१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

७ साउन , २०७७

‘नेपालमा अहिलेभन्दा छिटो र सस्तोमा कोरोना परीक्षण गर्न सकिन्छ’

डाइरेक्ट पीसीआर कसरी गरिन्छ, अन्य टेस्टको तुलनामा यसको विश्वसनीयता कस्तो छ ?
‘नेपालमा अहिलेभन्दा छिटो र सस्तोमा कोरोना परीक्षण गर्न सकिन्छ’

वैशाखको अन्तिम साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पुल टेस्टिङ’ र ‘डाइरेक्ट पीसीआर’ गर्ने अन्तिम तयारी गरेको बताएको थियो । त्यसको केही समयमै ‘पुल टेस्टिङ’ विधिबाट केही हजार टेस्ट गरियो । संक्रमित बढ्न थालेपछि प्रभावकारी नहुने भन्दै पुल टेस्टिङ रोकियो । अहिले गरिरहेको टेस्टभन्दा सस्तो र छिटो मानिएको डाइरेक्ट पीसीआर विधिबाट गरिने परीक्षण भने नेपालमा अहिलेसम्म हुन सकेन ।

स्वास्थ्य मन्त्रालयका केही अधिकारी ‘रिएजेन्ट’ कमिसनको चक्करमा लागेर डाइरेक्ट पीसीआर भ्यालिडेसन नगरिएको आरोप लागेको छ । रिएजेन्टको अभाव हुँदा र देशभरको ल्याबमा नमुना होल्ड हुँदा पनि डाइरेक्ट पीसीआर भ्यालिडेट नगरेको उनको दाबी छ । डाइरेक्ट पीसीआर गर्नको लागि रिएजेन्ट चाहिन्न ।

‘डाइरेक्ट पीसीआर विधि अहिले गरेको टेस्टभन्दा छिटो र सस्तो छ भनेर ल्याबका विज्ञले सुझाव दिएर निर्देशिका नै तयार पारिएको थियो तर भ्यालिडेसन गरिएन’ नाम उल्लेख गर्न नचाहने मन्त्रालयका एक अधिकारीले भने, ‘कमिसनको चक्करमा पर्दा गर्नसक्ने धेरै काम गरिएन ।’

खासमा के हो त डाइरेक्ट पीसीआर ? अरूभन्दा यो कसरी सस्तो र छिटो छ ? त्यसका प्राविधिक पाटोहरूका बारेमा अनलाइनखबरले अमेरिकाको सोनिक रेफ्रेन्स ल्याबमा मलेकुलर विभागका निर्देशकको रूपमा कार्यरत डाक्टर विजय ढकालसँग इमेलमार्फत कुराकानी गरेको छ ।

अमेरिकास्थित टेक्सस राज्यको अस्टिन सहरमा रहेको सोनिक रेफ्रेन्स ल्याबको अस्ट्रेलियामा मुख्यालय (हेडक्वाटर) छ । सोनिक हेल्थ केयरको प्रयोगशालाहरू युरोप र अमेरिकाका विभिन्न सहरहरूमा फैलिएका छन् । सोनिक हेल्थकेयर युसए अन्तर्गत १२ वटा प्रयोगशालाहरू छन्, जुन पूर्वमा न्यूयोर्कदेखि पश्चिममा हवाईसम्म फैलिएको छ । डाक्टर ढकालका अनुसार यी १२ वटा प्रादेशिक प्रयोगशालाहरूले परीक्षण गर्न नसकेको तथा प्राविधिक रूपमा कठिन टेस्टहरू उनी कार्यरत प्रयोगशालामा परीक्षण हुन्छ ।

संक्रामक रोग, आनुवांशिक रोग, क्यान्सर तथा फार्माकोजिनोमिक्ससँग सम्बन्धित परीक्षणहरू गर्ने उनको ल्याबले अहिले महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको परीक्षण पनि गरिरहेको छ । उनले काम गर्ने ’सोनिक रेफ्रेन्स ल्याब’ अमेरिकामा निजी क्षेत्रलाई कोभिड–१९ को परीक्षण गर्न अनुमति दिएपछि पहिलो परीक्षण सुरु गर्नेमध्येकै प्रयोगशाला पनि हो ।

उनी अहिले सोनिक हेल्थकेयर युसएको कोभिड–१९ टास्क फोर्सको साइन्टिफिक एडभाइजरको रूपमा पनि संलग्न छन् । यो कमिटीले सोनिक हेल्थकेयर युसएअन्तर्गतका विभिन्न प्रयोगशालाहरूलाई कोभिड–१९ को परीक्षणसँग सम्बन्धित राय तथा सुझाव दिन्छ ।

२० वर्षदेखि मोलेकुलर बायोलोजी क्षेत्रमा काम गर्दै आएका डाक्टर ढकालले अमेरिकाको युनिभर्सिटी अफ युटाबाट एक्सपेरिमेन्टल प्याथोलोजीमा विद्यावारिधि हासिल गरेर त्यहीँबाट पोस्ट डक्टरल फेलोसिप गरेका छन् । युनिभर्सिटी अफ युटा र एआरयुपी ल्याबरेटोरी (ARUP Laboratory)को संयुक्त प्रोग्रामबाट मेडिकल तथा पब्लिक हेल्थ माइक्रोबायोलोजीमा क्लिनिकल फेलोसिप गरेका डाक्टर ढकालले अमेरिकामा डाइरेक्ट पीसीआर विधिबाट हजारौं नमुना परीक्षण गरिरहेका छन् ।

प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंशः

डाइरेक्ट पीसीआर कसरी गरिन्छ, अन्य टेस्टको तुलनामा यसको विश्वसनीयता कस्तो छ ?

डाइरेक्ट पीसीआर विधिको बारेमा वर्णन गर्नुभन्दा पहिले हाल प्रचलनमा रहेको पीसीआर परीक्षण विधिबारे छोटो जानकारी लिनु उपयुक्त हुन्छ । बिरामीको घाँटी अथवा नाकबाट संकलन गरिएको नमुनालाई भीटीएममा राखेर प्रयोगशालामा पठाइन्छ । नेपालमा नाकको भन्दा धेरै गुणन बढी घाँटीको नमुना संकलन गरिएको पाइन्छ । अध्ययनहरूमा नाकको पछिल्लो भित्री भागबाट संकलन गरिएको ‘नेजोफेरेञ्जेल’ (Nasopharyngeal) स्वाबभन्दा घाँटीबाट संकलन गरिएको ‘ओरोफेरेन्जेल’ (Oropharyngeal) स्वाब धेरै नै उत्तम हुन्छ ।

प्रयोगशालामा भीटीएममा भएको भाइरसको आनुवांशिक तत्व (आरएनए) लाई ‘एक्स्ट्राक्सन’ गरेर निकालिन्छ । यही आनुवांशिक तत्वको आरटी–पीसीआर (Real-Time PCR, RT-PCR) गरिन्छ र कोरोना भाइरस (SARS-CoV-2) भेटिएमा बिरामीमा कोभिड–१९ रोगबाट ग्रस्त भएको पुष्टि हुन्छ ।

डाइरेक्ट पीसीआर विधिमा, पहिले नमुना भएको भीटीएमलाई ७५ डिग्री सेल्सियस तापक्रममा २० मिनेटसम्म तताइन्छ र भाइरसलाई निष्क्रिय बनाइन्छ । यसरी निष्क्रिय बनाएको नमुनाको सानो अंशलाई किटको निर्देशन बमोजिम आरटी–पीसीआर गरिन्छ र कोरोना भाइरस (SARS-CoV-2) भए नभएको पत्ता लगाइन्छ ।

डाइरेक्ट पीसीआर विधिका लागि अहिले प्रयोगमा आइरहेका आरटी–पीसीआर किटहरू र उपकरणहरू नै उपयोग हुन्छन्, नयाँ कुनै किटहरू र उपकरणहरू चाहिँदैन । सारांशमा, भीटीएममा भएको भाइरसको आनुवांशिक तत्वलाई एक्स्ट्राक्सन नगरी नमुना भएको भीटीएम नै प्रयोग गरेर आरटी–पीसीआर गर्ने विधिलाई नै डाइरेक्ट पीसीआर भनिन्छ ।

मेरो अनुभवमा डाइरेक्ट पीसीआर र अहिले प्रचलनमा रहेको एक्स्ट्राक्सन् गरी आरटी–पीसीआर गर्ने विधिमा कुनै फरक छैन । मेरो प्रयोगशालामा डाइरेक्ट पीसीआर विधिबाट हरेक दिन हजारौं नमुनाहरूको परीक्षण हुन्छन् । डाइरेक्ट पीसीआरको प्रमाणीकरण (Validation) गर्ने क्रममा मेरो प्रयोगशालाले ४०० भन्दा बढी नमुनाहरूको परीक्षण गरेर अहिले प्रचलित विधिसँग तुलना गरेको थियो । यो प्रमाणीकरण अध्ययनमा डाइरेक्ट पीसीआर प्रचलित विधिसँग समान रहेको देखियो । त्यसैले यसलाई नमुना परीक्षण गर्ने प्रमुख विधिको रूपमा उपयोग गर्दै आएका छौं ।

अरू कुन–कुन देशमा यो टेस्ट कसरी प्रयोग भइरहेको छ ?

डाइरेक्ट पीसीआर विधिको प्रयोग गरी कोरोना भाइरस (SARS-CoV-2) को परीक्षण गर्न सकिन्छ भन्ने निष्कर्ष भएका प्रसस्तै वैज्ञानिक शोधपत्रहरू प्रकाशित छन् । विभिन्न देशबाट प्रकाशित यी शोधपत्रहरूको आधारमा यो विधि धेरै देशमा प्रयोगमा आएको छ भन्ने अनुमान गर्न सकिन्छ । सामान्यतया क्लिनिकल ल्याबमा सफल प्रविधि प्रमाणीकरण अध्ययनबाट निस्केका नतिजाहरू शोधपत्रको रूपमा प्रकाशित गर्ने चलन छ ।

अमेरिकन सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले निकालेको आफ्नो किटको परीक्षण विधिमा डाइरेक्ट पीसीआर परीक्षण विधि पनि समेटिएको छ । त्यसैले सो किट प्रयोग गर्ने जुनसुकै प्रयोगशालाहरूले डाइरेक्ट पीसीआर विधि प्रयोगमा ल्याउन सक्छन् । अमेरिकी खाद्यान्न तथा औषधि अनुगमन प्रशासन (एफडीएले) ले डाइरेक्ट पीसीआर विधि प्रयोग गरी परीक्षण गर्ने केही किटहरूलाई अनुमति प्रदान गरेको छ । मैले थाहा पाएअनुसार क्यानडा तथा बेलायतमा पनि डाइरेक्ट पीसीआर प्रयोग गरेर नमुना परीक्षण गरिन्छ ।

डाइरेक्ट पीसीआर विधि अपनाएर नेपालमा टेस्ट गर्नु नेपालको सन्दर्भमा कत्तिको उचित हुन्छ र किन ?

नेपालको सन्दर्भमा डाइरेक्ट पीसीआर प्रयोगमा आउनु अत्यन्तै जरुरी छ । नेपालमा पीसीआर परीक्षणको क्षमता बढाएर दैनिक कम्तीमा दश हजार नमुना परीक्षण गर्ने घोषणा प्रधानमन्त्रीज्यूले गर्नुभएको थियो । तर अहिले प्रचलित परीक्षण विधिले घोषणा भएको संख्यामा परीक्षण गर्न धेरै गाह्रो छ । पछिल्ला केही दिनहरूमा विशेषज्ञहरूले भित्रभित्रै समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंका गरिराखेका छन् । यदि संक्रमण साँच्चै समुदायमा फैलिएको हो भने धेरैभन्दा धेरै टेस्ट गर्नुपर्ने हुन्छ, जुन हालको परीक्षण क्षमताले कुनै पनि हालतमा थेग्न सक्दैन ।

अहिलेको संख्यामा परीक्षण हुनुमा नमुना पुलिङ (Sample Pooling) गर्ने विधिको ठूलै भूमिका छ । संक्रमण व्यापक रूपमा बढ्दै जाँदा नमुना पुलिङ गर्न सम्भव हुँदैन । यस्तो परिस्थितिमा परीक्षण संख्या बढाउनेमध्येको एउटा उपाय डाइरेक्ट पीसीआर हुन सक्छ । प्रचलित विधिमा धेरै समय खर्चेर म्यानुयल एक्स्ट्राक्सन्डाइरेक्ट गर्नुपर्छ जुनचाहिँ डाइरेक्ट पीसीआरमा गर्नु नपर्ने हुँदा दैनिक परीक्षण संख्या कम्तीमा पाँचदेखि सातगुणाले वृद्धि हुन्छ ।

डाइरेक्ट पीसीआरबाट परीक्षण गर्दा अन्य परीक्षण विधिबाट के फाइदा हुन्छ, कसरी ?

डाइरेक्ट पीसीआर प्रविधि प्रयोग गर्दाको महत्वपूर्ण फाइदा एक्स्ट्राक्सन रिएजेन्ट नचाहिने हो । मैले बुझेअनुसार प्रतिपरीक्षण एक्स्ट्राक्सन रि–एजेन्टको औसतमा ८०० रुपैयाँ जति पर्छ । एउटा टेस्टमा ८०० रुपैयाँ बचत हुँदा परीक्षण शुल्क पनि घट्छ । एक्स्ट्राक्सन रि–एजेन्ट विदेशबाट आयात गर्नुपर्ने हुँदा यसलाई प्रयोग नगर्दा देशको लागि ठूलै रकम विदेशिनबाट जोगिन्छ ।

डाइरेक्ट पीसीआर गर्दा एक्स्ट्राक्सन् जस्तो धेरै समय लाग्ने स्टेप गर्नु नपर्ने हुँदा त्यसमा खपत भइराखेको समय परीक्षण संख्या बढाउनमा केन्द्रित गर्न सकिन्छ । त्यसैगरी, डाइरेक्ट पीसीआर गर्दा परीक्षणमा लाग्ने कुल समय पनि घट्छ जसले गर्दा बिरामीको टेस्ट रिपोर्ट चाँडै नै तयार हुन्छ । अहिलेको परिवेशमा यो स्वागतयोग्य नै हुन्छ । किनभने बिरामीको रिपोर्ट समयमा नआउँदा उचित उपचार पाउन नसकेको धेरै खबरहरू प्रकाशित भएको पाइन्छ ।

नेपालमा पनि डाइरेक्ट पीसीआर गर्ने भनिएको थियो तर पछि त्यो लागू गरिएन्, के कारणले यस्तो हुन्छ होला ?

साँच्चै भन्नुपर्दा आजभन्दा लगभग तीन महिना पहिले मैले नै परीक्षण क्षमता बढाउन डाइरेक्ट पीसीआर र नमुना पुलिङ गर्नुपर्छ भनेर सम्बन्धित निकायमा सुझाव राखेको थिएँ । डाइरेक्ट पीसीआर कसरी गर्ने भनेर प्रोटोकल पनि बनाएर पठाएको थिएँ । यो विधिलाई प्रयोगमा ल्याउनका लागि मन्त्रालयका पधाधिकारीहरूसँग धेरै कुराकानी भयो । तर खासै उल्लेखनीय केही कार्य भएनन् ।

क्लिनिकल ल्याबमा कुनै पनि नयाँ विधि अथवा प्रविधिलाई बिरामीको नमुना परीक्षण गर्न अनुमति दिनुभन्दा पहिले त्यो विधि अथवा प्रविधिको सफल प्रमाणीकरण गर्नु अत्यन्तै जरुरी हुन्छ । प्रमाणीकरण अध्ययनमा नयाँ विधि र प्रविधिले प्रचलित विधि र प्रविधिसँग समानता देखाएको खण्डमा मात्र त्यो नयाँ विधि र प्रविधि बिरामीको नमुना परीक्षण प्रयोगमा ल्याउन मिल्छ । त्यही प्रमाणीकरण अध्ययन गर्न ढिलाइ भएका कारणले गर्दा अहिलेसम्म पनि डाइरेक्ट पीसीआर प्रविधि अवलम्बन गर्न नसकेको हो जस्तो लाग्छ ।

मैले यो विधिको विश्वसनीयता बारे अघि नै जिकिर गरिसकेको छु । तैपनि पुनः के प्रष्ट्याउन चाहेँ भने अमेरिकाका FDA र CDC  जस्ता संस्थाहरूबाट यो विधिलाई क्लिनिकल टेस्टिङको अनुमति प्राप्त भइसकेको छ । त्यसैले विधिमाथि प्रश्न लगाउनुको सट्टा उचित ढंगले डिजाइन गरिएको प्रमाणीकरण अध्ययन गरेर कोभिड–१९ को परीक्षणमा कार्यान्वयन गर्नु नै उचित देख्छु ।

डाइरेक्ट पीसीआरबाहेक नेपालले प्रयोग गर्नसक्ने अन्य कुन–कुन टेस्टिङ प्रविधिहरू छन् ? जसले अहिले छिटो, सस्तो र विश्वसनीय नतिजा दिन सक्छ ?

सामान्य रूपमा मोलेकुलर (जस्तै पीसीआर) प्रविधि प्रयोगशालामा उपयोगमा आइराखेका प्रविधिमध्येमा महङ्गो प्रविधि हो । यो प्रविधि महँगो हुनुको कारण परीक्षण प्रक्रियामा धेरैवटा स्टेपहरू हुने र प्रत्येक स्टेपमा प्रयोग हुने परीक्षण सामग्रीहरू (जस्तै, रिएजेन्ट, प्लास्टिक कन्सुमेबल इत्यादि) जोड्दै जाँदा महँगो हुन जान्छ । परीक्षण गर्ने कर्मचारीहरू पनि विशेष तालिम प्राप्त हुनुपर्ने भएकोले गर्दा परीक्षण लागतमा थप भार पर्न जान्छ ।

डाइरेक्ट पीसीआरको विकल्प लुप मिडिएटेड आइसोथर्मल एम्प्लिफिकेसन, छोटकरीमा ल्याम्प (Loop-mediated isothermal Amplification, or LAMP) हुन सक्छ । यो प्रविधिमा आधारित परीक्षण विधिमा नमुनामा भाइरस भएको खण्डमा रङ परिवर्तन हुन्छ, जुन हाम्रो आँखाले नै देख्न सक्छ अथवा साधारण स्पेक्ट्रोफोटोमिटर (Spectrophotometer) ले पत्ता लगाउन सक्छ । यो प्रविधि अहिले प्रचलित आरटी–पीसीआर प्रविधि जतिको सेन्सेटिभ (Sensitive) परीक्षण विधिको रोग पत्ता लगाउने क्षमता) नहुन सक्छ । तर प्रविधिलाई थप अनुसन्धान गरेर निखार्न सकेको खण्डमा प्रचलित प्रविधि जत्तिकै उपयोगी बनाउन सकिन्छ । यसै प्रविधिलाई उपयोग गरेर बिरामीको नमुना परीक्षण गर्न मिल्ने केही किटहरूलाई अमेरिकाको एफडीएले अनुमति दिएको छ ।

परीक्षण महँगो भन्दै नेपालमा अहिले सम्भावित संक्रमितलाई पनि टेस्ट गरिएको छैन । सस्तो र विश्वसनीय टेस्ट गर्न सक्ने विकल्प हुँदाहुँदै महँगो प्रविधि नै प्रयोग गरेर सम्भावित संक्रमितलाई परीक्षण नगर्दा त्यसको भावी असर कस्तो होला ?

नेपालमा कोभिड–१९ रोगका अधिकांश बिरामीमा लक्षण देखिएको छैन । त्यसैले गर्दा परीक्षण नगरी कोरोना भाइरसको संक्रमण भए नभएको थाहा हुँदैन । परीक्षणको अभावमा लक्षण नदेखिएका संक्रमित व्यक्तिहरू क्वारेन्टिनमा नबसी आफ्नो दिनचर्यामा रहँदा समुदायमा यो रोग अवश्य पनि तीव्र गतिमा फैलिन्छ ।

एक जना संक्रमित व्यक्तिले कतिजना स्वस्थ व्यक्तिहरूलाई संक्रमण सार्न सक्छ भनेर मापन गर्ने इपिडिमियोलोजीको शब्द प्रजनन दर (Reproductive Rate) हो ।

कोरोना भाइरस संक्रमणको प्रजनन दर १.८ देखि ३.६ सम्म पाइएको छ । भन्नुको अर्थ १० जना संक्रमित व्यक्तिले १८ देखि ३६ जना निरोगी व्यक्तिलाई संक्रमण सार्न सक्छन् । त्यसैले घना बस्ती भएका सहरहरूमा कोरोना भाइरस फैलिएको खण्डमा नेपालका लागि ठूलो दुर्भाग्य नै हुन्छ । कोभिड– १९ रोगीहरूको चाप बढेको खण्डमा नेपालमा भएका अस्पतालहरू र स्वास्थ्यसँग जोडिएका अन्य संस्थाहरूमा बिरामीको उचित उपचार र व्यवस्थापनको भार खेप्न सक्ने क्षमता नभएको जस्तो लाग्छ ।

केही महिना अगाडि विश्वकै उच्चस्तरीय स्वास्थ्य प्रणाली भएको देश इटालीमा उपचारको अभावमा धेरै मानिसहरूले ज्यान गुमाएका थिए । सबै बिरामीहरूको उपचार गर्न असमर्थ भएर सीमित बिरामीलाई मात्र बचाउन बाध्य भएको जस्तो कठिन अनुभव चिकित्सकहरूले सञ्चारका विभिन्न माध्यमहरूबाट पोखेका थिए । तुलनात्मक रूपमा नेपालका सहरमा सुविधासम्पन्न अस्पतालहरू र दक्ष चिकित्सक भए पनि पहाडी तथा दुर्गम भेगमा स्वास्थ्य उपचार संरचनाहरू र स्वास्थ्यकर्मीहरू पर्याप्त छैनन् ।

दुर्गम तथा पहाडी भेगमा कति नै पो आइसीयू शय्याहरू होलान् । मनसुन तथा वर्षायाममा हरेक वर्ष फैलने झाडावान्ताजस्तो साधारण रोगको उपचार तथा व्यवस्थापन गर्न कठिनाइ भइरहने अवस्थामा कोभिड–१९ रोग फैलियो भने आफैँ कल्पना गर्नुहोस् हाम्रो दुर्दशा के होला । एउटा आशाको बिन्दु भनेको नेपालमा कोभिड–१९ रोगको मृत्युदर अन्य राष्ट्रहरूको भन्दा धेरै कम छ । आशा गरौं आगामी दिनहरूमा यो मृत्युदरमा कुनै पनि वृद्धि नहोस् ।

ल्याबबाट संक्रमण फैलिने डर कतिको हुन्छ ? ल्याबमा हुँदा के कस्तो सावधानीहरू अपनाएर काम गर्नुहुन्छ ?

प्रयोगशालाबाट संक्रमण फैलिने डर अलिकति पनि हुँदैन । प्रयोगशालामा काम गर्ने सबै कर्मचारीलाई भाइरसको जोखिम थाहा छ । प्रयोगशालामा भाइरसलाई नियन्त्रणमा राख्न अनेक इन्जिनियरिङ उपकरणहरू हुन्छन् । बिरामीबाट संकलन गरिएका नमुनाहरू प्रयोगशालामा बायोसेफ्टी क्याबिनेट (Biosafety Cabinet) भित्र प्रशोधन गरी नमुनामा भएका भाइरसलाई निष्क्रिय पारिन्छ । यसरी निष्क्रिय बनाएको भाइरसबाट संक्रमण फैलिँदैन । त्यसैगरी प्रयोगशालामा आफ्नो सुरक्षाका लागि विभिन्न किसिमका सुरक्षा कवच जस्तै– ल्याब कोट, पन्जा, फेस सिल्ढ, गगल्स, मास्क इत्यादि लगाएर मात्रै काम गर्ने गरिन्छ ।

कोरोना नियन्त्रणमा जुटिरहेका नेपालका चिकित्सक, प्रयोगशालाकर्मी र अन्य क्षेत्रका व्यक्तिलाई तपाईंको सुझाव के छ ?

सीमित स्रोत र साधनहरूको बाबजुद पनि नेपालमा प्रयोगशालाकर्मी, चिकित्सकहरू तथा अन्य स्वास्थ्यकर्मीहरूले दिलोज्यान दिएर र आफूलाई जोखिममा पारेर काम गरिराख्नु भएको छ । उहाँहरूको सेवाको लागि हामी कृतज्ञ छौं र मेरो तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । हामीले यहाँ भोगेका परिस्थिति हेर्दा त लामै बाटो तय गर्न तयार रहनुपर्ने सुझाव दिन चाहन्छु । मैले यहाँ सिकेका र भोगेका अनुभवहरू बेलाबेलामा वेबनारमार्फत नेपालका प्रयोगशालाकर्मीहरू तथा अन्य जिज्ञासुसँग बाँड्दै आइराखेका छौं ।

नेपालबाट प्रकाशित समाचारहरूमा कहिले भीटीएम त कहिले स्वाबको अभावमा आरटी–पीसीआर परीक्षण रोकिएको पढ्न र सुन्न पाइन्छ । यी दुवै विदेशबाट निर्यात गर्नुपर्ने भएकोले अभावलाई सजिलै निर्मुल गर्न सकिने स्थिति छैन । किनकि विश्व नै महामारीको चपेटामा छ । यी सामग्रीहरूको अभावबाट मुक्ति पाउन नेपालका सम्बन्धित निकायलाई उचित सुझाव दिँदै आएको छु । भीटीएमको अभावबाट मुक्ति पाउन ड्राई स्वाब (Dry Swab) संकलन गरेर डाइरेक्ट पीसीआर (Direct PCR) गर्ने विधिको बारेमा सुझाव दिएको थिएँ ।

यस विधिको सबैभन्दा ठूलो सकारात्मक पक्ष भनेको परीक्षण खर्चमा ठूलो कटौती गर्न सकिन्छ । त्यसैगरी, बिरामीबाट संकलन गरिएको ड्राई स्वाब नमुना प्रयोगशाला पठाउँदा कोल्ड चेन पनि कायम गर्नुपर्दैन । खाली २५ डिग्री सेल्सियसभन्दा कम तापक्रम कायम राखे पुग्छ ।

नमुना संकलन गर्ने स्वाबको अभावमा परीक्षण बन्द नहोस् भनेर सहयोगी विज्ञ साथीहरूसँग मिलेर नेपालमा थ्रिडी प्रिन्टेड (3D-Printed) स्वाबको उत्पादन गर्ने व्यवस्था मिलाएका छौं । यस प्रोजेक्टलाई जीवन्त बनाउनका लागि अमेरिकामा बस्ने विज्ञ साथीहरू, जापानमा बस्ने सहयोगी साथीहरू तथा नेपालको राष्ट्रिय आविष्कार केन्द्रको ठूलो योगदान छ ।

मेरो एक चिनजानको साथीबाट लिएको थ्रिडी प्रिन्टेड स्वाबको प्रिन्ट फाइल, जापानमा बस्ने नेपालीहरूको सहयोगमा पठाइएको थ्रिडी प्रिन्टिङ मेसिन, अमेरिकामा बस्ने नेपालीहरूको सहयोगमा पठाइएको कच्चापदार्थ र राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरहरूले बनाएको थ्रिडी प्रिन्टेड स्वाब अहिले प्रमाणीकरणको पर्खाइमा छ । प्रमाणीकरणपश्चात स्वदेशमै बनेको थ्रिडी प्रिण्टेड स्वाब बिरामीको नमुना संकलन गर्न प्रयोगमा ल्याउन सकिन्छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस