३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१६ असार , २०७७

पाठेघरको ऐंजेरु : के छ उपचार ?

के हुन्छ असर ?
पाठेघरको ऐंजेरु : के छ उपचार ?

रिमा तिम्सीना ३५ वर्षीया गृहणी हुन् । केही वर्षदेखि उनको महिनावारीमा अत्यधिक रक्तश्राव हुने गरेको समस्याले पीडित छिन् । उनको परीक्षण गर्दा पाठेघरमा फाइबराइड रहेछ । रिमाजस्तै धेरै महिलाहरूमा यस्तो समस्या हुने गरेको पाइन्छ ।

फाइबराइड भन्नेबित्तिकै डराउनु पर्दैन । यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, तर क्यान्सर होइन । यो मुख्यतया मांशपेशी तथा फाइबर तन्तुले बनेको कारणले यसलाई फाइबराइड भनिएको हो । यसलाई मायोमा वा लियोमायोमा पनि भनिन्छ । सामान्य भाषामा यसलाई ऐंजेरु पनि भन्ने चलन छ ।

कस्ता महिला जोखिममा ?

महिलाहरूमा हुने समस्याहरूमध्ये यो पनि एक प्रमुख समस्याभन्दा फरक नपर्ला । नेपालमा मात्र होइन संसारका जुनसुकै मुलुकका महिलाहरूमा यो समस्या देखिन सक्छ । सन् २०१६ का तथ्यांकअनुसार विश्वका २१ दशमलव ४ प्रतिशत महिलाहरूमा फाइबराइड समस्या रहेको छ ।

समान्यतया उमेर बढ्दै गएपछि फाइबराइड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० वर्ष पार गरेका ४० प्रतिशतसम्म महिलाहरूको पाठेघरमा फाइबराइड हुने गरेकोे तथ्यांकहरूले देखाएका छन् । अधिकांश साना साना फाइबराइड भएका महिलाहरूमा कुनै लक्षण वा असरहरू नदेखिने गरेको पाइन्छ ।

यस्ता महिलाहरू अरू नै समस्याका कारण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गर्दा फाइबराइड देखिने गरेको पाइन्छ।

के हुन्छ असर ?

फाइबराइड ठूलो भएमा वा सानो नै रहेमा पनि यसले गर्ने प्रमुख समस्या महिनावारीको गडबडी नै हो । महिनावारीमा अत्यधिक रक्तश्राव हुने, लामो समय रक्तश्राव हुने, थोरैथोरै दिनको अन्तरालमा रक्तश्राव हुने, महिनावारीमा धेरै दुखाइ हुनेजस्ता समस्या धेरैमा हुन सक्छ।

फाइबराइड ठूलो भएमा पेट ठूलो हुने तथा अन्य अङ्गजस्तै आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या गर्न सक्छ ।

यस्तो अवस्थामा तल्लो पेट दुख्ने, कम्मर दुख्ने, पिसाबको संक्रमण गर्न सक्छ । नेपाल मेडिकल कलेज काठमाडौं‌मा सन् २००१ देखि २००६ सम्म गरेको एक अध्ययनले अस्पतालमा आएका फाइबराइडका रोगीहरुको औषत उमेर ४३ दशमलव ३ बर्ष रहेको पाईयो ।

सोही अध्ययन अनुसार ७३ प्रतिशतमा महिनावारीमा अत्यधिक रक्तश्राव हुने देखिएको थियो । त्यस्तै ७ दशमलव ३ प्रतिशत फाइबराइडका महिलाहरूमा निःसन्तानको समस्या रहेको पनि सो अध्ययनले देखाएको छ ।

अनावश्यक भय र भ्रम

फाइवराइडले क्यान्सर पनि हुन सक्छ नि भन्ने डर अधिकांश महिलाहरूमा रहने गरेको पाइन्छ । यसै डरका कारण अधिकांश महिलाहरू आत्तिने र शल्यक्रिया गरेर भए पनि पाठेघर फाल्न हतार गरिरहेको पाइन्छ । तर वास्तविक्ता त्यस्तो होइन ।

फाइबराइड एकदम सुस्त गतिमा बढ्ने ट्युमर हो । भनिन्छ, यो बढेर सुन्तलाको आकारमा आउन नि ३ वर्ष लाग्छ। यसबाट क्यान्सर हुने सम्भावना मात्र ‍० दशमलव २ प्रतिशत हुन्छ । तर कसैकसैमा फाइवराइडको वृद्धि तीव्र गतिमा हुन सक्छ । यस्तो अवस्थामा क्यान्सर हुने सम्भावना बढिरहन्छ ।

कस्तो हुन्छ उपचार ?

पाठेघरमा ऐंजेरु भन्नेबित्तिकै शल्यक्रिया अर्थात् अप्रेसन सम्झन्छौं । तर फाइवराइडमा शल्यक्रिया गर्नैपर्छ भन्ने छैन । कुनै समस्या नगरेका फाइवराइडलाई कुनै उपचार चाहिँदैन । तर महिनावारीमा अत्यधिक रक्तश्राव भएमा तुरुन्त उपचार चाहिन्छ। फाइवराइडको मुख्य तथा दीर्घकालीन उपचार शल्यक्रिया नै हो । शल्यक्रिया गरेर ऐंजेरु वा फाइवराइड मात्र निकाल्ने प्रकृयालाई मायोमेक्टोमी भनिन्छ । कम उमेर तथा पाठेघर बचाउनु पर्ने अवस्थामा मायोमेक्टोमी रोज्न सकिन्छ तर मायोमेक्टोमी गर्दा शल्यक्रियामा समस्या वा जटिल्ता आएमा पाठेघर नै निकाल्नुपर्ने हुन सक्छ । उमेर पुगेका अर्थात् समान्यतया ४५ वर्ष पारगरिसकेको अवस्थामा फाइवराइडलगायत पाठेघर नै निकाल्न सकिन्छ । यस्तो शल्यक्रियालाई हेस्टेरेक्टोमी भनिन्छ ।

शल्यक्रियाबाहेक फाइबराइडमा शल्यक्रियाबाहेक अन्य औषधि उपचार छैन भन्न मिल्दैन । फाइवराइडमा उपचार गर्नुपर्ने कारण अत्यधिक वा लामो समयसम्म हुने रक्तश्राव नै हो ।

रक्तश्राव भएको छैन वा धेरै नभएको अवस्थामा कुनै उपचार नचाहिन सक्छ । तर रक्तश्राव धेरै हुन्छ र तुरुन्तै शल्यक्रिया गर्न नसकिने अवस्थामा रक्तश्राव रोक्ने र शरिरमा रगतको मात्रा बढाउने औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ ।

यस अवस्थामा तत्काल रक्तश्राव रोकिने औषधिहरू थोरै समयका लागि प्रयोग गरिन्छ । कम उमेरमा नै ऐंजेरु पलाए हेस्टेरेक्टोमी पनि गरिहाल्नु हुँदैन ।

पाठेघर तथा अण्डासयले इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन उत्पादन गर्ने र हिस्टेरेक्टोमी गरि सकेपछि यस्ता हर्मोनको कमी भएर स्वास्थ्यमा समस्या आउने भएकोले कम उमेरमा हिस्टेरेक्टोमी गर्ने उपाय घातक पनि हुन सक्छ । यस अवस्थामा वा अन्य अवस्था जसमा लामो समयसम्म शल्यक्रिया नगर्ने वा गर्न नसकिने भएमा लामो समयसम्म हर्मोनल उपचार पद्धति अपनाउन सकिन्छ तर औषधिले फाइबराइड निको भने हुँदैन ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस