५ आश्विन २०७७, सोमबार || 21 Sep 2020, Monday

२१ असार , २०७७

‘बस हिलोमा धसिँदैछ, सँगै हामी भासिँदैछौं’

सिटी मेट्रोलाई सकस
‘बस हिलोमा धसिँदैछ, सँगै हामी भासिँदैछौं’

महानगर यातायात, चक्रपथमा चल्ने सबैभन्दा परिचित बस कम्पनी हो । कम्पनीमा २१ सेयर सदस्यका ३९ वटा बस छन् । चैत ११ मा लकडाउन भएपछि कम्पनीले चैतको बैंक किस्ता तिर्न सकेको छैन । तिरोस् पनि कसरी ? फागुनबाटै कोरोनाको त्रासले यात्रु घटेका थिए, आम्दानी घटेर तनाव भइसकेको अवस्थामा लकडाउन भइदियो ।

बसहरु ग्ारेजमा गएर थन्किएका छन् । चैतयता कम्पनीले ऋणको एउटा किस्ता पनि बैंकमा हाल्न सकेको छैन । कम्पनीको कार्यालय र ग्यारेज रहेको जग्गाको बाहल बल्लतल्ल जोडजाम गरेर त तिरेको छ । तर, दिनदिनै कम्पनीको दायित्व बढ्दो छ ।

जसरी कम्पनी समस्यातर्फ जाँदैछ, कम्पनीका सदस्यहरुमाथि आर्थिक दबाव पनि बढिरहेको  छ । कम्पनीका कार्यकारी प्रमुख केशव नेपाल अब केही महिना यस्तै संकट लम्बिएमा कम्पनी धरासायी हुने बताउँछन् ।

सरकारी तबरबाट तुरुन्तै समस्या सम्बोधन हुने गरी नीति र नियमहरु नआएर आफूहरुले गरेको करोडौंको लगानी ‘बालुवाको पानी’ हुने चिन्ता कम्पनीका सेयर सदस्यहरुलाई छ ।

नेपालका अनुसार बैंकहरुले सीधै दबाव दिएका छैनन् । तर, पनि पटक-पटक फोन गरेर हालखबर सोधहिरेको भन्दै उनले घुमाउरो रुपमा मानसिक दबाव सिर्जाना गरिएको बताए ।

सिटी मेट्रोलाई सकस

अहिले महानगर यातायात मात्रै हैन, साझा बसपछि पहिलोपटक त्यत्रै आकारका ठूला बस ल्याएर चलाउन थालेको सिटी मेट्रो कम्पनीको पनि ब्यथा उस्तै छ । कम्पनीका अध्यक्ष हेमेन्द्र शरेचन कम्पनीको आर्थिक अवस्था असहज अवस्थामा रहेको बताउँछन् ।

कम्पनीका ३९ वटा बस छन् । यी सबै बस कम्पनी आफैंले नै बैंकमा फाइनान्सिङ गरेर निकालेको हो । ठूला बसहरुमा करिब साढे ४ करोड र मिनी बसमा ५ करोड बराबरको बैंक ऋण छ ।

तर, बैंकहरुलाई कम्पनीले किस्ता तिर्न सकेको छैन । तर बैंकहरुको फोन आएको आयै छ ।

‘द्वन्द्वकालमा चन्दा माग्ने माओवादी विद्रोहीले पनि यति धेरै तनाव दिएका थिएनन्,’ उनी भन्छन्,’बैंकहरुको फोन आतंक छ, हामीलाई यातना दिने काम भइरहेको छ ।’ बीमा कम्पनीहरुले उस्तै व्यवहार गरिरहेका छन् ।

यातायात व्यवसायीलाई कसरी कम्पनी र आफ्नो घरबारी बचाउने भन्ने चिन्ता छ । न्युन पुँजी भएका र स्वरोजगार रहेका यातायात कम्पनीका सेयर सदस्यहरुलाई त हातमुख जोड्न समस्या पर्न थालिकसकेको बताउँछन् अध्यक्ष शेरचन ।

‘यातायात क्षत्रेमा सानो-सानो पुँजी लगानी गर्नेहरु धेरै छन्, अब त्यस्ता लगानीकर्तालाई बिहान बेलुकीको छाक टार्ने समस्या पर्न लागिसक्यो,’ उनी भन्छन्,’त्यसमाथि ऋणको तनाव छ ।’

मयुरको थप लगानी अन्योलमा

काठमाडौंमा यातायात व्यवसायीका संघ र समितिको व्यवस्था अन्त्य गर्ने बेलामा कम्पनी मोडलमा गएर सिन्डिकेट अन्त्य गर्न सघाएको मयुर यातायात कम्पनीको अवस्था पनि अहिले उस्तै छ । एकपटक लगानीकर्ताबीचको किचलोले समस्या भोगेको कम्पनीलाई फेरि लकडाउनले मारमा पारेको छ ।

उपत्यकामा ४४ वटा बसहरु चलाइरहेको कम्पनीले थप ५० वटा बस भित्र्याउँदै थियो । एक दर्जन बस नेपाल आएर आयातकर्ता कम्पनीको परिसरमा बसेका छन् ।

थप बस आउँदै गर्दा कम्पनी फाइनान्सिङबारे छलफलमा थियो । कम्पनीका अध्यक्ष मोहन श्रेष्ठ त्यही बेला लकडाउन भएका कारण थप लगानी अन्योलमा परेको बताउँछन् ।

‘नयाँ बस थप्नै लाग्दा लकडाउन भयो, अब हामी लकडउन खुलेपछि बैंकहरुसँग बसेर छलफल गर्छौं,’ उनी भन्छन्,’हाम्रो समस्याबारे बैंकहरु जानकार नै छन्, समाधान हुन्छ भन्नेमा विश्वस्त छौं ।’

लामो दूरीकालाई ठूलो समस्या

अहिले काठमाडौंमा चल्ने सार्वजनिक सवारीलाई मात्र समस्या छैन, लामो रुटमा चल्ने सवारीको कथा पनि उस्तै छ । मेची यातायात कम्पनीका लगानीकर्ता तथा प्रदेश नम्बर १मा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली व्यवसायीहरु बैंकको किस्ताको तनावले ‘डिप्रेसन’मा जान थालेको बताउँछन् ।

आफूसम्बद्ध कम्पनी पनि कोभिड-१९को मारमा परेको भन्दै उनले समस्या समाधानका लागि प्रदेश सरकारलाई घच्घच्याउने काम गरिररहे पनि समाधानको प्रयास नभएको बताए ।

‘धेरै व्यवसायी साथीहरु लगानी जोखिममा परेपछि मानसिक रुपमा विक्षिप्त हुन थाल्नुभएको छ, समस्या समाधान भएन भने उहाँहरुले अपि्रय निर्णयहरु लिने त्रास छ,’ उनी भन्छन् ।

नेपालभित्र मात्रै हैन, नेपाल-भारत रुटमा बस चलाइहेका ठूला कम्पनी पनि आर्थिक समस्यामा फसिसके । नेपालबाट भारतका विभिन्न शहरमा बस सेवा दिइरहेका मञ्जुश्री यातायात पनि अहिले समस्यामा छ । एक करोडसम्मका २५ वटा बसहरु रहेको यो कम्पनीलाई पनि आर्थिक समस्याले गाँज्दै लगेको  छ ।

कम्पनीका लगानीकर्ता बलराम बराल ठूलो लगानी भएकाले लामो समयसम्म सेवा दिन नसके सवारीधनीहरु निकट भविष्यमा सडकमा आउने अवस्था छ ।

७० प्रतिशतसम्म ऋण लिएर बस किनिएको भन्दै उनले मँहगो र सुविधायुक्त बसमा सेवा दिइरहेका ठूला कम्पनीहरु अहिले सबैभन्दा बढी मारमा परेको बताए ।

‘सबैका पीडा आ-आफ्नै ठाउँमा ठूलो छ, तर हामीले अरुले भन्दा स्तरीय बसहरु किनेका छौं, उच्च लग्गानी छ,’ उनी भन्छन्,’जति दिन बस रोकिन्छन्, हामी उति भासिँदैछौं ।’

झन थोत्रा भए बस

नेपाल यातायात व्यवसायी राष्ट्र महासंघमा महासचिव सरोज सिटौलाका अनुसार अधिकंाश व्यवसायीको बस झाडी र हिलो छ । ठूला बसहरु खुला आकासमुनी पार्क गर्नुपर्दा घाम र पानीले बसमा खिया लगाइसक्यो ।

यसैपनि नेपालमा सार्वजनिक सवारी साधन चुस्त अवस्थामा नराख्ने प्रचलन छ । झन कोभिडको असरले बन्द भपछि बसहरु पार्किङमै थप थोत्रो बनेका छन् ।

लकडाउनपछि सडकमा बस निकाल्दा करिब १ देखि २ लाख खर्च गर्नुपर्ने अवस्था रहेको कम्पनी सञ्चालकहरु बताउँछन् । हिलोमा धस्सिएर चक्काहरु फेर्नुपर्ने भएका छन् ।

महंगा ब्याट्री काम नलाग्ने भएका छन् । गाडीका पार्टपूर्जामा खिया लाग्न थालिसके । छतमा लेउ बसिसक्यो । खुला ठाउँमा राख्दाराख्दै विभिन्न टुटफुट भएका छन् ।

इन्जिनलाई चुस्त बनाउन महंगो मोबिलहरु फेर्नुपर्नेछ । त्यसबाहेक सरकारले सुरक्षाका लागि बनाएको मापदण्डअनुसारको सरसफाइ र त्यसका उपकरण किन्नुपर्ने हुन्छ । डिस्इन्फेक्सन गर्ने औषधिदेखि उपकरणहरू किन्नुपर्ने अवस्था छ ।

‘निन्द्रा लाग्न छाडिसक्यो’

व्यवसायीहरु गाडी चलाउँदा भन्दा नचलाई राख्दा बढी खर्च आउने गरेको भन्दै अत्ताल्लिएको महासचिव सिटौला बताउँछन् । एक रुपैयाँ कमाइ नभएका बेला थपिने यस्ता लाखौं खर्च व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ ।

‘भोलि बस निकालेपछि पनि यात्रु पाउने हो कि हैन भन्ने चिन्ता पनि छ । बसमा काम गरिरहेका चालकलाई अहिले पुरै तलब दिन नसके पनि समान्य सुखदुःखको लागि भनेर धेरैले खर्च दिनुपरेको छ,’ महासचिव सिटौला भन्छन्, ‘करिब एकदेखि डेढ लाख स्वरोजगार यातायात मजदुर अहिले समस्यमा छन् ।’

यस्ता कारणले बस धनीहरुलाई अहिले निद्रा लाग्नै छाडेको सिटौलाको गुनासो छ । कम्पनी सञ्चालकहरुका अनुसार कतिपय बसधनीहरुले बैंकको किस्ता र सरसापटी गरेका ठाउँबाट आउने फोनको तनाव सहन नसकेर फोन अफ गरेर बसेका छन् ।

संक्रमणको जोखिम नहटेसम्म बसमा आधा मात्रै यात्रु बोक्नुपर्ने भएकाले भोलि खुल्नासाथ बस चलाउँदा नाफा हुन्छ कि हुँदैन भन्ने तनाव पनि उनीहरुलाई छ ।

‘त्रासका कारण बसमा मान्छे चढ्ने क्रम सुरुमै पातलो हुन्छ होला, त्यसमाथि आधा बस मात्रै यात्रु बोकेर त्यसले तेल खर्च पनि धान्ने हो कि हैन ?’ महानगर यातायातका कार्यकारी प्रमुख नेपाल भन्छन् ।

मौद्रिक नीतिमाथि आशा

व्यवसायीहरु तत्कालै सरकारले यातायत क्षत्रेमा भएको लगानीलाई बचाउने गरी योजना ल्याउनुपर्ने बताउँछन् । पर्यटनमा जसैगरी तत्काल यातायात क्षेत्रका लागि राहत प्याकेज ल्याउन नसके ‘गरीबको सवारी’हरु चल्न नसक्ने अवस्थामा पुग्ने दावी उनीहरुको छ ।

आफ्ना समस्या र समाधानका उपाय लिएर यातायात व्यवसायीहरु सरकारका विभिन्न पदाधिकारी र अधिकारीका ढोकामा नगएका होइनन् । चुनावमा चन्दा लिएका सांसददेखि स्थानीय जनप्रतिनिधिलाई समस्याको चुरो कुरा नभनेका पनि हैनन् ।

तर, कुनै तहका सरकारले जिम्मेवार भएर सार्वजनिक सवारीसाधनमा मालिक र मजदुरको समस्या समाधानमा तत्परता नदेखएको उनीको गुनासो छ ।

‘अर्थमन्त्री ज्युलाई नै भेटेर यातायात क्षेत्र डुब्ने भयो हेरिदिनुपर्‍यो भन्यौं,’ सिटी मेट्रोका अध्यक्ष शेरचन भन्छन्, ‘हामीसँग अहिले समस्या सम्बोधन गर्न सक्ने गरी आर्थिक स्रोत नै छैन भन्नुहुन्छ ।’

व्यवसायीहरुले सरकारसँग टिक्ने र बाँच्ने प्याकेज ल्याउन माग गरेका छन् । ऋणको पुर्नतालिकीकरण गर्न र सहुलियतपूर्ण पुनर्कर्जा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

पुनर्कर्जा सुविधा पाएर तुरुन्तै गाडीमा लाग्ने खर्च व्यवस्थापन गर्न र कम्पनीमा तरलता व्यवस्थापन गराइदिन माग गरिएको प्रदेश सभा सदस्य तथा व्यवसायी श्रीप्रसाद मैनाली बताउँछन् ।

व्यवसायीले बैंकहरुमा पनि आफेना समस्या राखेका छन्, तर बैंकले सबै कुरा राष्ट्रबैंकको मौद्रिक नीतिमा निर्भर हुने जवाफ दिएका छन् ।

त्यसैले यातायात व्यवसायीहरु मौदि्रक नीतिमा व्यवसाय संरक्षणको कस्तो योजना आउँछ भन्ने पर्खाइमा छन् । मौद्रिक नीतिमा ऋणको किस्ता खुकुलो बनाउन र ब्याजमा सहुलियत दिन व्यवसायीका विभिन्न संठनका नेताहरु अहिले विभिन्न सरकारी निकायमा पहलका लागि पुगिरहेका छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस