२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

परिच्छेद ४ दफा ४१ अनुसार थापाको बढुवा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त

 निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त

असार २३ गते २०७७
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो । बरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको हो  । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । हाल थापा मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत थिए । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता लगायतका आधारमा थापालाई आईजीपीमा नियुक्त भएका हुन् ।

थापासँगै एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् । निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।

ज्ञवालीसहित एक एआईजी तारिणी प्रसाद लम्साल र उनका ब्याचका डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस