१० आश्विन २०७७, शनिबार || 26 Sep 2020, Saturday

१९ असार , २०७७

विदेशबाट फर्केका ११ सय नेपालीमात्र होटेल क्वारेन्टिनमा

 लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो
विदेशबाट फर्केका ११ सय नेपालीमात्र होटेल क्वारेन्टिनमा

लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो । उनीहरुलाई नेपाल फर्केपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ । सोहीअनुसार देशभर ५७ वटा होटेल क्वारेन्टिनका लागि तोकिएका थिए । यी होटेलले दैनिक करीव ३३ सय पाहुनालाई एकसाथ सेवा दिन सक्छन् । तर, अहिलेसम्म ११ सय यात्रु मात्र होटेलमा बसेको होटेल संघ नेपाल (हान)ले जनाएको छ ।

संघका सदस्य युवराज श्रेष्ठका अनुसार यी यात्रु पनि पुरै १४ दिन भने बसेका छैनन् । खासगरी पीसीआर वा आरडीटी रिपोर्ट लिएर आएका यात्रुलाई घरमै क्वारेन्टिनमा बस्न सक्ने सुविधा दिइएको छ ।

अर्कोतर्फ अहिले पहिलो चरणमा खाडी मुलुक तथा कामको सिलसिलामा गएर दुःखमा रहेका नेपालीलाई प्राथमिकता दिएर घर फर्काइएको छ । उनीहरु अधिकांश सम्बन्धित स्थानीय तहमा निर्माण भएको क्वारेन्टिनमा बसेको बताइन्छ । सोहीकारण होटेलमा बस्नेहरुको संख्या कम भएको होटेल व्यवसायीको अनुमान छ ।

विदेशबाट आएकाहरुलाई सुरुमा नेपाली सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमा राखिन्छ । त्यसपछि मात्र होटल क्वारेन्टिन वा घर जान पठाइन्छ । होटेल क्वारेन्टिनमा बस्नेहरुले खर्च आफैं व्यहोर्नुपर्छ । खर्च व्यहोर्न नसक्नेहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्ने सर्तमा पठाइन्छ ।

होटेल व्यवसायी र सरकारबीच भएको सहमति अनुसार विदेशबाट फर्केर होटेल क्वारेन्टिनमा बस्नेका लागि प्रतिव्यक्ति न्यूनतम दुई हजारदेखि अधिकतम ५५ सय रुपैयाँसम्ममा रकम तोकिएको छ । अधिकतम मूल्य चारतारे र न्यूनतम मूल्य पर्यटकीय स्तरका होटेलमा निर्धारित हो । होटेल क्वारेन्टिनमा प्रयोग भएका होटेल चार तारेदेखि पर्यटकस्तरीयसम्म रहेका छन् । न्यूनतम मूल्यसमेत एउटा कोठामा दुई जना बस्न तयार भएको अवस्थामा मात्र हो ।

एउटा कोठामा एक्लै बस्न चाहने पाहुनाले भने न्यूनतम तीन हजार रुपैयाँदेखि अधिकतम ८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । अर्थात् चार तारे होटेलको कोठामा एक्लै बस्न चाहने हो भने प्रतिदिन ८ हजार रुपैयाँ भुक्तान गर्नुपर्छ । यसअघि होटेल व्यवसायीले न्यूनतम २५ सयदेखि अधिकतम १० हजार रुपैयाँसम्मको दररेट कायम गरी सरकारलाई बुझाएका थिए । पछिल्लो पटक उक्त मूल्य केही घटाउन व्यवसायी तयार भएपछि होटेललाई क्वारेन्टिन बनाउने सम्बन्धमा सहमति भएको थियो ।

होटेलहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न हानको सदस्यअन्तर्गत ५७ वटा होटेल तयार छन् । होटेलहरुले बिहान नास्ता–खाना, दिउँसो खाजा र साँझ खाना गरी दैनिक चार पटक खुवाउने व्यवस्था गर्नेछन् । अन्य सेवा सुविधासमेत होटेलको मापदण्ड सरह हुने व्यवसायीहरु बताउँछन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस