३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

बोटबिरुवा र तरकारीका बाली खाएर नष्ट गर्न थाले

काठमाडौं आइपुग्यो सलह

सलहका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल प्रवेश नहुने भन्दै केन्द्रले मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो
काठमाडौं आइपुग्यो सलह

असार १७ गते २०७७

भारतबाट आएको सलहको बथान काठमाडौं उपत्यकामा आइपुगेको छ। मंगलबार काठमाडौंको क्षेत्रपाटी, बसन्तपुर, ठमेल, न्युरोड, ललितपुरको गोदावरी, टाखेललगायत विभिन्न ठाउँमा सलहको बथान देखिएको हो। भारतको बिहार हुँदै भित्रिएको सलह तराईंका जिल्लामा प्रवेश गरेको थियो।

सरकारको दाबीलाई झुटो सावित गर्दै सलह फट्यांग्राको बथान शनिबार नेपाल छिरेको थियो। भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका नेपालको तराई क्षेत्रमा बिहान ७ देखि ८ बजेको बीचमा त्यसको बथानै देखा परेको थियो।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सलहले कृषि क्षेत्र ध्वस्त पारे समस्या झनै विकराल बन्ने चिन्ता विज्ञले व्यक्त गरेका छन्। यी किराले लगाउन सुरु भएको बर्खे धान बाली, धानको बीउ, फलफूलका बोटबिरुवा र तरकारीका बाली खाएर नष्ट गर्न थालेका छन्।

सुरुमा रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुरमा सलह देखिएको हो। त्यसपछि सिन्धुली र नवलपरासीसम्म पुगिसकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार यसको बथान बिस्तारै अन्य जिल्ला हुँदै काठमाडौं प्रवेश गरेको हो।

मन्त्रालयले जेठ २४ गते नेपालमा यो फट्यांग्राको प्रवेश तत्कालका लागि टरेको बताएको थियो। मन्त्रालयको दाबी झन्डै तीन सातामा शनिबार गलत साबित भएको हो। सलहका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल प्रवेश नहुने भन्दै केन्द्रले मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस