३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२४ असार , २०७७

साउनमा माछामासु छाड्नैपर्छ ?

अन्धविश्वास कि विज्ञान ?
साउनमा माछामासु छाड्नैपर्छ ?

साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ एवं तामासी परिकार त्याग्नु उपयुक्त मानिन्छ । कतिपयले प्याज, लसुन जस्ता खानेकुरा समेत त्याग्ने गर्छन् ।

साउन महिनामा माछामासु त्याग्नु उपयुक्त मानिन्छ ? के यो धार्मिक आस्थासँग मात्र जोडिएको कुरा हो ?

खासमा धार्मिक विधी–विधानहरु जीवन पद्धतीसँग जोडिएको छ । साउन महिनामा माछामासु त्याग्नु वा सात्विक भोजन ग्रहण गर्नुको पछाडि पनि खास अर्थ छ ।

वर्षायाम, संक्रमण र पाचन तन्त्र

साउन मध्य वर्षाको सिजन हो । वर्षायाममा  संक्रामक रोग फैलने भय उच्च हुन्छ । यसबेला भाइरल ज्वरो, हैजा, मलेरिया, डेंगु, टाइफाइड, जन्डिस, चिकनगुनिया, पेटको संक्रमण, हेपटाइटिस जस्ता संक्रामक रोगले सताउन सक्छ ।

साथसाथै झिंगा, लामखुट्टे, साङ्ला आदिको प्रजनन दर बढ्ने वा फैलने भएकाले यिनै माध्यामबाट विभिन्न संक्रमण सर्ने जोखिम हुन्छ । अर्कोतिर खानेकुरा चाडै सड्ने, गल्ने हुन्छ । लामो समय राखिएको सलाद, बासी खानेकुरा एवं सागपात समेत अस्वस्थ्यकर हुनसक्छ ।

अर्कोतिर वर्षायाममा पिउने पानी दुषित हुन्छ । धेरैजसो स्थानमा दूषित पानीकै कारण हैजा फैलने गर्छ । त्यसैले वर्षायाममा शारीरिक स्वास्थ्य कायम राख्नु चुनौतीपूर्ण हुन्छ । यतिबेला हामी संक्रामक रोगको चपेटामा पर्न सक्छौं ।

त्यसो त यस वर्षायामको समयमा हाम्रो पाचन यन्त्र पनि कमजोर हुन्छ । खानेकुराहरु पचाउने क्षमतामा ह«ास आउँछ ।

यसरी खानपानकै कारण विभिन्न रोग लाग्ने भय भएकाले साउनमा उपवास वा सात्विक भोजन उपयुक्त हुने देखिन्छ । साउन महिनाको हरेक सोमबारलाई विशेष दिन मानिन्छ र त्यस दिन भगवान शिवको पूजा आराधाना गरिन्छ । यस दिन शरीर शुद्ध गरेर उपवास बस्ने गरिन्छ । यसर्थ यो महिनाभर चार वा पाँच पटकसम्म उपवास बस्ने प्रचलन छ ।

उपवास एक धार्मिक विधान हो । यद्यपि यो पाचन यन्त्रसँग जोडिएको एक वैज्ञानिक विधी पनि हो । उपवासको क्रममा जब हामी कुनैपनि अन्न ग्रहण गर्दैनौं, पाचन यन्त्रले विश्राम पाउँछ । पाचन प्रणाली सुधार्ने एवं बलियो बनाउने प्राकृतिक काइदा हो यो ।

उपवासको क्रममा वा भोकै बस्दा खानेकुराको तलतल लाग्न सक्छ, वेचैनी वा छटपटी हुनसक्छ । त्यसैले यतिबेला आफुलाई भक्ति–आराधनामा लगाइयो भने मन अन्यत्र भड्किदैन । आस्था एवं श्रद्धाले मनलाई शान्त र स्थिर राख्छ । त्यसैले पूजा–आराधना पनि शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको छ ।

अन्धविश्वास कि विज्ञान ?

साउनमा पूजाआजा गर्नु, शारीरिक शुद्धतामा ख्याल गर्नु, सात्विक खानपान अपनाउनु परम्परादेखि चलिआएको विधी–विधान हुन् । यसलाई धर्मसँग जोडिएका कारण कतिपयले अन्धविश्वास भनी तर्क गर्ने गरेका छन् । जबकी यि विधी विधानको पछाडि वैज्ञानिक अर्थ भेटिन्छ ।

वर्षायाममा संक्रामक रोग फैलने र पाचन यन्त्र समेत कमजोर हुने भएकाले यतिबेला सात्विक एवं सुपाच्य खानेकुरामा जोड दिइएको बुझिन्छ।

माछामासु छाड्नैपर्छ ?

माछामासु छाड्नैपर्छ भन्ने छैन । यद्यपि खानपानमा आवश्यक सर्तकता भने अपनाउनै पर्छ । वर्षायाममा खानेकुरा पोषण भन्दा पनि रोगको स्रोत बन्ने भय हुन्छ । यतिबेला तामासिक वा मसलेदार, चिल्लो–चाप्लो, मासुजन्य परिकारले पेटको संक्रमण एवं पाचन यन्त्रको समस्या निम्त्याउन सक्छ ।

कतिपयले माछामासु छाड्नै सक्दैनन् । यस्तो अवस्थामा मासुको मात्रा कम र साग–सब्जीको मात्रा बढाउन सकिन्छ ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस