२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

नेपाली जनताहरू चिन्तित

महाधिवेशनबाट मात्रै पार्टीको नेतृत्व परिर्वतन

वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसहित पार्टीका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ५ वर्षका लागि जनअनुमोदित सरकार हो
- सुजिता शाक्य

महाधिवेशनबाट मात्रै पार्टीको नेतृत्व परिर्वतन

असार १९ गते २०७७

यतिबेला पार्टीभित्रको शक्ति संघर्षका कारण नेकपाको एकतालाई सबल र सुदृढ बनाई देशलाई समुन्नत र सुशासन उन्मुख बनाई सार्वभौमसम्पन्न स्वाधीन राष्ट्रको रूपमा हेर्न चाहने र विश्व मानचित्रमा प्रत्येक नेपालीलाई सम्मानित र प्रतिष्ठित नागरिकको सूचीमा राख्न चाहने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जनताहरू चिन्तित छन्।

वर्तमान सरकार समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसहित पार्टीका आदरणीय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ५ वर्षका लागि जनअनुमोदित सरकार हो। स्थायी सरकार, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र समृद्ध समाज जनताको चाहना हो । विश्व नै कोरोना महामारीको जटिल परिस्थितिको सामना गर्नुपरिरहेको अवस्थामा स्थायी समिति बैठकमा केही कमरेडहरूले प्रधानमन्त्रीको राजिनामा माग गर्नु भएको कुराले देश गम्भिर दुर्घटनामा पर्न सक्ने खतरालाई अनुभूत गरी अधिकांश जनता, मतदाता, कार्यकर्ता, सुभचिन्तकहरूले चिन्ता जाहेर गरिरहेका छन् । अहिले बर्तमान सरकारको सकारात्मक कामबाट जनताहरू आशावादी बनिरहेको र आन्तरिक र बाह्य प्रतिगामी शक्तिहरू सशंकित र कम्यूनिष्ट सरकारको लोकप्रियताले उनीहरूको बहुपक्षिय एकाधिकार गुम्ने भयबाट त्रशित छन् ।

एकताको विपक्षमा हरेक पाईला पाईलामा दिग्भ्रमित पार्ने, एकता भाँड्ने प्रयासहरू निरन्तर जारी छन् । विगतमा संविधान बन्न नदिन, कार्यान्वयन हुन नदिन अनेकन् असफल प्रयासहरू गरिए अहिले पुनः राष्ट्र एक ढिक्का भई हाम्रा अतिक्रमित भूमी फिर्ता गर्न अभूतपूर्व रूपमा एकता प्रदर्शन गरी नेपालको नक्सा सच्याउने र संविधानमा नेपालको निशान छाप परिवर्तनका लागि संघीय संसदको दुबै सदनबाट सर्वसम्मत पारित गरिसकेको अवस्थामा फेरी एकपटक उथलपुथल ल्याउन कस्सिएका छन्।

हाम्रो पार्टीभित्र फेरी एकपटक नेतृत्व पङ्ति परिक्षाको कठघरामा उभिनुपरेको अवस्था छ। विगतमा पार्टी एकता भाँड्न पटक पटक भएका दुष्प्रयासहरूलाई जसरी वर्तमान नेतृत्वले असफल पारे त्यसरी नै हाल भैरहेको प्रयासलाई पनि असफल बनाउन र समस्यालाई समाधान गर्न सक्षम हुनेछन् भन्ने कुरामा जनता आशावादी छन् ।

जनता संधै विकास र समृद्धिको आशामा रहने र पटक पटक धोका खाईरहने कुरा अब सहन गर्न सक्ने छैन । यस्तो बेला अलोकप्रिय निर्णय गर्न सक्नेछन्। तसर्थ हालको अस्वस्थकर खेलले आउनसक्ने नकारात्मक परिणामलाई ध्यानमा राखि स्थायी समितिको बैठकले जनता र कार्यकर्ताको मतको कदर गर्दै एकतावद्ध भई हालसम्मका कामको न्यायोचित ढंगले समिक्षा गरी सकारात्मक र सृजनशिल भई अघि बढ्न नेतृत्वलाई आग्रह गर्न चाहन्छु।

विश्व नै कोभिड १९ को महामारीबाट आक्रान्त बनी जटिल परिस्थितिको सामना गर्नुपरिरहेका बेला अनेकन बहानामा प्रम र सरकारलाई असफल देखाई प्रधानमन्त्रीको राजिनामा माग्ने कुरा अन्यायपूर्ण र असान्दर्भिक छ । देशमा अस्थिरता निम्त्याउने, देश र जनतालाई सदाका लागि अविकास र अन्धकारको भुमरीमा धकेल्ने, जनतामा निराशा छर्ने काम कसैबाट नहोस्।

पार्टीलाई फुटको संघारमा पुरयाई करोडौं जनताको भाग्य भविष्यसंग खेलवाड गर्ने कुरा सर्वथा अनुचित हो। लोकतन्त्रमा राम्रो नराम्रो छुट्याउने अधिकार जनतामा नीहित हुन्छ । सरकारको वैकल्पिक नेतृत्वका लागि आवधिक निर्वाचनबाट र पार्टीको बैकल्पिक नेतृत्वका लागि आगामी एकताको महाधिवेशनबाट मात्र सम्भव छ । तसर्थ यस जटिल परिस्थितिमा संयमतापूर्वक निर्णय लिनका लागि म नेकपाका सम्पूर्ण नेतृत्वसँग हार्दिक आग्रह गर्दछु ।

यदि नेतृत्वले जनहित विरूद्ध कुनै पनि गलत निर्णय गरी आफ्नो खुट्टामा आफै बन्चरो हान्ने र हत्तारमा निर्णय गरी फुर्सदमा पछुताउने काम गरेमा जनता र हाम्रा भावी सन्ततिले कहिल्यै क्षमा दिने छैनन् । सरकारले सकारात्मक दीगो विकासका पूर्वाधारका कामहरू तीव्रतर गतिमा बढाईरहेको बेलामा कोरोना महामारीका कारणले विकासका कामहरू केही शिथिल अवस्य भएका छन्। यतिबेला विश्वका धनाढ्य भनिएका अमेरिका, यूरोप र हाम्रै छिमेकी देशहरू चीन र भारत लगायत विश्वका प्राय सबै देशहरूमा समस्या समाधान गर्न हम्मे हम्मे परेको छ। समग्रमा कोरोना महामारीलाई सहजै परास्त गर्न सक्ने अवस्था बनिरहेको छैन। संक्रमणको रोकथाम, उपचार र शव व्यवस्थापनमा समेत असीमित समस्याहरूको सामना गरिरहेका छन् । तर यस्तो जटिल अवस्थामा पनि हाम्रोजस्तो अल्पविकसित देशको सरकारले यो महामारीको रोकथाम र उपचारमा उच्चस्तरको शतर्कतासहित आफ्नो क्षमताले भ्याएसम्मको औषधि, उपकरण र जनशक्तिको व्यवस्थापन सह्राहनीय ढंगले गरिरहेको छ ।

विश्वका अन्य कैयौं देशहरूको तुलनामा धेरै राम्रो व्यवस्थापन गरेको तथ्य कसैबाट लुकेको छैन। आजसम्म भारतबाट मात्र लाखौं प्रवासी नेपालीहरू नेपाल भित्रिएका छन् ती सबैको कोरोना परिक्षण, खानपान र आवासको व्यवस्थापनबाट संक्रमितको संख्यामा न्यूनिकरण गर्ने काम गरेको छ। संक्रमितको मृत्युदर लगभग शून्य दशमलव दुईमा सीमित राख्न सफल भएको छ । तसर्थ विश्व स्वास्थ्य संगठनले समेत नेपालको व्यवस्थापनको सह्राना गरेको छ। कोरोना रोकथामका विश्वका कैयन देशहरूले क्वारेन्टाईनमा राख्न नसकेको, संक्रमितका लागि आईसोलेशन र पर्याप्त उपचारको व्यवस्था गर्न नसकिरहेको अवस्थामा नेपाल सरकारको तीनै तहको सरकारको समन्वय र संयोजनमा सृजनात्मक ढंगले जनशक्तिको सकृय परिचालन गरी संक्रमितको संख्या र संक्रमितहरूको मृत्युदरलाई नियन्त्रणमा राख्ने सह्राहनीय कार्य गरेको छ ।

हामीले सहीलाई सही र गलतलाई गलत भन्ने साहस गर्नुपर्छ। देशको यस्तो जटिल परिस्थितिमा सरकारको नेतृत्व परिवर्तन र पार्टीको नेतृत्व परिवर्तन दुबै देश र जनताको लागि घात सिद्ध हुनेछ । पार्टीभित्र स्वच्छ र स्वस्थ आलोचना र आत्मआलोचना गरी जान अन्जानमा भएका कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्नु नै हामी सबैका लागि हितमा हुनेछ भन्ने मलाई लागेको छ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का केन्द्रीय सदस्य तथा स्वास्थ्यसम्वद्ध संगठनका ईन्चार्ज हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस