५ आश्विन २०७७, सोमबार || 21 Sep 2020, Monday

१९ असार , २०७७

एकलव्य : लगाव, अनुशासन र त्यागको कथा

को हुन् एकलव्य
एकलव्य : लगाव, अनुशासन र त्यागको कथा

जब गुरु र चेलाबीचको प्रसंग आउँछ वा आदर्श चेलाको  विषयमा चर्चा हुन्छ, एकलव्यको नाम आउँछ । एकलव्य धनु–विद्यामा निपूर्ण थिए । खासमा उनले द्रोणाचार्यलाई गुरु मानेर उनकै प्रतिमा स्थापना गरी धनु विद्या सिकेको थिए । पछि गुरु द्रोणाचार्यले उनलाई गुरु–दक्षिणा स्वरुप बुढी औंला मागे ।  एकलव्यले गुरुको वचन टार्न सकेनन् । उनले आफ्नो बुढी औंला काटेर गुरु दक्षिणा दिए, जबकी धनुष वाण चलाउनका लागि बुढी औंला आवश्यक हुन्छ ।

एकलव्य एक पौराणि पात्र हुन् । विद्या एवं ज्ञानप्रति गहिरो अभिरुची राख्ने उनी लगाव, आत्म–अनुशासन र त्यागका प्रतिक हुन् ।

को हुन् एकलव्य

एकलव्य निषादराज हिरण्यधनुका पुत्र थिए । उनको आमाको नाम सुलेखा थियो । शुरुमा एकलव्यको नाम अभिद्युम्न थियो । उनलाई अभय नामले बोलाइन्थ्यो ।

महाभारत कालमा प्रयाग (इलाहाबाद) को तटवर्ती प्रदेशमा फैलिएको श्रृंगवेरपुर नामक राज्य निषादराज हिरण्यधनुको थियो । गंगाको किनारमा अवस्थित श्रृंगवेरपुर उक्त राज्यको सुदृढ़ राजधानी थियो । त्यसबेला  श्रृंगवेरपुर राज्यको शक्ति मगध, हस्तिनापुर, मथुरा, चेदि र चन्देरी आदि ठूला राज्यसमान नै थियो । निषादराज हिरण्यधनु तथा उनका सेनापति गिरिवीरको वीरता विख्यात थियो ।  हिरण्यधनु आफ्ना अमात्य (मन्त्री) परिषदको सहायताबाट राज्य संचालन गर्थे ।

पाँच वर्षको भएपछि एकलव्यको शिक्षा सुरु भयो । तत्कालीन व्यवस्था अनुसार कुलीय गुरुकुलमै उनको शिक्षा थालनी भयो ।  त्यो गुरुकुलमा सबै जाति र समाजका उच्चवर्गका व्यक्ति पढ्थे ।

एकलव्य एक राजपुत्र थिए । उनको पिता हिरण्यधनुलाई कौरवहरू सम्मान गर्थे अर्थात् हस्तिनापुरमा उनको प्रतिष्ठा थियो । बाल्यकालदेखि नै अस्त्र–शस्त्र विद्याप्रति बालकको लय, लगन र एकनिष्ठता देखेर गुरुले उक्त बालकको नाम ’एकलव्य’ राखिदिएका थिए । एकलव्य युवा भएपछि हिरण्यधनुले आफ्ना एक निषाद मित्रकी छोरी सुनीतासँग  एकलव्यको विवाह गराइदिएका थिए ।

एकपटक पुलक मुनिले एकलव्यको आत्मविश्वास एवम् धनुष बाण सिक्ने लगन देखेर निषादराज हिरण्यधनुलाई भनेका थिए, ‘हे निषादराज ! तपाईंको छोरोमा उत्कृष्ट धनुर्धर बन्ने क्षमता छ तसर्थ उसलाई सही दीक्षा दिलाउने प्रयास गर्नु राम्रो हुन्छ ।’

पुलक मुनिको कुराबाट  प्रभावित राजा हिरण्यधनु, आफ्नो पुत्र एकलव्यलाई महान गुरु द्रोणकहाँ लैजान्छन् । तर  गुरु द्रोण केवल कुरुकुल र राजदरबारका बालकहरूलाई मात्र धनुष विद्या सिकाउन सक्थे किनभने उनी भीष्मप्रति यो कुरामा वचनबद्ध थिए । यसकारण उनले एकलव्यलाई शिक्षा दिन अस्विकार गरिदिए ।

पछि एकलव्यले द्रोणलाई नै गुरु मानेर उनको प्रतिमा बनाई धनुर्विद्याको अभ्यास गर्न थाले । उनी यस विद्यामा पारङ्गत पनि भए ।  उनी द्रोणका अन्य कुनै पनि शिष्यभन्दा कुशल धनुर्धर भए । द्रोणाचार्यले जुन अर्जुनलाई महान सिद्ध गर्नका लागि एकलव्यको बूढी औँला कटाएका थिए, एकलव्यलाई  पछि तिनै अर्जुन विरुद्ध समेत युद्ध लड्नुपर्ने भयो ।

एकलव्य अर्जुनको पुत्रको हत्याका कारण बन्न पुगे भने अर्जुनको सालोकै हातबाट उनको मृत्यु पनि भयो ।।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस