२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२४ असार , २०७७

मुखको स्वास्थ्य : हामी दिनहुँ गर्छौं यस्ता गल्ती

समग्र शरीर कसरी स्वस्थ हुन्छ ?
मुखको स्वास्थ्य : हामी दिनहुँ गर्छौं यस्ता गल्ती

समग्र शरीर कसरी स्वस्थ हुन्छ ? जब हामी सन्तुलित र सुपाच्य खानेकुरा सेवन गर्छौं । जब खाएको खानेकुरा राम्ररी पच्छ । जब खानेकुराबाट शरीरले पर्याप्त पोषक तत्व ग्रहण गर्छ ।

त्यसैले त चिकित्सक÷पोषणविद्हरु भन्छन्, ‘कस्तो खानेकुरा खाने भन्ने कुरा जति महत्वपूर्ण छ, कसरी खाने भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’ उनीहरुले खानेकुरा सेवन गर्दा हतार नगरी, राम्ररी चपाउनुपर्ने सुझाव दिन्छन् ।

कुनैपनि खानेकुरा पचाउने प्रक्रिया हाम्रो मुखबाट नै हुन्छ । यसका लागि मुख तथा दाँत सफा एवं बलियो हुनैपर्छ ।

यद्यपि मुखको सफाई र स्वास्थ्यबारे हामी उति ख्याल गर्दैनौं । कुनैपनि खाना खाइसकेपछि वा खाना खानुअघि हामी यस्ता गल्ती गरिरहेका हुन्छौं, जसले मुखलाई दुषित र फोहोर बनाउँछ । खासगरी खाना खाइसकेपछि दाँत एवं मुखको सफाई कसरी गर्ने भन्ने कुरामा हामी त्यती गंभिर हुँदैनौं ।

जबकी दाँत फोहोर वा कमजोर भएमा खानेकुरा राम्ररी चपाउन सकिदैन । साथसाथै खानामा दाँतमा रहेको किटाणु समेत खानामा मिसिन पुग्छ । यसले गर्दा हाम्रो पाचन यन्त्र नै खराब हुनपुग्छ । जब पाचन यन्त्र खराब हुन्छ, समग्र शरीर नै रोगी हुन्छ ।

धेरैजसोको बानी के हुन्छ भने, बिहान उठ्नसाथ ब्रस गर्ने । हामी देख्छौ, बिहान उठेर शौंच क्रिया गरेपछि धेरैले ब्रस गर्छन् ।

खासमा खाना खाइसकेपछि ब्रस गर्नुपर्छ । वा खाना खाए लगत्तै ब्रस गर्नुपर्छ । यसो गर्दा खानाको टुक्रा दाँतमा रहँदैन । दाँत सफा हुन्छ । तर, जब हामी बिहान दाँतमा ब्रस गर्छौ, त्यसबेलासम्म राती खाएको खाना सड्न थालेको हुन्छ । कुहिन थालेको हुन्छ । यसले ब्याक्टेरिया पैदा गरिसकेको हुन्छ ।

हाम्रो खानपान तालिका अनुसार बिहान र बेलुकी खाना खान्छौ । दिउसो नास्ता खाइन्छ । बिहान खाना खाइसकेपछि ब्रस गर्नुपर्छ र राती खाना खाइसकेपछि वा सुत्नुअघि ब्रस गर्नुपर्छ । खासमा ब्रस गर्नका लागि कतिपनि समय लाग्दैन । दुई-तीन मिनेट हो । यतिका समय हामीसँग काफी हुन्छ । अर्थात बिहान बेलुकी दाँत माझ्नका लागि हामीसँग समय अपुग छैन ।

मध्यन्हको खाजा खाइसकेपछि ब्रस गर्न संभव नहुन सक्छ । यस्तो अवस्थामा राम्ररी मुख कुल्ला गर्नुपर्छ ।

जब हामी ब्रस गर्छौ, दाँतमा रहेको फोहोर पखालिन्छ । यसले दाँत सफा हुन्छ, मुख स्वस्थ्य हुन्छ । सासको दुर्गन्ध हराउँछ । सम्पूर्ण स्वास्थ्यका लागि यो एकदमै जरुरी हुन्छ ।

खानेकुरा खाएपछि त्यसको केहि अंश दाँतको कुनामा अल्झिएर वा चेपिएर रहन्छ । त्यो जति समय रहन्छ, उत्तिनै बढी सड्ने संभावना हुन्छ । खानेकुरा सड्दै र गल्दै गएपछि त्यसले ब्याक्टेरिया पैदा हुन्छ । यसले दाँत र मुखलाई अस्वस्थ्यकर बनाइदिन्छ । त्यसैले दाँतको सफाई आवश्यक छ ।

जुनसुकै किसिमको ब्रसले दाँतको सफाई प्रभावकारी ढंगले गर्दैन । खासमा दाँतमा रहेको फोहोर सफा गर्नका लागि मुलायम ब्रस चाहिन्छ । खासमा नाइलनको रेशा भएको ब्रस ठिक हुन्छ । यसले गिजालाई असर नगरी दाँतमा चेपिएर रहेको खानेकुरा पखाल्न सहयोग गर्छ ।

हामी एउटै ब्रस त्यसबेलासम्म प्रयोग गर्छौ, जतिबेलासम्म त्यो काम नलाग्ने हुन्छ । तर, यस किसिमको हेलचेक्राइले हाम्रो दाँत नै काम नलाग्ने बनाइदिन्छ । त्यसैले टुथ ब्रस निश्चित अवधीपछि बदल्नुपर्छ । दुई वा तीन महिनामा ब्रस बदल्नै पर्छ ।

हामी सबैभन्दा ठूलो भूल त के गरिरहेका हुन्छौ भने सोझै हाम्रो मुखसँग सम्पर्कमा रहने ब्रस बाथरुममा राख्छौ । बाथरुम आफैमा सफा स्थान होइन । त्यहाँ ब्याक्टेरिया फैलने अधिक संभावना हुन्छ । यस्तो ठाउँमा ब्रस राखेपछि ब्रस पनि दुषित हुन्छ नै । त्यसैले ब्रसलाई सुरक्षित स्थानमा, सफा स्थानमा राख्नुपर्छ, जहाँ बाह्य किटाणुको प्रभाव नहोस् ।

ब्रस गर्नका लागि कस्तो पेस्ट प्रयोग गर्ने ? हामी विज्ञापन हेरेर त्यसको छिनोफानो गर्छौ । दाँत टिलिक्क टल्कने पेस्टको बिज्ञापन हेरेपछि त्यही पेस्ट हामीलाई उचित लाग्छ । यद्यपी पेस्ट खरिद गर्नुअघि त्यसको गुणस्तर हेर्नुपर्छ । टुथपेस्टमा लेखिएको निर्देशन अनुसार उचित किसिमको टुथपेस्ट किन्नुपर्छ । खासगरी फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ । यसले दाँतको प्राकृतिक इनामेललाई पनि सुरक्षित राख्छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस