४ आश्विन २०७७, आईतवार || 20 Sep 2020, Sunday

२७ असार , २०७७

महाकाली किनारका बासिन्दाको चिन्ता : भारतले ढोका खोल्दिन्छ, हामी डुवानमा पर्छौं

पहाडमा पहिरोको चिन्ता
महाकाली किनारका बासिन्दाको चिन्ता : भारतले ढोका खोल्दिन्छ, हामी डुवानमा पर्छौं

कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का रामबहादुर बोहोराको महाकाली नदी किनारमा पसल छ । तर, उनी राति अबेरसम्म पसलमा बस्दैनन् । उनले ०७० सालमा आएको बाढीको त्रास भुल्न भ्याएका छैनन् । बोहरा अहिले पनि फेरि त्यस्तै नियति दोहोरिने हो कि भन्ने चिन्तामा छन् ।

‘त्योबेला पसलको पुरै सामान बगायो । मान्छे कसरी जोगिने भन्ने भयो,’ सात वर्ष पहिलेको पीडा सम्झँदै बोहोराले भने ‘फेरि त्यो दिन सम्झन चाहन्न ।’

महाकालीको किनारामा बोहरा मात्रै त्रसित छैनन् । भीमदत्त नगरपालिका भित्र रहेका ३ वटा वडाका हजारौँ नागरिक त्रसित छन् ।

‘ठूलो पानी परेपछि राति निद्रा लाग्दैन,’ डुबान क्षेत्रका स्थानीय पदमनाथ भन्छन्, ‘०७० सालको जस्तो बाढी आयो भने त खै के बाँचिएला र ।’

वि सं २०७० सालमा विना पूर्वसूचना भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आएको थियो । त्योबेला दार्चुला सदरमुकामका सयौँ घर तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौंको क्षति पुगेको थियो ।

महाकालीमा पानीको बहाव बढ्दा महाकाली तटीय क्षेत्रका सयौँ परिवार विस्थापित भए । ‘त्योबेला जस्तो बाढी त अहिलेसम्म कहिल्यै आएको छैन’ स्थानीय सुरेन्द्र बोहराले भने ‘हामीलाई त्यही चिन्ताले निद्रा लाग्दैन ।’

उनले तटबन्ध बलियो नबन्दा बाढीले बितन्डा मच्चाएको बताए । ‘०७० को बाढी पनि यही ठाउँबाट बस्तीमा पसेको हो,’ उनले भँगालो देखाउँदै भने, ‘त्यतिबेला खेतमा भरिएका बालुवा अझै हटाउन सकेको छैन ।’

भीमदत्त नगरपालिका वडा नम्बर १३ का अध्यक्ष लालबहादुर शाहीले विगतको जस्तो अवस्था आए त्योभन्दा धेरै क्षति पुग्ने बताए । ‘७ वर्ष पहिलेको जस्तो बाढी आयो भने त्योभन्दा धेरै ठूलो धन जनको क्षति हुन्छ’ उनले भने ‘अहिले धेरै ठाउँमा तटबन्ध गरिएको छ । त्यस्तो नहोला कि ?’ उनले भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ पुरै वडा डुबान क्षेत्र रहेको बताए ।

भिमदत्त नगरपालिका ३ वडा डुबान क्षेत्रमा पर्छ भने महाकाली नगरपालिका सबै वडा डुबान क्षेत्रमा पर्छन् । त्यसैमाथि खैराडीमा करिब १८ मिटर तटबन्ध भत्किएपछि स्थानीय थप त्रसित छन् ।

तीन तहका निर्वाचनमा यहाँका स्थानीयको पहिलो मुद्दा नै महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण हुनुपर्ने थियो । उम्मेदवारहरूले पनि यसैलाई आफ्नो घोषणापत्र र चुनावी प्रचारको मुख्य एजेन्डा बनाएका थिए । तर, उनीहरूले चासो नदिएकै कारण समस्या ज्युँका त्युँ रहेको स्थानीयको आरोप छ ।

वडा नम्बर १ का अध्यक्ष अर्जुनदत्त भट्ट पनि प्रदेश र सङ्घीय सरकारले चासो नदिएको बताउँछन् । ‘हामी सबैभन्दा जोखिमयुक्त क्षेत्रमा छौँ । यस वर्ष गतिलो तटबन्ध गरिएको छैन’ उनले भने ‘सबै डराएका छन् ।’

सन्धि नै समस्या

नेपाल र भारतबीच एकीकृत महाकाली सन्धिअनुसार भारतले एक किलोमिटर नहर निर्माण गरी कञ्चनपुरको महाकाली नगरपालिकालाई सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिन भारतीय पक्षले आलटाल गर्दै आएको छ ।

तर, वर्षाको समयमा बढी पानी हुँदा भारतले नेपाल तर्फको ढोका खोलिदिने गरेको छ । ‘हिउँदमा पुरै पानी लैजान्छन्,’ महाकाली नगरपालिका १ का अध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘वर्षामा धेरै पानी आउँदा महाकालीका ढोका खोल्दिन्छन् । हामी डुवानमा पर्छौं ।’

पहाडमा पहिरोको चिन्ता

शुक्रबार राति बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसी गाउँमा आएको पहिरोमा परी ६ जनाले ज्यान गुमाए । एक सातासम्म पनि एकजना अझै बेपत्ता छन् । प्रशासनले उनी नभेटिने भन्दै खोजी गर्नै छाडेको  छ ।

मल्लेसी घटना सेलाउन नपाउँदै आइतबार जयपृथ्वी नगरपालिका–७ सुवेडामा गएको पहिरोले एक घर बगाउँदा ११ वर्षीय बालकको ज्यान गयो ।

त्यसको अघिल्लो रात डोटीको पुर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु भयो । पछिल्लो एक सातामा घटेका यी प्रतिनिधि घटनामा मात्रै हुन् ।

अहिले सुदूरपश्चिमका तराइका २ जिल्लामा बाढी  र पहाडका ७ जिल्लामा पहिरोको प्रकोप बढेको छ ।

बाजुराको साफेँ मार्तडी सडक खण्डका ४ दिन पहिले गएको पहिरो अझै हटेको छैन । ‘पहाडी क्षेत्रमा सबै भन्दा ठूलो त्रास पहिरो हो’ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने ‘अहिले पनि उक्त सडक खण्डमा पहिरो गइरहेको छ ।’

पहिरोको जोखिमबारे अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था जियोहजार्ड इन्टरनेसनलले सन् २०१७ मा सार्वजनिक गरेको प्रतिवेदनमा बझाङ पहिरोको उच्च जोखिममा रहेको उल्लेख छ । बझाङमा ७ रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको अवस्थामा १२ वटा गाउँपालिकाको ६ हजार ६ सय ३० ठाउँमा पहिरो जाने र ठूलो धनजनको क्षति हुने तथ्याङ्क सो संस्थाले सार्वजनिक गरेको छ ।

छैन पर्याप्त पूर्वतयारी

नेपालको पूर्वी क्षेत्रमा बाढी र पहिरोले वितण्डा मच्चाइ रहेको छ ।तर, पश्चिम नेपालमा भने अहिले पनि बाढी र पहिरोको क्षति नियन्त्रण गर्न खासै पहल भएको पाइएको छैन । तीनै तहको सरकार बिच समन्वय अभावमा समस्या भइरहेको केहीको बुझाइ छ ।

केही दिन पहिले पनि नदीमा पानीको बहाव बढेर कैलालीमा ३७ दर्जन बढी घर चुवानमा परेको थियो । तत्कालीन अवस्थामा उनीहरुको उद्धारमा खटिएपनि दीर्घकालिन रूपमा यसको नियन्त्रणको लागि कुनै पहल नभएको नदी तटीय क्षेत्रका नागरिकहरू बताउँछन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने आवश्यक सम्पूर्ण तयारी भइरहेको बताउँछन् ।

‘उद्धारको पहिलो जिम्मेवारी स्थानीय तहको हो । उहाँहरू लागिरहनु भएको छ’ उनले भने ‘हामी पनि यसको तयारीमा छौँ । उद्धारको लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको समेत तयारी अवस्थामा छ ।’

कैलालीको  मोहना, कान्ध्रा र कर्णालीमा आउने बाढीले जिल्लाको पूर्वोत्तर क्षेत्र डुबानमा गर्ने गरेको छ ।

उता कञ्चनपुरमा महाकाली र दोदा नदीले प्रत्येक वर्ष स्थानीयलाई उठिबास गलाउने गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कञ्चनपुरमा मात्रै १२ हजार परिवार प्रभावित हुन सक्ने बताए । ‘महाकाली र दोदाको धेरै त्रास छ’ प्रजिअ खतिवडाले भने ‘हामी हाइअलर्ट छौँ ।’

पर्याप्त पूर्व तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट करौडौं रुपैयाँ बराबरको क्षति हुने गरेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नबालीको नोक्सानी हुँदै आएको छ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५र०७६ मा छ करोड ३४ लाख ५५ हजार तीन सय आठ रुपैयाँ बराबरको धनमाल क्षति पुगेको छ।

केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा सो वर्ष दुई सय छ वटा विपदका घटनामा ३२ जनाको मृत्यु हुनुका साथै दुई सय ६५ जना घाइते भएका थिए। विपद्बाट नौ हजार आठ सय ७० घरपरिवार प्रभावित भएका थिए भने ७२ घर पूर्णरूपमा र एक सय ३२ आंशिक रूपमा घरमा क्षतिग्रस्त भएका थिए।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस