२ आश्विन २०७७, शुक्रबार || 18 Sep 2020, Friday

पार्टी विभाजनको संघारमा

नेकपा स्थायी कमिटीको बैठक थप सात दिन सम्मका लागि स्थगित

कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ
नेकपा स्थायी कमिटीको बैठक थप सात दिन सम्मका लागि स्थगित

असार २६ गते २०७७

नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम थियो । बैठकमा ओली इतर समूहले फेरि पनि प्रधानमन्त्रीको राजीनामाको कुरा उठाउने तयारी गरेको थियो । नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिको लागि भनेर बैठक स्थगित गरिए पनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद छोड्नु पर्ने भनेर दबाव दिँदै आएको छ । कोरोनाको महामारी, बाढी पहिरोको बितण्डाको बेला नेकपा नेताहरु सत्ताको खेलमा लागेको भन्दै जनस्तरबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस