१० आश्विन २०७७, शनिबार || 26 Sep 2020, Saturday

९ असार , 2077

चिकित्सकको अनुभव : सामाजिक दुरी र डर घट्यो , संक्रमणको जोखिम बढ्यो

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै अस्पतालमा आएका शंकास्पद मात्रै होइन, छिमेकी जिल्लाको शंकास्पद व्यक्तिको स्वाब संकलनमा हाम्रो टिमलाई सफलता मिल्यो
चिकित्सकको अनुभव : सामाजिक दुरी र डर घट्यो , संक्रमणको जोखिम बढ्यो

पछिला दिनहरूमा किस्ताकिस्तामा लकडाउन खुकुलो बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानमा नेपाली दिदीबहिनी दाजुभाइहरू रोजगारीका लागि गएका छन् । उनीहरूमध्ये केही स्वदेश फिर्ता आएसँगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । क्वारेन्टिन अव्यवस्थित छ।

पीसीआर परीक्षणमा चाप अत्यधिक छ। पछिल्ला दिनमा दुवैतिरका सुरक्षा निकायको आँखा छलेर नेपाली र भारतीय नागरिक छिर्न सुरु गरेको सुनेको छु । जनमानसमा त्रास घट्दै गएको छ । लापरवाही बढ्दै गएको छ । यसले कोरोना संक्रमणको जोखिम बढेको छ ।

चैतमा कोरोना भाइरसको त्रास बढी थियो । पहिलोपटक पर्सामा स्वाब संकलन गर्न जाने जिम्मेवारी मेरो काँधमा आयो । टेकुमा लिएको तालिममा काहीँकतै भुलचुक हुन्छ कि भन्ने डरले मलाई सताएको थियो । स्वाब संकलन तथा त्यसको व्यवस्थापनका लागि टेकु अस्पताल काठमाडौंमा वीरगञ्जस्थित नारायणी अस्पतालबाट मैले तालिम लिएको थिएँ । एक्लैले २ सयको हाराहारीमा स्वाब संकलन गरेपछि बल्ल साथीहरू सघाउन तयार भए । यसले त्यसबखत स्वास्थ्यकर्मीमा समेत डर रहेको प्रष्ट पार्छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै अस्पतालमा आएका शंकास्पद मात्रै होइन, छिमेकी जिल्लाको शंकास्पद व्यक्तिको स्वाब संकलनमा हाम्रो टिमलाई सफलता मिल्यो । कन्ट्याक्ट ट्रेसिङमा आएका सबैको स्वाब हामी जोखिम मोलेरै संकलन गरेर ल्याउँथ्यौं । अहिले पर्सामा स्वाब संकलनका लागि नारायणी अस्पतालमा मात्र ६ वटा टोली तयार पार्न सफल भएका छौं ।

हरेक टोलीमा जनस्वास्थ्यले पठाएका ३ जना र महानगरपालिकाबाट एक जना स्वास्थ्यकर्मी खटिन्छन् । अर्कोतिर, जिल्ला जनस्वास्थ्य र महानगरपालिकाको सहयोगमा दुई पटक एक दिने अभिमुखीकरण तालिम दिएका छौं । जसबाट स्वस्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रयोग कसरी गर्ने ? स्वाब संकलन, भण्डारण अनि स्थानान्तरणबारे जानेका छन् । तालिममा सहभागी स्वास्थ्यकर्मी गाउँपालिकादेखि स्वाबको नमुना संकलन गरेर नारायणीको पीसीआर प्रयोगशालामा पठाउँछन् । छोटो समयमा आफ्नै सक्रियता र सहभागितामा दक्ष जनशक्ति उत्पादन हुँदै गएको देख्दा गर्व लाग्छ ।

चैतको अन्तिम साता तीनजना भारतीय जमातीमा कोरोना संक्रमण देखिएपछि पर्सामा लगातार संक्रमण देखिन सुरु भयो । वीरगञ्ज कोरोनाको ‘हट स्पट’ कै रुपमा परिचित भयो । तर हामी कत्ति पनि विचलित भएनौं । आफ्नो जिम्मेवारीबाट पछाडि हटेनौं ।

सरकारले ०७६ चैत ३० गते नारायणी अस्पताललाई कोरोना लेभल २ अस्पतालको रुपमा घोषणा गरेको थियो । भर्ना भएका सबै संक्रमितलाई उपचारपछि डिस्चार्ज गरेर नारायणी जनरलमा गइसकेको छ । अहिले नारायणी अस्पतालअन्तर्गत अस्थायी गण्डक कोभिड अस्पताल सञ्चालनमा छ । सुरुका दिनमा नारायणीको मात्रै भर थियो । त्यतिबेला त्यो किसिमको डर पनि थियो । अब हरेक निजी तथा सरकारी अस्पतालले केही प्रतिशत आइसोलेसन वार्ड बनाउनुको विकल्प छैन । महामारीका लागि चरणबद्ध तयारीमा जाँदै सबै मिलेर प्रतिकार गर्ने हो ।

चैतमा सरकारले नारायणीमै पीसीआर मेसिन पठाउने र कोरोनाको परीक्षण गर्नु भनेर निर्देशन आयो । मेसिन त आइपुग्यो, तर अस्पतालमा मलेकुलर ल्याब थिएन । मेसिन सञ्चालनका लागि आवश्यक पर्ने सहयोगी सामग्री थिएनन् ।

वैशाख २० गतेसम्म परीक्षण सुरु हुन सकेन । आवश्यक सामाग्रीको व्यवस्थापन छिटो गर्नुपर्छ भन्ने विचारमा अस्पतालका मेसु डा.मदन उपाध्याय पनि सहमत हुनुहुन्थ्यो । सोहीअनुसारको प्रयास भयो । मलेकुलर ल्याब बनाउनुको साथै आवश्यक सबैखाले सहयोगी सामग्री आयो । म प्याथोलोजिस्ट डाक्टर । ती सबै कामको नेतृत्व मैले गर्नुपर्ने हुन्थ्यो । मेसु सरले राय माग्दा ‘हुन्छ सर गर्न सकिन्छ’ भन्दै प्रतिवद्धता जनाउँदै गएँ ।

सुरुका दिनमा हामीले परीक्षण गरे पनि नतिजाको भेरिफिकेसन गर्न टेकु अस्पताल पठाउनुपथ्र्यो । वैशाख २४ गतेदेखि टेकु प्रयोगशालाको भ्यालिडेसन पत्र प्राप्त भयो । त्यसपछि पीसीआर रिपोर्टको नतिजा दिन नारायणी पीसीआर ल्याब सक्षम बनेको हो । हामीले ८ हजारभन्दा बढी स्वाब संकलन गरिसकेको छ भने ४ हजार भन्दा बढी पीसीआर परीक्षण गरी नजिता दिएका छौं ।

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा एकदमै महत्वपूर्ण छ । घर परिवार नभनी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी खटिएका छन् । पर्सामा मात्रै ९ जना स्वास्थ्यकर्मी, २ जना पत्रकार संक्रमित भए ।

म आफैँ रातिको १२ बजे पनि स्वाब संकलनका लागि निस्किएको छु । महामारीेविरुद्धको लडाइँमा व्यक्तिगत स्वार्थभन्दामाथि रहनुपर्छ । समुदायका सेवामा खटिएका युद्ध मोर्चाका अग्रपङ्क्तिका यी सिपाही संक्रमित हुनु पक्कै राम्रो संकेत होइन। त्यसैले हामी ‘फ्रन्टलाइनर’ अझै सतर्क र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरू प्रयोगमा गम्भीर हुनैपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीबाट संक्रमण फैलियो भने झनै विकराल स्थिति आउन सक्छ । त्यसो नहोस् भन्नका लागि सक्दो प्रयास गर्नुपर्छ।

आइसोलेसनमा बस्नेहरूलाई कोरोना भाइरस, कोभिड–१९ रोग र संक्रमितले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउनुपर्छ । अर्कोतर्फ, उनीहरूमा मानसिक तनाव हुन्छ । मनोचिकित्सकबाट निरन्तर परामर्श दिनुपर्छ । मानसिक तनावबाट मुक्ति दिन योग, ध्यानहरू, शारीरिक व्यायामहरू सिकाउनुपर्छ । आइसोलेसन भएर बस्नु भनेको आफ्ना परिवारजन र समाजबाट टाढा रहनु मात्र होइन, उनीहरूलाई संक्रमण हुनबाट जोगाउनु पनि हो भनेर बुझाउनुपर्छ।

कोभिडबाहेक अन्य रोगका बिरामीका संख्या पनि दिनहुँ बढिरहेको छ। कोभिडकै त्रासका बीच त्यस्ता बिरामीहरूको रोगको निदान एवं उपचार चुनौतीपूर्ण पक्कै छ । तर गर्न नसक्ने भन्ने होइन । अब सम्बन्धित समस्याका जानकार चिकित्सकले नै उनीहरूको स्वास्थ्य समस्या समाधानमा अग्रसर हुनुपर्छ । शंकास्पद लागे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउने, रिपोर्ट नआउँदासम्म बिरामीलाई आइसोलेटेड गर्ने, आफू पनि अरूको सम्पर्कमा नआउनेगरी बस्ने । हेड इन्जुरी, ट्रमाको सिरियस बिरामीलाई कोभिड अस्पतालमा हैन, जहाँ उनीहरूको उपचार हुन्छ त्यहि आवश्यक व्यवस्थापन गर्नुपर्छ ।

बाटो बाटोमा सुत्केरी मरिरहेका छन्, टोल टोलमा आत्महत्याका घटना भइरहेका छन् । कोभिडले भन्दा अरू कुराले मानिस बढी मरिरहेका छन् । यो त सरोकारवाला निकायको लापरवाही हो । यसमा कसले ध्यान दिने ? उनीहरू जिम्मेवार हुनुपर्दैन र ?

अस्पतालको स्तरमा वृद्धि हुँदा प्रयोगशालाको स्तरोन्नति हुनु अपरिहार्य हुन्छ । सीमित मात्रामा भएका भीटीएम, रिएजेन्ट र जनशक्तिसँग धेरै अपेक्षा राखेर के गर्ने ? अझ उनीहरूलाई व्यक्तिगत आग्रह, दबाबमा नपारी सरकारको निर्देशिका अनुरुप काम गर्न दिनु आजको आवश्यकता हो ।

अन्त्यमा, चैत्रमा जोखिम कम थियो, कोरोनाको डर बढी थियो । अहिले त्यो डर कम छ तर जोखिम बढी देखिएको छ । अहिलेसम्म स्थिति नियन्त्रणमै भएको देखिन्छ ।

काबुभन्दा बाहिर गए महाविपद् नआउला भन्न सकिन्न । यसतर्फ आम नागरिक, उद्योगी व्यापारी, पत्रकार, नागरिक समाज, सरकारी तथा गैर सरकारी निकाय, सुरक्षा निकायलगायत सबै सचेत हुनु जरुरी छ ।

कोरोना भाइरसको औषधि वा खोप उपलब्ध छैन । अझै लामो समयसम्म यो महामारी रहिरहन पनि सक्छ । अब सुरक्षाका उपाय अपनाएर कोरोना भाइरससँगै जिउन सिक्नुपर्छ । आ–आफ्नो स्तरबाट महामारीविरुद्ध एकजुट हुनुपर्छ ।

सकारात्मक सोच विचार र सकेको सहयोग गर्न चुक्नुहुदैन । सरोकारवाला पक्षबीच निरन्तर समन्वय हुन सकेमात्र हामीले सफलता पाउने हो । तिनै तहका सरकारले जनस्वास्थ्य विज्ञसँगको परामर्शमा योजना बनाउने र त्यसको कार्यान्वयन गर्नुपर्छ । त्यसले मात्रै कोरोना भाइरसविरुद्धको लडाइँमा सफलताको बाटो बनाउँछ ।

(कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. पाठक नारायणी अस्पतालमा प्याथोलोजी प्रमुख हुन् )                         

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस