१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

२१ असार , २०७७

को हुन् हाम्रा पूज्य गुरु ?

जसले हामीलाई अज्ञानताबाट मुक्त गराए र ज्ञानको उज्यालो दिलाए उनी नै गुरु हुन्
को हुन् हाम्रा पूज्य गुरु ?

हामी आमा, बुवाकै सर्वोच्व श्रेणीमा राख्छौं, गुरुलाई पनि । अर्थात हाम्रा निम्ति गुरु पूज्य छन् । के भनिन्छ भने, जन्म दिने आमाबुवा हुन् र कर्म दिने गुरु । यसर्थ गुरु कुनै निश्चित व्यक्ति वा पात्र मात्र होइनन् । ति तमाम हाम्रा गुरु हुन्, जसले हामीलाई कुनै न कुनै ज्ञान, सीप, शिक्षा, कौशल दिए ।

खासमा गुरु शब्द आफैमा अर्थयुत्त छ । गु शब्दको अर्थ अन्धकार वा अज्ञान हो । रु शब्दको अर्थ प्रकाश ज्ञान हो । यसबाट के प्रष्ट हुन्छ भने, जसले हामीलाई अज्ञानताबाट मुक्त गराए र ज्ञानको उज्यालो दिलाए उनी नै गुरु हुन् ।

अहिले गुरु भन्नसाथ हामी विद्यालयका शिक्षक÷शिक्षिकालाई स्मरण गर्छौं । आधुनिक शिक्षा–दीक्षा हामीले उनीहरुबाट नै प्राप्त गर्छौं । विद्यालय गएर पढ्छौं, लेख्छौं । पाठ्यक्रममा समेटिएका केही ज्ञान र जानकारी आर्जन गर्छौं । केही नयाँ कुराहरु सिक्छौं । आफ्नो सीप र क्षमता विकासका आधारहरु निर्माण गर्छौं । तर, ‘गुरु’ को अर्थ र स्वरुप यतिमा सीमित छैन । यो अरु व्यापक छ ।

जब हामी जन्मन्छौं, संसारका सबै कुराप्रति हामी अनभिज्ञ हुन्छौं । तर, आमाको काखमा खेल्दा–खेल्दै हामी संसारलाई जान्न र बुझ्न थाल्छौं । खाने, बोल्ने, हिँड्ने वा कुनैपनि कुरा अभिव्यक्त गर्ने कला आमाकै काखमा सिक्छौं । थाहै नपाई आमाले हामीलाई जीवनोपयोगी कुराहरु सिकाउँछन् । के खाने, कसरी खाने, के लगाउने, कसरी लगाउने, के बोल्ने, कसरी बोल्ने ? इत्यादि । आमाको काखमा हामीले त्यही धरातलिय कुरा आर्जन गर्छौं, जुन एउटा जीवन बाँच्नका निम्ति आवश्यक न्युनतम आधारहरु हुन् । त्यसैले आमा हाम्रो पहिलो गुरु हुन् ।

आमाको काखबाट बाहिर आएपछि हामी बुवाको काँधमा चढेर खेल्न थाल्छौं । यही क्षणमा हामी जीवनका व्यवहारिक गुणहरु आजन गर्न थाल्छौं । एउटा आदर्श जीवन बाँँच्नका लागि खान, लगाउन, हास्न, खेल्न जानेर मात्र पुग्दैन । साथसाथै श्रम, सीप, मेहनत, संघर्ष, कला, शिल्प जस्ता क्षमता र गुणहरुको विकास गर्नु आवश्यक हुन्छ । बुवाको सामिप्यमा रहेर हामीले व्यवहारिक र जीवनोपयोगी कुराहरु बुझ्छौं, सिक्छौं । त्यसैले बुवा हाम्रा दोस्रो गुरु हुन् ।

त्यसपछि हामी आफ्नै दाजु–दिदी, घर परिवार, छिमेकी, आफन्त, इष्टमित्र वा समग्र समाजबाट अनेकन कुराहरु बुझ्दै र सिक्दै जान्छौं । सिकाइको यही सिलसिलाले हामीलाई विद्यालय शिक्षामा लगेर जोड्छ ।

विद्यालयबाट हामीले धेरै कुरा जान्ने र सिक्ने मौका पाउँछौं । तर, ज्ञान, सीप र दक्षताको सम्पूर्ण स्रोत विद्यालय होइन । हामी हुर्केको हावापानी, प्रकृति, वातावरण, समाज, साथी–संगत आदिबाट जीवनका निम्ती आवश्यक ज्ञान, सीप, दक्षता आर्जन गर्छौं । जति–जति हामी उत्सुक, जिज्ञासु हुन्छौं, उत्तिनै हाम्रा सिकाइका दायरा बढ्दै जान्छन् । सिकाइका स्रोतहरु फैलिदै जान्छन् । सिक्ने, बुझ्ने र जान्ने यो उपक्रम जीवनभर चलिरहन्छ । जहिलेसम्म हामीभित्र प्रश्नहरु बाँकी रहन्छन्, सिक्ने र बुझ्ने क्रम जारी रहन्छ ।

त्यसैले ति तमाम हाम्रा गुरु हुन्, जसले कुनै न कुनै हिसाबले हामीलाई ज्ञान दिलाए, सीप दिलाए, दक्षता दिलाए ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस