३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२३ असार , २०७७

बच्चालाई नभनौं, ‘तिमी नै सर्वोपरी हौ’

एक अंग्रेजी पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन
बच्चालाई नभनौं, ‘तिमी नै सर्वोपरी हौ’

एक अंग्रेजी पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन । बरु, हरेक कुरा आफु अनुसार हुनुपर्छ भन्ने मान्यता विकास हुनपुग्छ । उनीहरु आफुलाई सर्वोपरी ठान्न थाल्छन् ।’

जुन बच्चालाई अनावश्यक तारिफ गरेर हुर्काइन्छ, उनीहरुले ठूलो भएर समस्याको सामाना गर्न सक्दैनन् । यदि उनले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने, त्यसलाई झेल्ने क्षमता उनीसँग हुँदैन ।

किन यस्तो हुन्छ भने, बाल्यकालमा उनीहरुलाई केवल आफ्नो आवश्यक्ता पुरा गर्न मात्र सिकाइएको छ । त्यसैले ठूलो भएपछि कुनैपनि समस्याको हल गर्ने सामथ्र्य उनीहरुसँग हुँदैन । साथी बनाउने, समस्याको हल गर्ने कुरामा उनीहरुको ढंग पुग्दैन । यस्तो अवस्थामा उनीहरु निराश हुन पुग्छन् । यसले उनीहरुलाई हिनताबोधको सिकार बनाउँछ ।

अब के गर्ने त ? बच्चासँग कस्तो व्यवहार गर्ने ? कसरी उसलाई सही कुरा सिकाउने त ?

बच्चाको आत्मसम्मानमा ठेस पु¥याउनु हुँदैन । तर, यससँगै उनीहरुलाई मेहनत गरेर केही हासिल गर्न पनि सिकाउनुपर्छ । उनीहरुलाई ‘तिमी नै बिशेष हौ’ भन्ने कुराबाट मुक्त राख्नुपर्छ । उसलाई केही गर्न सिकाउनुपर्छ । समस्यासँग जुध्न, हल गर्न सिकाउनुपर्छ । उनलाई अर्काको पनि ख्याल राख्न सिकाउनुपर्छ । यी सबै गर्नका लागि नम्रता आवश्यक हुन्छ ।

बच्चालाई त्यसबेला मात्र तारिफ गरौं, जब उसले वास्तवमै राम्रो काम गरेको छ । कुनै उपलब्धी हासिल गरेको छ । काम गर्ने प्रयास गरेको छ ।

यदि बच्चाले खेलकुदमा प्रगति गरेको छ भने उसलाई ‘स्याबास्’ भन्नुहोस् । बच्चाले यदि पढाइमा कम अंक हासिल ग¥यो भने शिक्षकलाई गाली नगरौं । यस्तो गर्दा तपाईको बच्चा नम्र हुँदैन । बरु, बच्चालाई सम्झाउनुहोस् कि कसरी राम्रो अंक हासिल गर्ने ? जब उसले मिहेनत गरेर केही हासिल गर्छ, तब उसको तारिफ गर्नुहोस् ।

बच्चाले गल्ती गर्छ । स्वभाविक हो । यसको अर्थ यो होइन कि, बच्चाले गर्ने हरेक गल्तीलाई छुट दिनुपर्छ । अर्कोकुरा, बच्चाले गल्ती गर्दैपिछे उसलाई गाली गर्ने भन्ने पनि होइन ।

तर, बच्चाले जानीबुझी कुनै गल्ती गर्छ भने त्यो कुरा उसलाई महसुष गराउनुपर्छ कि, त्यो गलत हो । किनभने त्यस्ता गल्तीहरुमा माफी दिएर पुग्दैन, सुधार आवश्यक हुन्छ । नभए नराम्रो बानीको विकास हुन्छ ।

जस्तो कि, कुनै बच्चाले आफुलाई धेरै जान्ने ठान्छ । यति उसलाई सुधारिएन भने उनमा घमण्ड बढ्छ । दम्भ बढ्छ ।

कतिपय गल्तीहरुमा उनीहरुलाई छुट दिन सकिदैन । त्यो गल्ती महसुष गराउनुपर्छ । गल्ती सुधार्नका लागि मौका दिनुपर्छ । तर, यस्तो कुरा पिटेर, डर धम्की दिएर होइन । महसुष गराएर गराउनुपर्छ ।

बच्चाको सबै इच्छाहरु पुरा गर्दै जाने हो भने, त्यसले बच्चाको बानी बिग्रन्छ । उनीहरुले ठान्छन्, मैले जे सोच्छु, त्यो पुरा हुन्छ । बच्चाले मागेका ति सबै कुरा पुरा गरिदिन आवश्यक छैन । बरु, उसको आवश्यक्ता के हो, त्यो भने पुरा गरिदिनुपर्छ ।

अर्को कुरा, बच्चाको मागहरु पुरा गर्नका लागि अभिभावकलाई कति समस्या छ भन्ने कुरा बुझाउनुपर्छ । हरेक कुरा सजिलै उपलब्ध गराउनु हुँदैन । उनीहरुले मागेको कुरा पुरा गर्नका लागि अभिभावकले कसरी पैसा खर्च गर्नुपर्छ, त्यो पैसा कसरी कमाउनुपर्छ भन्ने कुरा बुझाउनुपर्छ ।

उनीहरुलाई यो कुरा महसुष गराउनुपर्छ कि, सोचेजति सबै कुरा पुरा हुँदैन । सबै कुरा ठिकठाक हुँदैन । कहिले काहिँ अभाव हुन्छ, समस्या हुन्छ । त्यस्ता समस्यासँग कसरी जुध्ने भन्ने कुरा सिकाउनुपर्छ । वा अनुभव गराउनुपर्छ ।

यस्तो कुरा नसोच्नुहोस् कि, बच्चाले कुनै झन्झट सामना गर्नु नपरोस् । किनभने त्यस्ता  झन्झटहरुबाट उनीहरुले धेरै कुरा सिक्छन् । झन्झट एवं समस्याको हल स्वयम्लाई खोज्न दिनुपर्छ ।

भनिन्छ, लिनुभन्दा बढी खुसी दिनुमा छ । अरुको दुख, कष्ट, पीर, समस्यालाई बुझ्ने र सहयोग गर्ने तत्परता हुनुपर्छ । र, यस्तो भावना बच्चामा पनि विकास गरिदिनुपर्छ ।

बच्चालाई सधै सहयोगी बन्न प्रेरित गरौं । दयालु बन्न प्रेरित गरौं । अर्काको दुखमा सहयोग गर्न सिकाऔं । यसका लागि तपाईं स्वयम् उदाहरण बन्नुपर्छ ।

बच्चालाई आफुमात्र सर्बोपरी भन्ने मानसिकता त्याग्न लगाउनुपर्छ । उनीहरुलाई व्यवहारिक जीवन कसरी बाँच्ने भन्ने कुरामा अभ्यस्त गराउनुपर्छ । दुखको सामना गर्ने, सुखमा रमाउने, अरुको सहयोग गर्ने बानीको विकास गराउनुपर्छ । अहंकार, दम्भ, झगडालु रवैया हटाउनुपर्छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस