३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२९ असार , २०७७

बालबच्चालाई बेवास्ता गर्नु ‘भावनात्मक दूर्व्यवहार’

दूर्व्यवहारको अनेक रुप
बालबच्चालाई बेवास्ता गर्नु ‘भावनात्मक दूर्व्यवहार’

गएको असारमा काठमाडौंका ११ बर्षे एक बालकले आत्महत्या गरे । उनले सुसाइड नोटमा लेखेका थिए, ‘म धेरै दुःखमा छु । मलाई कसैले माया गर्दैन….घरमा मलाई दाई भाउजुले हेला गर्ने । सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने ।’

बालबालिकामाथि गरिने दूर्व्यवहारको अनेक रुप छन् । कसैले उनीहरुलाई शारीरिक रुपमा त कसैले भावनात्मक रुपमा सताइरहेका हुन्छन् । उनीहरुलाई चलाउनु, जथाभावी छुनु, कुट्नु वा कुनै किसिमको याताना दिनु स्पष्ट देखिने दूर्व्यवहार हुन् । तर, बालबच्चाहरु यस किसिमको दूर्व्यवहारको मात्र सिकार भएका हुँदैनन्, उनीहरुमाथि भावनात्मक अत्याचार पनि भइरहेका हुन्छन् ।

जस्तो बालबच्चालाई गाली गर्नु, कराउनु एक किसिमको दूर्व्यवहार हो भने उनीहरुलाई माया नगर्नु, बेवास्ता गर्नु, ख्याल नराख्नु पनि दूव्यर्वहार हो ।

शारीरिक रुपमा वा देखिने दूव्र्यवहारको त उनीहरुले प्रतिकार गर्न सक्छन् । वा कुनै हिसाबले त्यसको बिरुद्ध बोल्न सक्छन् । तर, नदेखिने दूर्व्यवहारबारे उनीहरु के बोल्ने, कसरी बोल्ने ? उनीहरु आफ्नो पीडा स्पष्ट रुपमा व्यक्त गर्न सक्दैनन् ।

बालबच्चालाई आफ्नै आमाबुवा, आफन्तले बेवास्ता गर्न सक्छन् । उनीहरुको उचित ख्याल राख्दैनन् । विद्यालयमा समेत बालबच्चा यस्तै दूर्व्यवहार झेलिरहेका हुन्छन् । शिक्षक-शिक्षिकाले कतिपय बालबच्चालाई पूर्णत बेवास्ता गर्छन् । उनीहरुप्रति चासो एवं रुची राख्दैनन् । यसरी आमाबुवा, आफन्त वा शिक्षक-शिक्षिका कसैले पनि आफुलाई हेला गरिरहेका छन्, बेवास्ता गरिरहेका छन् भनेर बालबच्चाले महसुष गर्न सक्छन् । यसले उनीहरुलाई एकदमै पीडाबोध हुन्छ । मन खिन्न हुन्छ । तर, आफुमाथि के भइरहेको हो भन्ने कुनै भेउ पाउँदैनन् । न व्यक्त गर्न सक्छन्, न बिरोध गर्न नै ।

यसरी बालबच्चालाई हेला गर्दा, उनीहरुप्रति चासो र सरोकार नराख्दा, माया नगर्दा त्यो भावनात्मक अत्याचार हुनपुग्छ । यस किसिमको भावनात्मक अत्याचारले बालबच्चालाई हीनताबोध पैदा गराउँछ । आत्मविश्वास गुमाउँछन् । उत्साह र उमंग हराउँछ । उनीहरुमा भय र बेचैनी बढ्छ । उनीहरु चिन्तित र उदास हुन पुग्छन् । अन्ततः त्यसले उनीहरुमा डिप्रेसन पैदा गरिदिन्छ ।

बालबच्चासँग समान र सन्तुलिन व्यवहार गर्नु आवश्यक हुन्छ । उनीहरुप्रति चासो र रुची देखाउनुपर्छ । बालबच्चाको कुरा सुन्नुपर्छ । उनीहरुको भावना बुझ्नुपर्छ ।

बालबालिकामाथि हुने यस किसिमको दूर्व्यवहार घरभित्रै पनि हुनसक्छ । विद्यालयमा हुनसक्छ । आफन्त, परिवारकै नातेदार, इष्टमित्र, चिनेजानेका मान्छे जो कोहिले बच्चामाथि यस्तो अत्याचार गरिरहेका हुनसक्छन् । हामीलाई कति कुरा सामान्य लाग्छ, तर त्यसले बच्चामाथि गंभिर मानसिक असर परिरहेका हुन्छ ।

 बच्चाले किन भन्दैनन् ?

-बच्चाले आफुमाथि भइरहेको कुराबाट पीडाबोध गर्न सक्छन् तर, त्यसलाई अभिव्यक्त गर्न सक्दैनन् ।

-आफुमाथि ठूलाले के गरिरहेका छन् र त्यसको प्रतिकार कसरी गर्ने भन्ने जुक्ति हुँदैन ।

-आफुमाथि भएको अत्याचारबारे अरुले चासो राख्दैनन् वा आफ्नो कुरा पत्याउँदैनन् भन्ने भय हुन्छ ।

अध्ययनले के भन्छ ?

अध्ययनहरुमा के देखिएको छ भने यसरी बालबच्चालाई सताउनेमा  ९० प्रतिशत अपराधी निकट वा सन्बन्धित र नजिकका व्यक्ति हुन्छद्धन् । यसमा इष्टमित्र, परिवार, शिक्षक, ट्युसन शिक्षक, बेबी सिटर, भरपर्दो साथी हुनसक्छन् । ३० देखि ४० प्रतिशत बच्चा परिवारकै सदस्यबाट दूर्व्यवहारको शिकार हुन्छन् ।

दूर्व्यवहारको अनेक रुप

साना बच्चामाथि ठूला व्यक्तिले जानीबुझी शारीरिक र मासिक रुपले सताउने गर्छन् । गलत नियतले बच्चाको संवेदनसिल अंग छुने, चलाउने गर्छन् । बच्चालाई मानसिक रुपले दुख दिन्छन् । शारीरिक पीडा दिन्छन् । यस किसिमको दुर्व्यवहारका शिकार भएका बच्चाहरु साथी तथा सामान्य गतिविधीबाट टाढा रहन्छन् खेलकुदमा सहभागी हुँदैनन् । एक्लै बस्न रुचाउँछन् । उनीहरुको बानीमा परिवर्तन आउन सक्छ ।

घरेलु दुर्व्यवहार

यदि बच्चालाई आफन्त, नातेदार, चिनेजानेका व्यक्तिले कुनै हिसाबले नियन्त्रण गर्ने, चिढ्याउने, हिंस्रक धम्की दिने जस्ता ब्यवहार गर्न सक्छन् । यसलाई घरेलु दुर्व्यवहार भनिन्छ । यस्ता व्यक्तिले बच्चामाथि भावनात्मक, शारीरिक, यौनिक वा मनोवैज्ञानिक दुर्व्यवहार गर्न सक्छन् ।

यौनजन्य दुर्व्यवहार

कसैले बच्चासँग यौनको विषयमा खुला चर्चा, यौनसँग जोडिएको गतिविधि गर्छ भने यसमा सावधान हुनुपर्छ । बच्चामाथि नजानिदो हिसाबले यौनजन्य कृत्य गरिन सक्छ । यहि नै हो यौनजन्य दुर्व्यवहार ।

साइबर दुर्व्यवहार

बर्तमान समयमा साइबर दुर्व्यवहार गंभिर बिषय बनेको छ । चाहे त्यो सामाजिक संजाल होस् वा अनलाइन गेमिङ वा त मोवाइल फोन नै । यस माध्याबाट बच्चाहरुमा यौनजन्य, भावनात्मक र मनोवैज्ञनिक दुर्व्यवहार भइरहेको छ । अर्का व्यक्तिले बच्चालाई फोटो, भिडियो, हिंस्रक गेमबाट दुर्व्यवहार गर्न सक्छन् ।

भावनात्मक दुर्व्यवहार

नाबालिग बच्चालाई दुर्व्यवहार गर्ने यो सबैभन्दा खतरनाक र घिनलाग्दो तरिका हो । यसको सिकार भएका बच्चा मनोबैज्ञानिक हिसाबले कमजोर हुन्छन् । यसले उनीहरुको शारीरिक बिकासमा समेत असर पुग्छ । बच्चालाई घरमा एक्लै छाड्नु, उनीहरुको कुरालाई बेवास्ता गर्नु, धम्काउनु, अनावश्यक दुख दिनु भावनात्मक दुर्व्यवहारमा पर्छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस