३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१९ असार , २०७७

श्रमले भाग्य निर्माण हुन्छ

श्रम नै हरेक समस्याको समाधान हो
श्रमले भाग्य निर्माण हुन्छ

आज हामी श्रमबाट भाग्ने गछौं । ऐशआरम, सुख–सयलमा मस्त रमाउन चाहन्छौं । र, भाग्यमा बढी निर्भर रहन्छौं । यही चक्करमा परेर हामी अनेकन समस्या र झमेलामा फसिरहेका हुन्छौं ।

जबकी श्रम नै हरेक समस्याको समाधान हो ।

कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नुलाई हामी भाग्य मान्छौं । तर, खप्तड स्वामीले नै भनेका छन्, ‘दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।’  वास्तवमा हामी भाग्यमा बढी निर्भर रहन्छौं । कुनैपनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी ‘भाग्यको खेल’ भन्छौं । जबकी हाम्रो पूर्खाहरुले भन्दै आएका छन्, ‘भाग्य छ भन्दैमा डोकोमा दुध दुहेर हुँदैन ।’ अर्थात भाग्यमा छ भन्दैमा बिना प्रयास वा श्रम त्यो प्राप्त हुँदैन ।

कुनैपनि काम गरेपछि त्यसमा आशावादी हुनुपर्छ । त्यसप्रति उत्सुक हुनुपर्छ । यसले हाम्रो जीवनलाई उत्साह दिइरहन्छ ।

डरलाई जितेपछि

डरले मनमा हिनतावोध पैदा गर्छ । त्यही हीन भावनाले हामीलाई अगाडि बढ्नका लागि अवरोध गर्छ । हामी आफुले आफैलाई हेला गर्छौ, हामीले आफुले आफैलाई नजरअन्दाज गर्छौ । म को हुँ, मेरो क्षमता के हो, मैले के गर्नुपर्छ भनेर मनन गर्दैनौं । चिन्तन गर्दैनौं । त्यही कारण हामी अलमलिइरहेका हुन्छौं ।

अतः आफ्नो क्षमताको पहिचान गरेर सोहि अनुसार अगाडि बढ्नुपर्छ ।

संसारमा त्यही व्यक्तिले सफलता प्राप्त गरेका छन्, त्यही व्यक्तिले प्रशिद्धि कमाएका छन्, जसले हिम्मत गरेका छन् । जसले डरलाई जितेका छन् ।

सफलता प्राप्त गर्नु भनेको हिमाली चुचुरो उक्लिनु जस्तै हो । त्यहाँ चुनौती आवश्य हुन्छ । तर, साथसाथै सफलताले पनि पर्खिरहेका हुन्छ । चुचुरो हाम्रो लक्ष्य हो । त्यहाँसम्म पुग्नका लागि हामीले सार्थक यात्रा तथ गर्नुपर्छ । हिम्मत गर्नुपर्छ । निरन्तर प्रयास गर्नुपर्छ । दृढ विश्वास राख्नुपर्छ । र, चुचुरोमा पुग्ने उमंग राख्नुपर्छ ।

बाहना छाडौं

हामी धेरै वाहानाबाजी गर्छौं । कुनै झन्झटबाट छुटकारा पाउनका लागि बाहाना बनाउँछौं । कुनै कामबाट छलिएर भाग्नका लागि बाहाना बनाउँछौं । जब कसैले हामीलाई कुनै जिम्मेवारी बोकाउँछ, त्यसबाट उम्कनका लागि हामी अनेक बाहाना खोज्छौं ।

यस्तो वाहानाबाजी गर्ने प्रवृत्ति हामीभित्र कति गहिरोसँग गढिएर रहेको छ भने, हामी स्वंम आफैबाट लुक्नपनि बाहाना गर्छौं । जस्तो कि, बिहान उठेर मर्निङ वाक गर्न मन लागेन भने हामी त्यसको बाहाना खोज्छौं । नुहाउन अल्छी लाग्यो भने बाहाना खोज्छौं ।

बाहानाले हामीलाई क्षणिक रुपमा कुनै झन्झटबाट मुक्त गराउँछ । तर, यो डरलाग्दो रोग हो । यो बाधक हो । बाहानाले हामीलाई सधै पछाडि धकेलिरहेको हुन्छ । त्यसैले सफलता प्राप्तका लागि बाहानाबाजी छाडौं ।

आफूलाई पूर्ण नठानौं

हामीलाई आफु सर्वगुणी, सर्बज्ञाता लाग्छ । हामीले हरेक कुरामा तर्क गर्न तत्पर हुन्छौं । जुनसुकै कुरामा पनि पूर्व निर्धारित बिचार लाद्छौं । हामी बोल्छौं । भन्छौं । सुनाउँछौं । तर, हामी आफै भने सुन्दैनौं । बुझ्ने धैर्यता राख्दैनौं ।

महान बैज्ञानिक स्टिफल हकिङ्गले भनेका छन्, ‘म केवल बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेका हुन्छु ।’

वास्तवमा बच्चाले जस्तै हरेक कुरामा जिज्ञासा र चासो राख्नुपर्छ । सर्वज्ञाता भएर अरुको कुरा नसुन्ने, नबुझ्ने प्रवृत्तिले हामीलाई अगाडि बढ्नबाट रोक्छ ।

सफलताको तीन सूत्र

सफलता । आफैमा सुन्दर शब्दावली हो । तर, सफलता प्राप्त गर्नका लागि समूचित मिहनेत, लगाव, श्रम, इच्छाशक्ति, निरन्तरता आवश्यक हुन्छ ।

खप्तड स्वामीले सफलताको सूत्र यसरी बताएका थिए, ‘आत्माविश्वास, लगनसिलता र निरन्तर प्रयास ।’ सफलताको लागि लक्ष्य पहिलो कुरा हो । कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्नका लागि लक्ष्य बनाउनुपर्छ । उक्त लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक हुन्छ ।  यसका साथै सफलता प्रप्त गर्नका लागि केहि प्रचलित सूत्र छन् । जस्तो कि, त्यही काम गरौं, जसमा आफ्नो रुची र स्नेह हुन्छ । यस्तो काममा हामीले सफलता प्राप्त गर्छौं । हामीले आफ्नो साथी–सर्कल बनाउने कुरामा पनि ख्याल गर्नुपर्छ । राम्रा, सकारात्मक र उत्प्रेरणा जगाइरहने साथीहरुको संगतले हामीलाई थाक्न दिदैन । गल्न दिदैन । निरन्तर अगाडि बढ्ने उर्जा दिन्छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस