने विदेशी सहयोग अस्वीकार्य
नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सम्झौता स्वीकार गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त ध्रुवीकृत भएका वेला प्रचण्डले यस्तो संकेत दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएको संयुक्त कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो सहयोग स्वीकार्य नहुने बताए पनि अमेरिकाको नाम भने लिएनन् । ‘संविधानसँग बाझिने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौँ ।’

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई भिडियो कन्फ्रेसमा सम्बोधन गर्दै प्रचण्डले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताए । प्रचण्डले भारतसँगको सीमा विवादबारे संकेत गर्दै द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपालले चाहेको स्पष्ट पारेका छन् । प्रचण्डको भनाइ छ, ‘हामी कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ । तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुन्छ ।’

अध्यक्ष प्रचण्डले भौगोलिक आकार, जनसंख्या र विकासको चरणका सन्दर्भमा एकरूपता नभए पनि नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको चर्चा गरेका छन् । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा चीनसित ताइवानको शान्तिपूर्ण एकीकरणमा नेपालको समर्थन रहेको पनि बताए । प्रचण्डले भने, ‘हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपाल चीनलाई समर्थन गर्दछ ।’

नेपाल कम्युनिस्ट पार्टीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग साझा विकास तथा समृद्धि एवं शान्ति र हार्दिकताका सन्दर्भमा सहकार्य गर्न चाहेको पनि प्रचण्डले बताए । उनले बिआरआई नेपालजस्ता विकासशील मुलुकहरूको विकासका लागि अवसर भएको पनि उल्लेख गरे ।

भूकम्प तथा कोभिड– १९ को महामारीमा चीनले नेपाललाई निरन्तर सहयोग गरिरहेको भन्दै प्रशंसा गरे । उनले भने, ‘सामान्य वा असामान्य अवस्थामा चीनको सहयोग नेपालका लागि अमूल्य छ । नेपाल र चीन सुख र दुःखका मित्र हुन् ।’

कोरोना भाइरसबारे अमेरिकासहित पश्चिमा जगतले चीनको आलोचना गरिरहेका वेला प्रचण्डले यसलाई राजनीतीकरण गर्न नहुने बताए । भाइरसको राजनीतीकरणका पक्षमा नेपाल नरहेको स्पष्ट पारेका छन् । प्रचण्डले भने, ‘भाइरसको राष्ट्रियता, जात, सीमा, राजनीतिक प्रणाली केही हुँदैन । केही देश र मिडियाले भाइरसको राजनीतीकरण गरिरहेका छन् । तर, विश्वले एकीकृत आवाज र पहलकदमी चाहेको छ ।’

अर्को प्रसंगमा प्रचण्डले कोभिड– १९ को महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि बताए । उनले गत डिसेम्बरमा तय भएको आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रेका कारण सम्भव नभएको, तर अब हुने पनि उल्लेख गरे ।

कार्यक्रममा नेकपा स्कुल विभाग प्रमुख एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड– १९ अघि र पछि नेपाललाई चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले दुई पार्टीबीच सम्बन्ध थप सुदृढ हुने र कोभिड– १९ सकिएलगत्तै पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताए । पोखरेलले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिनेसमेत वचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस