३ आश्विन २०७७, शनिबार || 19 Sep 2020, Saturday

‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’

भक्तपुरमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरे
भक्तपुरमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

असार १९ गते २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहान युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् । सूर्यविनायकमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।

उनीहरुले ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै प्रर्दशन गरेका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्री ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा रहेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटीको बैठक पनि प्रभावित भएको छ । नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस