३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

लागुऔषध कारोवारीले बाटो परिवर्तन गरे

दाङको राप्ती गाउँपालिका–१ बाट ६ केजी लागुऔषध अफिम सहित चार जना पक्राउ

उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नंको मोटरसाइकल र लु१च ६१७१ नंको बोलेरो जिप पनि फेला परेको प्रहरीले जनाएको छ
दाङको राप्ती गाउँपालिका–१  बाट ६ केजी लागुऔषध अफिम सहित चार जना पक्राउ

साउन १० गते २०७७
जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।

यही साउन ८ गते दाङको राप्ती गाउँपालिका–१ रातोडाँडामा रहेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नंको मोटरसाइकल र लु१च ६१७१ नंको बोलेरो जिप पनि फेला परेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए ।

गाँजा, चरेस हाम्रै पहाडी जिल्लामा उत्पादन हुने भएकाले कारोवारीले दाङलाई कारोवारको केन्द्र बनाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस