३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

सन्दर्भ ६९ औं मदन जयन्ती

नेपालले बदलेको तस्वीर : कम्युनिष्टको लोकतान्त्रिकरण

एमाले र एमाओवादीका नेता र कार्यकर्ताको अगामी यात्राको बुझाई फरक छैन, विगतको मुल्यांकनमात्र फरक हो,त्यसका लागि घुमाएर होइन, सिधै जवज मान्दा हुन्छ
- गोपाल खनाल

नेपालले बदलेको तस्वीर : कम्युनिष्टको लोकतान्त्रिकरण

असार १३ गते २०७७

राजनीति सत्ताका लागि नै हुन्छ ताकि देशको सेवा गर्न सकियोस् । सत्ताप्राप्तीका दुई बाटा छन् । एउटा वन्दुक, हिंसाद्धारा सत्ताकब्जा । चिनियाँ कम्युनिष्ट पार्टीका नेता अध्यक्ष माओत्सेतुङले ‘राज्यसत्ता वन्दुकको नालबाट जन्मन्छ’ भन्नुभएकै छ । सन् १९२७ देखि १९६४ सम्म चीनमा यही युद्ध नीति प्रयोग भयो । अर्को, शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा । यद्धपी कसका बिरुद्ध कस्तो आन्दोलन भन्नेले अर्थ राख्छ । शत्रु किटानीले आन्दोलनको स्वरुप निर्धारण गर्छ । २० औं शताब्दीपछिका आन्दोलनमा वन्दुक पृष्ठभूमीमा देखिन्छ, सामुन्नेमा छैन ।

निरकुंश तानाशाही बिरुद्ध बलको प्रयोग कुनैबेला अनिवार्य हुनसक्थ्यो, अव नहुन सक्छ । अर्थात पुरानो दमनकारी सत्तालाई शसस्त्र बिद्रोह मार्फत् प्रतिस्थापन गर्नुपर्ने हुन्थ्यो, अव त्यो मोडल उपयुक्त नहुनसक्छ । पेरु कम्युनिज्म (साइनिङ पाथ, १९८०), लेनिनको जारबिरोधी क्रान्ति (अक्टोवर रिभोलुसन, १९१७) र फिडेल क्यास्ट्रोको क्युवाली क्रान्ति (१९५३), पहिलाका उदारण हुन ।

अर्को, बिस्तारवाद, साम्राज्यवाद र औपनिवेशिक शासनव्यवस्था विरुद्ध पनि बल र हिंसाको प्रयोग हुनसक्छ । होची मिन्ह नेतृत्वको भियतनामी क्रान्ति(१९४१), किम इल सुङ नेतृत्वको उत्तर कोरियाली क्रान्ति (१९५०) र माओ नेतृत्वको चिनियाँ जनवादी क्रान्ति त्यसका उदारण हुन । यी तीन खाले शासन व्यवस्थाविरुद्ध लड्दा शान्तिपूर्ण प्रदर्शन काम नलाग्न सक्छ किनकी यी मूलत् वाह्य हस्तक्षेपसँग सम्वन्धित छन् । अहिले मूलभूतरुपमा विस्तारवाद छैन, नभएपछि त्यसबिरुद्ध हिंसात्मक क्रान्ति गर्नै परेन ।

आन्दोलनको स्वरुपलाई समयले पनि निर्देशित गर्छ । समयले सिद्धान्त र नीति तय गर्छ । राजनीतिक वाद निरपेक्ष सही वा गलत हुँदैनन्, ती सापेक्षित हुन्छन् । हो, समयको सन्देश बुझ्न नसक्दा आन्दोलन अवसानमा टुगिन्छन् । त्यसका लागि जति सिद्धान्तको आवश्यकता पर्छ, त्यति नै आवश्यकता नेतृत्वको पर्छ । सिद्धान्त गलत, नेतृत्व सही वा सिद्धान्त सही, नेतृत्व गलत, दुवै अवस्थाबाट कम्युनिष्ट यात्रा बिश्रामउन्मुख हुन्छन् । सही सिद्धान्त, सही नेतृत्व, सही नीति र सही नेतृत्व, बाटो यहीमात्र हो, एकमात्र विकल्प यही हो ।

सन्दर्भ ६९ औं मदन जयन्तीको हो । युग पुरुषको जन्मदिनलाई सम्झदामात्र पनि गर्वले छाती चौंडा हुन्छ । मदन माले र एमालेको नेतामात्र होइन, कम्युनिष्ट सिद्धान्तकार हो । नेता बन्न तुलनात्मक सजिलो छ, सिद्धान्तकार बन्न अतिरिक्ति क्षमता चाहिन्छ । फेरी नेता बन्नु र नेतृत्व गर्नु पनि फरक हो । सबै नेताले नेतृत्व गर्न सक्दैनन् । यी सबैको योगफल मदन हुनुहुन्थ्यो ।

कम्युनिष्टको लोकतान्त्रिकरण, कम्युनिष्ट पार्टीको प्रजातान्त्रिकरण उहाँको नवीनतम सृजना हो । उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जवज) ले कम्युनिष्टप्रतिको परम्परावादी, रुढीवादी पहिचानको तस्वीर नै बदल्यो । कार्लमाक्स जीवित हुन्थे भने शायद् माक्र्सवादको यो तहको सृजनात्मक प्रयोग, यो धारको परिमार्जनबाट पुलकित हुन्थे होला किनकी परिवर्तनविना विकास सम्भव छैन । माक्र्सवादको विकास समयसापेक्ष परिवर्तनबाट मात्र सम्भव छ । मदनले नेपालमा त्यही गर्नुभयो । विश्वकै कम्युनिष्ट आन्दोलन र सिद्धान्तमा नभएको बहुदलीयताको सफल आरम्भ गर्नुभयो । र, आज त्यही जगमा नेकपा नेपालको प्रमुख राजनीतिक शक्ति भएको छ । जवजका वास्तविक प्रवक्ता केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुभएको छ ।

उता अवशान, यता आरम्भ
द्धितिय विश्वयुद्धपछि शीतयुद्ध नसकिंदासम्म अर्थात सन् १९४५ देखि १९९१ सम्म ‘आइरन कर्टे(फलामे पर्दा) विश्वचर्चामा खुव आउँथ्यो । युरोपलाई बिभाजित गर्ने यो अभौतिक सीमापछि ७ हजार किलोमिटर भौतिक सीमामा रुपान्तरण भयो । पूर्वी युरोप र पश्चिम युरोप अर्थात कम्युनिष्ट युरोप र पूँजीवादी युरोपलाई यो पहिला बिचारधाराको र पछि फलामको पर्खालले बिभक्त गर्यो ।

पूर्वी जर्मनी र पश्चिमी जर्मनीलाई बिभाजन गर्ने वर्लिनको पर्खाल यही फलामे पर्दाको एउटा अंग थियो । पर्दाको पूर्वतिर सोभियत संघको नेतृत्व थियो भने पर्दाको पश्चिमतिर अमेरिकी गठवन्धन थियो । अर्को अर्थमा भन्दा शीतयुद्ध अमेरिका भर्सेज सोभियत शब्दयुद्ध थियो । कतिपय ठाउँमा यो छद्म युद्धको रुपमा आयो । ९ नोभेम्बर १९८९ मा बर्लिनको पर्खाल ढल्यो, फलामको पर्दा गिर्यो । पूर्वी र मध्य युरोपमा कम्युनिज्म (साम्यवाद) को पतनको आरम्भ भयो । सन् १९९० मा जर्मनीको एकीकरण भयो ।

सन् १९८५ मा मिखाइल गोर्वाचोभले सोभियत रुसको नेतृत्व लिए । त्यसबेला अर्थतन्त्र चौपट थियोभने राजनीतिक संरचना पनि भत्ताभुङ । उनले सुधारको प्रयासका लागि दुई नीति लिए । पहिलो ग्लासनोस्त (राजनीतिक खुलापन) र पेरेस्त्रोइएका (आर्थिक सुधार) । राजनीतिक खुलापन स्टालिनको समयमा भएको राजनीतिक दमनको नीतिबिरुद्ध थियो, जसले सोभियत जनतामा स्वतन्त्रताको अनुभूति गरायो । दोश्रोले अर्थतन्त्रको विकासमा नीजिक्षेत्रको महत्वपूर्ण भूमिका खोज्यो । तर दुबै सफल भएन । स्वम गोर्वाचोभले भने,‘नयाँ प्रणालीले काम गर्न नथाल्दै पुरानो प्रणाली समाप्त भयो ।’ नागरिकमा निराशा छायो । सन् १९९१ मा सोभियत रुस बिघटन भयो । सोभियत रुसभित्र रहेका राज्यले स्वतन्त्रताको आन्दोलनमा सफलता पाए र एकपछि अर्को गर्दै छुटिदै गए । कम्युनिष्ट सत्ता ढल्यो ।

सत्ता ढल्नुमा माक्र्सवादमा रहेको कमजोरी जिम्मेवार थिएन, बरु कम्युनिष्टले परिवर्तनलाई आत्मासाथ गर्न नसक्दा आएको परिणाम थियो । रुसमा अव गोर्वाचोभको ठाउँमा बोरिस यलत्सिन आए । अर्थात बिश्वमा कम्युनिष्ट सत्ता असफल भयो । शीतयुद्धको अन्त्य भयो, जसलाई कम्युनिष्ट ब्लकको अन्त्यका रुपमा समेत बुझियो । अमेरिका अव एक्लो महाशक्ति बन्यो ।

युरोपमा कम्युनिष्ट ढल्यो । जसलाई अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले चर्चित पुस्तक ‘द इन्ड अफ हिस्ट्री एण्ड द लाष्ट म्यान(१९९२)’ मार्फत एउटा इतिहासको अन्त्य र अर्कोको प्रारम्भको रुपमा अथ्र्याए । यसको अर्थ थियो बिश्वबाट कम्युनिष्ट इतिहासको अन्त्य भयो र पूजीवादी विश्व आरम्भ भयो । बिचारको युगको अन्त्यका रुपमा समेत यसलाई ब्याख्या गरियो र अवको विश्व बजारले निर्धारणले गर्नेछ भन्ने घोषणासमेत भयो ।

तर नेपालमा त्यस्तो भएन, उता ढल्दैगर्दा, यता निर्माण हुँदै गयो । नेपालको छिमेकी भारतको पश्चिम बंगालमा कम्युनिष्टहरु सत्तामा (१९७७ देखि २०११) थिए, जसलाई चुनौतीको सम्भावना थिएन । यो आफैं कम्युनिष्ट उदयको प्रमाण थियो । तर एन्टी इन्कम्वेन्सी फेक्टरले पिरोल्दै भने थियो । उता, उत्तर छिमेकी चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीन विकासमा निरन्तर अघि बढिरह्यो । देङ सियाओ पिङको नेतृत्वसँगै खुला नीति ल्यायो, जसले चीनलाई विकासतर्फ डोहोर्यायो । राजनीतिक रुपमा वन्द नै थियो तर आर्थिक खुलापनले नयाँ बाटो समात्यो । उता माक्र्सवादीहरुले युरोपमा कम्युनिष्ठ ढलिरहँदा भारतमा भने सत्तारोहण गरिरहेका थिए । न चिनियाँ कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाको अभ्यास भित्र्यायो न राजनीतिक दल गठनमा स्वतन्त्रताको नीति लियो । पश्चिम बंगालमा प्रतिस्पर्धाबाटै सत्ता नेतृत्वमा पुगेपनि त्यसलाई सिद्धान्तकृत गरिसकेका थिएनन् । आखिर समय अनुसार परिवर्तन हुन नसक्दा तीन दशक बढीको कम्युनिष्ट सत्ता ढल्यो र आज जीवनरक्षाको अस्तित्वमा कम्युनिष्ट पार्टी भारतमा छन् ।

यी सबै विश्व र छिमेक घटना नेपालका लागि अज्ञात थिएनन् । ठिक यही बेला नेपालमा पंचायती तानाशाही बिरुद्ध प्रजातान्त्रिक आन्दोलनको आरम्भ भयो, कम्युनिष्ट र कांग्रेस मिलेर निर्दलीय पंचायती व्यवस्थाबिरुद्ध आन्दोलन भयो, सफल भयो ।

बैज्ञानिक साम्यवादका प्रवर्तक कार्लमाक्सले कल्पना गरेको व्यवस्था वास्तवमा साम्यवादी व्यवस्था थियो, जहाँ बर्गविहिन समाजको कल्पना गरिएको थियो । तर उनले पनि सर्वहाराबर्गको अधिनायकत्वको वकालत गरे र एउटा बर्गको निरकुशंताको नीति अख्तियार गरे । त्यसो त उनले सर्बहाराबर्गको अधिनायकत्व स्थायी नभई साम्यवाद स्थापना नहुञ्जेलसम्म रहने अस्थायी भएको बताए । जव लेनिनले माक्र्सवादी सिद्धान्तको पहिलो प्रयोग रुसमा गरे, त्यहाँ पनि पार्टी केन्द्रीकृत संचरनामा संचालन गरे, जसमा नेतृत्व निरकुंश हुनुपर्छ भन्ने अभ्यास भयो । जनवादी केन्द्रियताका नाममा नेतृत्वले लोटा सिद्धान्त अपनायो । माक्र्सवादको सृजनात्मक प्रयोग गर्न नसक्दा सोभियत ढल्यो । आज पुटीनले उठाउन खोज्दैछन् र शक्ति प्राप्त पनि गरिरहेका छन् । तर प्रजातान्त्रिक चरित्रमा उनी प्रमाणित हुन सकेका छैनन् ।

नेपालमा भने कम्युनिष्ट शक्ति उदायो । किनकी नेपालका कम्युनिष्टहरुले माक्र्सवादको घरेलु प्रयोग गरे । ठोस परिस्थितिको ठोस विश्लेषण गरे । त्यसको एकमात्र नेतृत्व मदन भण्डारीले गर्नुभयो, जो त्यसबेला मालेको महासचिव हुनुहुन्थ्यो । विश्वमा कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा रहँदा उहाँले नेपालमा नयाँ सिद्धान्त प्रतिपादन गर्नुभयो, जसलाई जनताको बहुदलीय जनवाद भनिन्छ । कम्युनिष्ट पार्टीभित्र बहु पार्टीबीचको प्रतिस्पर्धालाई सिद्धान्त बनाइयो । त्यही सिद्धान्तको प्रतिपादनपछि उहाँ जननेता मदन भण्डारी बन्नुभयो ।

अवको बाटो
एउटा सिद्धान्तको आयु तोकिएको हुँदैन, फेरी सिद्धान्त र दर्शन कहिले मर्दैन । जवजले निर्देश गर्यो, नेपालमा कम्युनिष्ट प्रतिस्पर्धाबाट सत्तामा आए । १० बर्षे जनयुद्ध आवश्यक थिएन भन्ने जवजले प्रमाणित गरेकै थियो, आखिर पछि बिचमै क्रान्ति छाडेर प्रतिस्पर्धाको बाटोमै आउनु पर्यो ।

व्यक्तित्वको टकरावलाई सिद्धान्तको लेप लगाउनु पर्दा जवजको विरोधमा योजनाबद्ध रुपमा एकपक्ष उत्रनुको अर्थ छैन । किनकी त्यसको विकल्प नै छैन । जनताको जनवाद भनेपनि त्यो मुलत जवज नै हो भन्ने स्वम प्रचण्डलाई पनि थाहा छ । पार्टीको मार्गदर्शक सिद्धान्तलाई नमानेर थालिने यात्राले पुर्याउने गन्तब्य त्रुटीपूर्ण हुन्छ । जवजले मुलुकलाई चार, चार जना प्रधानमन्त्री दियो, अव त झन वलियो पार्टी छ । प्रधानमन्त्री धेरै बन्नुहोला ।

ओली र प्रचण्डले बुझेर पार्टी एकता गर्नुभयो र यहाँसम्म आइ पुग्नुभयो । एमाले र एमाओवादीका नेता र कार्यकर्ताको अगामी यात्राको बुझाई फरक छैन, विगतको मुल्यांकनमात्र फरक हो । अव विगतमा होइन, वर्तमानलाई आधार बनाएर नेकपाको भविश्य सुनिश्चित गर्न लाग्नुपर्छ । त्यसका लागि घुमाएर होइन, सिधै जवज मान्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस