२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

६ साउन , २०७७

पशुपति क्षेत्रको नयाँ गुरुयोजना : सिफलसम्म बस्ती खाली गराइने !

स्थानीयबासीको विरोध
पशुपति क्षेत्रको नयाँ गुरुयोजना : सिफलसम्म बस्ती खाली गराइने !

पशुपति क्षेत्र विकास कोषले सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ ।

गत पौष १९ गते कोषबाट पारित गरी मन्त्रालय पठाइएको सो गुरुयोजनालाई मन्त्रालयले संशोधनका लागि फेरि कोषमा फिर्ता गरेको थियो ।

गत साता सो संशोधनसहितको अवधारणा मन्त्रालयमा पठाइएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । पठाउन बाँकी ड्रइङ डिजाइनका केही अंशहरु पनि एक–दुई दिनमा बुझाउने उनको भनाइ छ ।

कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो । १० वर्षे कार्यक्रमसहित २०५८ सालदेखि लागू भएको सो गुरुयोजनाका लागि २ अर्ब ३ करोड रूपैयाँको लागत अनुमान गरिएको थियो । ३ चरणमा सम्पन्न भएको सो योजनाको अहिलेसम्म प्रगति र खर्चको समीक्षा भएको छैन ।

पुरानो योजनाको समीक्षा नगरी नयाँ गुरुयोजना तयार पारिएको हो । नयाँ योजनाले पहिलो १५ वर्षमा ३३ अर्ब रूपैयाँ खर्च गर्ने योजना बनाएको छ ।

नयाँ गुरुयोजनालाई मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी मन्त्रिपरिषदमा पठाउने छ । मन्त्रिपरिषद्को सम्बन्धित समितिले यसलाई पारित गरेपछि गुरुयोजनाले पूर्णता पाउने छ ।

सिफलसम्मको बस्ती खाली गराइने

कोषले तयार पारेको १०० वर्षे गुरुयोजनाले कालान्तरमा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउनेदेखि चक्रपथलाई बौद्धमा सार्नेसम्मको योजना समेटेको छ ।

पशुपति मन्दिरसँग सम्बन्धित रहेका सिफलसम्मका सम्पदाको संरक्षणका लागि त्यहाँको बस्ती हटाउने रणनीति लिइएको कोषका कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।

अहिलेको चक्रपथअन्तर्गत पर्ने चाबहिलदेखि एयरपोर्टसम्मको बाटोलाई सम्पदा मार्गको रूपमा विकास गरी ठूला सवारीलाई निषेध गर्ने योजना छ । चक्रपथलाई भने कोटेश्वरबाट जडीबुटी हुँदै बौद्धबाट लगिने भनिएको छ । बौद्धनाथ महाचैत्यलाई समेत चक्रपथभित्र पार्ने गरी सडक बनाउने गुरुयोजनामा उल्लेख छ ।

नयाँ गुरुयोजनाले वाग्मती नदीको शुद्धीकरणलाई पनि प्राथमिकतामा राखेको छ । गुह्येश्वरी मन्दिर र त्रिभुवन विमानस्थलको बीचमा पर्ने कोषको जग्गामा पोखरी निर्माण गरेर पानी सञ्चय गरिने छ ।

वाग्मतीमा पानीको प्रवाह कम हुँदा त्यही पोखरीको पानी हालेर वाग्मती स्वच्छ बनाउने योजना छ । बिहान र अपराह्न गरी दिनको दुईपटक त्यहाँ सञ्चय भएको पानीलाई वाग्मतीमा छाडिने छ । यसबाट वाग्मतीमा रहेको फोहोर बगाएर नदी सफा राख्न सकिने विश्वास कोषको छ ।

त्यस्तै, दर्शन पथको निर्माणलाई पनि गुरुयोजनाले प्राथमिकता दिएको छ । अहिले पानी पर्दा दर्शनार्थीले दुख झेल्नुपर्ने समस्या समाधानका लागि छुट्टै पथ निर्माण गर्ने भनिएको हो । यसले पशुपति क्षेत्रका सबै सम्पदालाई समेट्नेछ ।

‘अहिले पशुपति जाने धेरैलाई कहाँ कुन मन्दिर छन् भन्ने जानकारीसमेत हुँदैन,’ खतिवडाले अनलाइनखबरसँग भने ‘दर्शन पथको निर्माणपछि कुन मन्दिरको दर्शन पहिले गर्ने र कुनको पछि गर्ने भन्नेमा दोधार हुने छैन ।’

अहिले दर्शनार्थीहरूले पशुपति क्षेत्रमा बढीमा १५ मिनेट मात्रै बिताउने गरेका छन् । अब यहाँ आकर्षण थपेर कम्तीमा ३ घण्टासम्म पशुपतिमा रमाउन र दर्शन गर्न सक्नेगरी योजना तय भएको कोषले जनाएको छ । यसका लागि पशुपति क्षेत्रमा रहने जीवजन्तु, चराचुरुङ्गी आदिको व्यवस्थापनका लागि समेत योजना तयार पारिएको छ ।

पशुपति आउने साधु र नागाहरूलाई व्यवस्थित गर्न अलग्गै स्थानको व्यवस्था गरिने छ । नागालाई नयाँ गुरुयोजनाले पनि पशुपतिको शोभाको रूपमा परिभाषित गरेको छ । मन्दिरमा आउने भक्तजनलाई असहज नहोस् भन्नका लागि उनीहरूलाई मन्दिरको भित्री भागमा जान नदिने गरी छुट्टै व्यवस्था गर्न लागिएको छ । नागाबाहेकका साधकको लागि समेत बस्नको लागि छुट्टै ठाउँको विकास गर्ने तयारी कोषको छ ।

अन्य योजना

पशुपति क्षेत्रलाई योग, ध्यान र तपश्चर्याको केन्द्रका रूपमा विकसित गरिने गुरुयोजनामा उल्लेख छ । यही क्षेत्रलाई दीर्घकालमा शिव र शक्तिसँग सम्बन्धित ‘निगम’ र ‘आगम’को अध्ययन एवं अनुसन्धानको केन्द्र बनाउने उल्लेख छ ।

योजनाले पशुपति विश्वविद्यालय, वैदिक महाविद्यालयदेखि सुविधासम्पन्न संग्रहालयको समेत परिकल्पना गरेको छ । पशुपति मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाको संरक्षण, यज्ञशाला निर्माण र धार्मिक कार्य सम्पादन स्थल निर्माण गर्ने योजना प्रस्तावित अवधारणामा छ ।

गुह्येश्वरी मन्दिर परिसरमा एउटा सुविधासम्पन्न संग्रहालयको निर्माण गरिने छ । यस बाहेक मृगस्थलीमा सन्तआश्रम, ध्यान योग साधना केन्द्र र तपश्चर्यास्थलको निर्माण गरिनेछ ।

त्यस्तै, गौशाला–भुवनेश्वरी सडकदेखि पश्चिमतर्फ वेदविद्यालय, २ लाख वटासम्म पुस्तक अट्ने पुस्तकालय र पशुपति अध्ययन केन्द्र निर्माण गर्ने योजनामा उल्लेख छ । गौशालाको पश्चिमतर्फ भण्डारखाल–जयवागेश्वरी मन्दिरलाई पुरातात्विक क्षेत्र घोषणा गर्ने र सो क्षेत्रमा ऐतिहासिक बगैँचा बनाउने योजना पनि समेटिएको छ ।

मंगलागौरी क्षेत्रमा विद्युतीय शवदाह गृह, अग्निहोत्र शाला, सुविधासम्पन्न सभा कक्ष आदिको विकास गर्ने पनि योजनामा उल्लेख छ ।

प्राथमिकताप्राप्त कार्यक्रम

गुरुयोजनाका विविध कार्यक्रममध्ये पनि २८ वटा कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । आवश्यक सुविधासहितको पशुपति दर्शन पथ निर्माणलाई गुरुयोजनाको १०० वर्षे रणनीतिमध्ये पनि प्राथमिकतामा राखिएको छ । जुन काम आगामी १५ वर्षभित्रै सक्ने योजना छ ।

त्यस्तै, पशुपति मन्दिरको प्राङ्गण विस्तार, गुह्येश्वरी मन्दिरको प्राङ्गण विस्तार, विश्वरूपा मन्दिर र चौघेरा सत्तल, पञ्चदेवल मन्दिर तथा चौघेरा सत्तल पुनर्निर्माण जस्ता कार्यक्रमहरू प्राथमिकतामा रहेका छन् ।

पशुपति अध्ययन केन्द्रको निर्माण, महास्नान घरमा पशुपति संग्रहालय स्थापना, मृगस्थली क्षेत्र भू–संरक्षण तथा हरियाली प्रवद्र्धन र डेक पार्किङ निर्माण पनि प्राथमिकतामा परेको छ ।

अर्काेतर्फ, भुवनेश्वरी र दक्षिणामूर्तिलाई दाहिने पारेर प्रदक्षिणा मार्ग निर्माण गर्ने र आवश्यक सुविधासहितको अग्निहोत्र शाला निर्माण गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।

पशुपतिको चार किल्ला

प्रस्तावित गुरुयोजनाअनुसार पशुपति क्षेत्रको चारकिल्ला पूर्वतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्ग, पश्चिममा धोबीखोलाको रातो पुल, कालोपुल, हाँडीगाउँबाट चाबहिल गणेशस्थान जोड्ने बाटोमा पर्ने धोबीखोलाको पुल हुँदै धुम्बाराही चक्रपथमा रहेको धोबीखोलाको पुलसम्म रहेको छ ।

यसैगरि, उत्तरमा धुम्बाराही चक्रपथ रहेको धोबीखोलाको पुलबाट चक्रपथ, चावहिल चोक हुँदै भगवानस्थानबाट गौरीघाट जाने कच्ची बाटो भएर गौरीघाट र गौरीघाटबाट वाग्मती नदी हुँदै गुह्येश्वरीघाटको उत्तरतर्फको वाग्मतीबाट कालीप्रसाद गणको उत्तर सिमाना हुँदै त्रिभुवन विमानस्थलको पुरानो धावन मार्गभित्रको क्षेत्रलाई अब पशुपति क्षेत्रको रूपमा चिनाउने प्रस्ताव गुरुयोजनामा छ ।

पशुपति विश्वविद्यालय बनाउने लक्ष्य

गुरुयोजनाले पशुपति विश्वविद्यालयको योजनालाई पनि अघि सारेको छ । यस विश्वविद्यालयअन्तर्गत् पशुपति आयुर्विज्ञान प्रतिष्ठान, पशुपति वैदिक महाविद्यालय, पशुपति नृत्य तथा संगीत विद्यालय, पशुपति योग तथा प्राकृतिक चिकित्सा अध्ययन केन्द्र, पशुपति तुलनात्मक दर्शन तथा धर्मशास्त्र अध्ययन केन्द्र तथा पशुपति आगम अध्ययन केन्द्रमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

यस विश्वविद्यालयले पूर्वीय ज्ञान र परम्परालाई बचाउँदै वैदिक ज्ञानका लागि एउटा केन्द्रका रूपमा पशुपतिलाई विकास गराउने लक्ष्य पनि लिएको छ ।

पशुपन्छी संरक्षण

पशुपति क्षेत्रमा अहिले २७ प्रकारका चराहरूको बसोबास छ । गुरुयोजनाले यी चराहरूको बसोबासको ग्यारेन्टी गर्दै थप प्रजातिको चरालाई लोभ्याउने गरी वातावरण तयार पार्ने रणनीति तयार पारेको छ ।

त्यस्तै, पशुपति क्षेत्रमा अहिले स्तनधारी जनावरहरू १४ प्रकारका छन् । ११ प्रजातिको पुतलीमात्र यस क्षेत्रमा पाउने गरिन्छ । १३ सयभन्दा बढि बाँदरहरू पशुपति क्षेत्रमा पाइन्छन् ।

पूर्व सदस्यसचिव भन्छन् : निबन्धजस्तो भयो

कोषका पूर्व सदस्यसचिव डा.गोविन्द टण्डन भने कोषले तयार पारेको यो गुरूयोजनालाई एउटा सुन्दर निबन्धको संज्ञा दिन्छन् । निबन्ध र गुरुयोजनामा ठूलो अन्तर रहेको भन्दै सरकारले निबन्धलाई गुरुयोजना भनेर पारित गर्न नहुने तर्क गर्छन् ।

अनलाइनखबरसँगको कुराकानीमा टण्डनले भने, ‘गुरुयोजनाको लागि नक्सा सहितको एउटा स्पष्ट मार्गचित्र आवश्यक पर्छ । तर यसमा कुनै एउटा व्यक्तिलाई मन लागेको कुरा अवधारणाको रूपमा उल्लेख गरिएको छ । त्यसैले यसलाई गुरुयोजना भन्न मिल्दैन ।’

वास्तुविद् केन्जो ताङ्गेले लुम्बिनी क्षेत्रको गुरुयोजना तयार पारेको पारेको स्मरण गरे । २०५८ सालको गुरुयोजनाको अहिलेसम्म समीक्षा नभएको अवस्थामा फेरि ३३ अर्ब रुपैयाँको यो अवधारणा जानकारहरूसँग छलफल नगरी ल्याइएको उनको आरोप छ ।

स्थानीयबासीको विरोध

कोषले तयार पारेको गुरुयोजनाको अवधारणालाई स्थानीयवासीले विरोध गरेका छन् । ड्रोइङ डिजाइनको बारेमा छलफल गर्न बोलाइएको आइतबारको बैठकलाई स्थानीयले बहिस्कार गरे ।

आइतबार नै वाग्मती प्रदेशको प्रदेश सभा बैठकमा पशुपति क्षेत्रका बासिन्दा समेत रहेका नरोत्तम वैद्यले त्यहाँको बस्ती उठाउने योजना बनाएकोप्रति विरोध जनाएका थिए ।

‘बस्ती रहे आस्था बढ्छ, तर कोषको यो गुरुयोजनाले संरचनाको मात्रै विकास गरेर बस्ती उठाउने विषय समेटेको छ,’ वैद्यले प्रदेश सभामा भनेका छन् ।

पशुपति क्षेत्रमा धेरै पुरानो बस्ती रहेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने, गुरुयोजनामा सम्बन्धित क्षेत्रका विज्ञ एवं स्थानीयको समेत सहभागितामा रणनीतिहरू तयार पार्नुपर्ने जस्ता माग राख्नै स्थानीयले विरोध जनाएका हुन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस