२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

बैठक साउन २ गते

जनताले सुम्पिएका अभिभाराहरु पुरा गर्दै नेकपा पार्टी अगाडि बढ्छ : महासचिव विष्णु पौडेल

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान हुन्छन्,पार्टी एकता अक्षुण रहन्छ : नेकपा महासचिव विष्णु पौडेल
जनताले सुम्पिएका अभिभाराहरु पुरा गर्दै  नेकपा पार्टी अगाडि बढ्छ : महासचिव विष्णु पौडेल

असार ३१ गते २०७७

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ३ घन्टा भएको छलफलमा पार्टीमा देखिएका विवादबारे कुरा भए पनि कुनै सहमति भने हुन सकेन।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड साढे ११ बजे बालुवाटार पुगेका थिए भने सवा २ बजेसम्म बसेका थिए। दुई अध्यक्षको कुराकानी सौहार्दपूर्ण वातावरणमा भए पनि निचोड निस्कन बाँकी रहेको नेकपा महासचिव विष्णु पौडेलले बताए।

आज पनि दुई अध्यक्षबीच कुराकानी थियो। कुराकानी सौहार्दपूर्ण वातावरणमा भयो। कुराकानी जारी छ, उनले भने, भोलि पनि कुराकानी हुन्छ। उहाँहरू निचोडमा पुगिसक्नुभएको छैन। सहमतिका लागि प्रयास जारी छ।

महासचिव पौडेलले दुई अध्यक्षको छलफलले पार्टीभित्र देखिएका विवाद समाधान हुनेमा आफू विश्वस्त रहेको बताए।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या समाधान हुन्छन्। पार्टी एकता अक्षुण रहन्छ, उनले भने,जनताले सुम्पिएका अभिभाराहरु पुरा गर्दै पार्टी अगाडि बढ्छ।

विवादका कारण नेकपा स्थायी समिति बैठक बस्न सकेको छैन। सहमतिको प्रयासका लागि गत असार १८ गते स्थगित गरिएको बैठक पटक-पटक स्थगित भइसकेको छ। अर्को बैठक साउन २ गतेका लागि डाकिएको छ।

प्रतिक्रिया दिनुहोस