३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

७ साउन , २०७७

हनुमन्ते खोलो : हिउँदमा मान्छेले मिच्छन्, बर्खामा बाढीले मिच्छ

वर्षामा जब हनुमन्ते बौलाउँछ
हनुमन्ते खोलो : हिउँदमा मान्छेले मिच्छन्, बर्खामा बाढीले मिच्छ

बर्खा लाग्यो कि भक्तपुर नगरपालिकामा प्रत्येक वर्ष डुवानको जोखिम बढ्छ । खास गरी हनुमन्ते खोलामा आउने बाढीका कारण यहाँका बासिन्दाले सधैं त्रासमा बाँच्नुपरेको छ ।

दुई वर्षअघि आएको बाढीले बालिनाली र भौतिक संरचनामा धेरै क्षति पुर्‍याएको थियो । गत वर्ष भने त्यो स्वरुपको बाढी आएन । यस वर्ष फेरि भक्तपुरबासीमा त्रास बढेको छ ।

अविरल वर्षाका कारण हनुमन्ते खोलाको बहाव बढेपछि सोमबार मात्रै भक्तपुर नगरपालिका – ३ का करिव तीन दर्जन घर डुबानमा परेका छन् । हनुमन्ते खोला छेउको राममन्दिर, वाराहीस्थानदेखि सल्लाहारीसम्मका भक्तपुर १, ३ र ४ वडाका करिव एक हजार रोपनी धान खेत डुवानमा परेको भक्तपुर ३ का अध्यक्ष रामकृष्ण रोराले जानकारी दिए ।

अखिर हरेक वर्ष किन डुवानको खतरामा हुन्छ त भक्तपुर ? यो थाहा पाउनुभन्दा पहिलो भक्तपुरका कुन–कुन भाग डुवानको जोखिममा छन् भन्नेबारे बुझौँ ।

वर्षामा जब हनुमन्ते बौलाउँछ

हनुमन्ते खोला भक्तुपर नगरपालिकाका ९, ८, ६, ७, ५, ४ र १ वडालाई छोएर बग्ने गर्छ । यी वडामा करिव एक हजार रोपनीभन्दा बढी खेतियोग्य जमिन र बस्ती डुवानको चपेटामा पर्ने गर्छ ।

भक्तपुर –९, ब्रह्मायिणीबाट हनुमन्ते खोलाको बाढी पस्न शुरु गर्छ । यो हनुमन्ते खोलाको सुरुवाती स्थान हो । ब्रह्मायिणीको बस्ती सुरक्षित नै भए पनि खेत र सम्पदा क्षेत्र भने डुवानमा पर्ने गरेका छन् ।

ब्रह्मायिणीका कृषक लक्ष्मीकुमार सैंजुले अनलाइनखबरसँग भने, ‘मेरो खेत चारपटक डुवानमा परिसक्यो । डुवानमा परेपछि आधा पनि धान उत्पादन हुँदैन ।’

ब्रह्मायिणीमा सैंजुको करिव ६ रोपनी जग्गा छ । बाढी पस्यो भने खेतमा माटो भरिएर धान उत्पादन अत्यन्त न्यून हुने उनको भनाइ छ । ‘योभन्दा तलको बस्ती नै डुबानमा पर्छ’, सैंजुले भने, ‘परारको साल ब्रह्मायिणी पुलभन्दा तलका घरहरु डुबे । बाढीले कुखुरा फार्महरु समेत बगाएर लगेको थियो ।’

ब्रह्मायिणीको करिव ५० देखि एक सय रोपनी खेतीयोग्य जमिन डुवानमा पर्ने भक्तपुर नगरपालिकाका निर्माण समितिका संयोजक उमेश कौवालले जानकारी दिए ।

भक्तपुरको लिवाली क्षेत्र पनि डुवानमा पर्ने गरेको छ । लिवालीमा खोलाको करिव पचास मिटर क्षेत्र डुवानमा पर्ने गरेको उमेश बताउँछन् ।

त्यसपछि हनुमन्ते खोला बग्दै हनुमानघाटमा आइपुग्छ । खास गरी हनुमानघाट हुँदै यो खोला बग्ने भएकाले नै यो खोलाको नाम हनुमन्ते भनिएको हनुमानघाटका स्थानीय रामकृष्ण शाही बताउँछन् ।

शाहीले अनलाइखबरसँग भने, ‘यहाँ वर्षेनी डुवानमा पर्ने समस्या त छैन, तर, पहिलेदेखि नै दुईदेखि पाँच वर्षको अन्तरालमा बाढी आइरहेकै हुन्छ ।’ यहाँ खेतीभन्दा पनि सम्पदा क्षेत्र अलि बढी डुब्ने उनी बताउँछन् ।

हनमानघाटपछि हनुमन्ते खोलो भक्तपुर नगरपालिका– ७, भीसेनस्थानको सिद्धि स्मृति महिला तथा बाल अस्पतालनजिकै भएर बग्छ । यो अस्पताल खोलाभन्दा ३० फिटको दुरीमा छ । प्रत्येक वर्ष हनुमन्तेमा आएको बाढीले यसलाई जोखिममा पार्ने गर्छ ।

अस्पतालका डाइरेक्टर डा. अनिल राजभण्डारीले भने, ०७२ र ०७५ मा आएको बाढी अस्पतालमा पसेपछि करिव तीन करोड रुपैयाँको नोक्सान बेहोर्नुपरेको थियो ।’

त्यसबेला हस्पिटलमा पाँच फिटमाथिसम्म पानी पस्दा फार्मेसी, इमर्जेन्सी, ओपीडीका मेडिकल सामग्रीहरु बिग्रिएका थिए । बर्खायामसँगै अस्पतालले अहिले महत्वपूर्ण सामग्रीलाई दोस्रो तलामा सारिसकेको छ ।

‘हनुमन्ते खोलाको जग्गामा भौतिक निर्माण गरी खोलाको बहाव बिगारेपछि आफूहरु बाढीको मारमा पर्नुपरेको राजभण्डारी बताउँछन् । उनी भन्छन्, ‘बाढी आयो कि हामी सधैं त्रासमा हुन्छौँ ।’भीसेनस्थानपछि हनुमन्ते खोलो चेपिङघाट एरिया हुँदै बग्छ । त्यहाँ राम मन्दिर क्षेत्र हुँदै मंगलतीर्थ डुबानमा पर्ने गरेको छ । उमेशका अनुसार मंगलतीर्थ क्षेत्र सबैभन्दा बढी जोखिममा पर्ने ठाउँ हो । सुनाखरी र सल्लाघारीवासी पनि डुवानको उस्तै मारमा पर्ने गरेका छन् ।

हनुमन्तेमा आएको बाढीबाट पछिल्लो दशकमा भने कुनै पनि मानवीय क्षति नभएको स्थानीय बताउँछन् । भक्तपुर ७ का अध्यक्ष समेत रहेका उमेशले भने, ‘खेतीबाली नष्ट गरे पनि मानवीय क्षती चाहिँ भएको छैन । अहिले पनि हामीले बाढी प्रभावित क्षेत्रमा भएका मानिसलाई दोस्रो तलामा बस्न आग्रह गरेका छौँ, महत्वपूर्ण सामाग्रीलाई भूँइ तलामा नराख्न भनेका छौँ ।’

हनुमन्ते खोला कति ठूलो ?

अरु समयमा कुलोजस्तो भए पनि वर्षायाममा भने हनुमन्तेले उग्र रुप लिने गर्छ । नगरकोट खोला र चक्कु खोला मिसिँदा हनुमन्तेको बहाव बढ्ने गर्छ । सूर्यविनायक क्षेत्रबाट आउने भेल पनि हनुमन्तेमै मिसिन्छ ।

भक्तपुरको दक्षिणपूर्वी क्षेत्रबाट आउने भेलको संगम पनि हनुमन्ते नै हो । यसले गर्दा बेला–बेला जगातीको क्षेत्र पनि डुवानमा पर्ने गर्छ ।

हनुमन्तेमा उहिल्यैदेखि बाढी आउने गर्थ्यो। तर, पहिले र अहिले आउने बाढीमा निकै अन्तर रहेको हनुमानघाटका रामकृष्ण बताउँछन् । उनी भन्छन्, ‘पहिले बाढी आए पनि छोटो समयमै विलाउँथ्यो । दाउराहरु बगाएर ल्याउँथ्यो । तर, अहिले भने माटो नै बगाएर ल्याउने गर्छ ।’

खोलामा माटो भरिँदा बस्ती र खेतलाई खतरामा पार्ने गरेको उनको भनाइ छ । अहिले उच्च भेगमा अव्यवस्थित प्लटिङ र मोटरबाटो विस्तारका कारणले पनि यस्तो हुन गएको उमेश बताउँछन् ।

हिउँदमा मान्छेले मिच्छन् !

पछिल्लो दुई दशकदेखि हनुमन्तेमा आउने बाढीको पानीमा पनि बृद्धि भएको जलाधारविद् मधुकर उपाध्याय बताउँछन् । उनको निश्कर्ष छ – हनुमन्तेमा दुईतर्फ पर्खाल लगाएर खोलालाई साँघुर्‍याइयो र उच्च भागमा भारी मात्रामा बालुवा निकासी भयो ।

नगरकोट र अन्य क्षेत्रमा बगेर आउने पानीलाई बालुवाका ढिस्कोहरुले पनि रोकेर राख्ने गरेको उनी बताउँछन् । तर, बालुवाको चरम निकासीपछि विनारोकतोक भेलबाढी तीब्र गतिमा हनुमन्ते खोलामा मिसिन आइपुग्ने उनको भनाइ छ ।

मधुकर थप्छन्, ‘पहिले पहाडबाट हनुमन्तेमा पानी झर्नका लागि आधा घण्टा लाग्थ्यो भने अहिले २० मिनेटमै झर्ने गर्छ । जसकारण, खोलो तेज गतिमा बग्छ र क्षति पुर्‍याउने गर्छ ।’

खोलामा पर्खाल लगाउँदा पानी छरिएर बग्न पाउँदैन, जसले गर्दा पनि बाढीको तेज बढी हुने मधुकरको तर्क छ । ‘भूउपयोगमा ठूलो परिवर्तन आयो । खेतमा बस्ती बसाउन थाल्यौं र खोलाको दुईतर्फ ठाडो पर्खाल उठाएर साघुर्‍यायौँ’, उनले भने, ‘यसले गर्दा खेतमा पनि पानी रोकिन पाएन । अर्कोतर्फ पर्खाल नाघेर ठूलो क्षति पुर्‍याउन थाल्यो ।’

सम्भावित जोखिमबाट बच्नका लागि खोलालाई पर्खाल लगाएर साँघुरो बनाउन नहुने मधुकरको सझाव छ ।

पहिले खोलाको किनारा ‘यु’ वा ‘भी’ आकारको हुने गर्दा पानी खेतमा छरपस्ट हुने र केहीवेरमै बाढी घटेर ठूलो समस्या नआउने उनी बताउँछन् ।

खोलासँग यहाँका मानिसहरु नडराएको वडाध्यक्ष उमेश बताउँछन् । भन्छन्, ‘राधेराधे घर बनाउने क्षेत्र नै होइन । साथै उच्च क्षेत्रमा अव्यवस्थित प्लटिङ र सडक निर्माणको कारण पनि यस्तो समस्या आएको छ ।’

के छ सावधानी ?

बाढीको सम्भावित क्षतीलाई कम गर्नका लागि हनुमन्ते खोलामा १४ फिटसम्म फराकिलो पारी पर्खाल लगाउन थालेको नगरपालिकाका जनप्रतिनिधि बताउँछन् । यसका लागि गत वर्ष ५० लाख र यस वर्ष २५ लाख रुपैयाँको बजेट छुट्याएको नगपालिकाका निर्माण समितिका संयोजक उमेशले बताए ।

उनका अनुसार सल्लाघारीदेखि राधेराधे पुल क्षेत्रमा पर्खाल बनाइएको छ । त्यस्तै, हनुमानघाट, मंगलतीर्थदेखि सुनाखरी क्षेत्रमा पनि पर्खाल उठाइएको छ । कतिपय ठाउँमा खोलाको माटो निकालेर डिलमा राखेर उचाइ बढाएको उनले बताए ।

बाढीमा पसेकालाई उद्धार गर्नका लागि नगरपालिकासँग सातवटा डुंगासमेत तयारी अवस्थामा राखिएको र करिव तीनवटा स्थानीय समूहलाई उद्धार सम्बन्धी तालिमसमेत दिइएको पनि उमेशले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘सम्भावित क्षेत्रका मानिसलाई सचेत हुनका लागि आग्रह गरेका छौँ । र खोलाको निश्चित दुरीसम्म कच्ची घर बनाउन अनुमति दिएका छैनौँ ।’

यस वर्ष असार कटिसकेपछि भक्तपुरबासीको मन अलि हलुंगो भएको थियो । तर, साउन शुरुभएसँगै निरन्तर झरी पर्दा यस वर्ष पनि खतराको घण्टी बज्न शुरु भएको छ र स्थानीय त्रसित देखिएका छन् ।

आखिर, हनुमन्ते खोलाको दुश्चक्र नै यसैगरी चल्दै आएको छ : बर्खाभरि खोलो खेत/बस्तीमा पस्छ र मान्छेलाई मिच्छ । हिउँद लागेपछि मान्छेले खोलोलाई मिच्न थालिहाल्छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस