८ आश्विन २०७७, बिहीबार || 24 Sep 2020, Thursday

किन खस्छ सडकमा पहिरो ?

राजमार्गको दुर्दशा : वर्षेनि पिच थपिन्छ, भित्तामा ध्यान जाँदैन

अझै केही दिन भारी वर्षा जारी रहने भनिएकाले क्षतिको आँकडा बढ्ने अनुमान गरिएको छ
राजमार्गको दुर्दशा : वर्षेनि पिच थपिन्छ, भित्तामा ध्यान जाँदैन

१२ साउन , २०७७

वि‍.सं. २०३१ सालमा खुलेको पृथ्वी राजमार्गको आवधिक मर्मत २०४९ सालमा आएर भयो । तर, त्यतिबेला राजमार्गका सुरक्षात्मक पर्खालहरुको मर्मत भएनन् ।

यो राजमार्गमा खाल्डा टाल्ने काम भयो, सानातिना पहिरो खस्दा रोकथाम गरियो । तर, सडकमाथिका भित्ता र तलका कान्ला जीर्ण हुँदै जाँदा पनि त्यसलाई बलियो बनाउने गरी अहिलेसम्म ठोस प्रयासहरु भएनन् ।

सडक विभागको भनाइ मान्ने हो भने गर्नैपर्ने काम नहुनुमा आर्थिक स्रोतको अभाव मुख्य कारण हो । तर, यही काम नगरिँदा गत हप्ता बाढी र पहिरोको चपेटमा परेर काठमाडौंसँग पृथ्वी राजमार्गबाट हुने सडक सम्पर्क टुट्न पुग्यो ।

सवारीको अत्याधिक चाप झेलिरहेको पूर्व–पश्चिम राजमार्गको पनि यही अवस्था त्यस्तै हो । ०४२ सालमा बनेपछि भत्किँदा टाल्नेबाहेक यो राजमार्गको पुनर्निर्माण (रिह्याब) गरिएको छैन । कतिपय खण्ड भत्किँदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माण गर्न सकेको छैन ।

विज्ञका अनुसार राजमार्गहरुलाई खाल्डामुक्त र सुरक्षित बनाउने हो भने निश्चित समयको अन्तरालमा पुनर्निर्माणको काम गर्नु अनिवार्य हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रत्येक राजमार्गलाई ७ देखि १० वर्षमा पुनर्निर्माण गर्नुपर्छ ।

तर, नेपालमा अहिलेसम्म नयाँ सडक बनाउनु नै प्राथमिकतामा रहेकाले यस्तो महत्वपूर्ण विषयलाई ध्यान दिन नपाइएको बताउँछन् सडक विभागका अधिकारीहरु । यसैकारण वर्षामा सडकहरुमा हुने क्षतिको दर पनि वर्षैसाल बढ्दै जान थालेको छ ।

सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटाका अनुसार राजमार्गहरुमा यो पालाको बाढी र पहिरोले विगतकोभन्दा ठूलो क्षति पुर्‍याएको छ । पृथ्वीसहित अरनिको राजमार्ग र बेनी जोमसोम खण्ड लगायतमा बाढी र पहिरोका कारण यसैवर्ष सडकमार्गहरुमा २ अर्ब बढीको क्षति भइसकेको बताउँछन् सापकोटा ।

भोटेकोसीको चपेटामा परेको अरनिको राजमार्गमा मात्रै १ अर्ब बराबरको नयाँ काम गर्नुपर्ने गरी क्षति भएको अनुमान छ । धेरै सडकहरुको क्षतिको रिपोर्ट आउन बाँकी छ । विभिन्न राजमार्गका पुल र कल्भर्टहरुमा पनि क्षति पुगेको छ । वर्षाको समयमा मात्रै हैन, हिउँदमा पनि सडकहरुमा सुख्खा पहिरो खस्ने गरेका छन् ।

अझै केही दिन भारी  वर्षा जारी रहने भनिएकाले क्षतिको आँकडा बढ्ने अनुमान गरिएको छ ।

किन खस्छ सडकमा पहिरो ?

विज्ञहरुका अनुसार मर्मतका नाममा सडकमा वर्षौंदेखि राजमार्गमा पिचमाथि पिच थप्न थप्ने काम हुँदै आएको छ । तर, सडकलाई बाढी र पहिरोजस्ता जोखिमबाट जोगाउन भने ठूलो बजेट खर्च गरिँदैन ।

राजमार्गको खाल्डा टाल्न समेत बजेट अभाव भएको बताउने विभागले नभत्किई र नबिग्रई सडकका दयाँबायाँ नयाँ पर्खाल लगाएको रेकर्ड बिरलै छ । त्यसैले पनि राजमार्गहरुमा माथिबाट पहिरो खस्ने, सडकमै भासिने लगायतका समस्या आउने गरेको विज्ञहरुको भनाइ छ ।

सडकको आडैमा बगिरहेका र पुन बनाएर ‘क्रस हुने नदी, खोला र खोल्सा र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन । जसले गर्दा वर्षामा ठूलो भेल आउँदा त्यसले पुल र कल्भर्टमा सीधै क्षति पुर्‍याउने गरेको छ ।

बिग्रिएपछि मात्रै बनाउने र निर्माणका क्रममा भविष्यमा समस्या आउँछ भनेर सोच्दै नसोच्ने प्रवृत्तिका कारण सडकहरुमा यसखालका समस्या आउने गरेको बताउँछन् पूर्वाधार विद सूर्यराज आचार्य ।

‘नेपालको चुरे र महाभारत पर्वत जस्ता संवेदनशील भूवनोटमा बन्ने सडकमा समस्या रहनु स्वभाविक हो, तर हामी समस्या आउन नदिन पूर्वसावधानी र तयारी गर्ने पक्षमा चुक्छौं,’ उनी भन्छन्,‘ट्रयाक खोलेर साधारण पर्खाल लगाउने र ग्राभेलमाथि पिच हालेपछि हात बाँधेर बस्ने प्रवृत्ति मूल समस्या हो ।’

सडक खन्दा र बनाउँदा खल्बलिएका पुरै भागलाई स्थिर बनाउन वैज्ञानिक प्रविधि प्रयोग गर्ने प्रयत्न नै नहुने समस्या पनि देखेका छन् विज्ञ आचार्यले । तोकिएको भारभन्दा गहु्रुंगा मालसमान बोकेर ट्रकहरु गुड्दा हुने कम्पनले कमजोर बनेका राजमार्गका पर्खाल लगायतका संरचनालाई कमजोर बनेका हुन्छन् । तर, त्यसलाई समय–समयमा जाँच गरेर बलियो बनाउने गरी काम हुन नसकेको विज्ञहरुको भनाइ छ ।

नेपालका राष्ट्रिय राजमार्ग बनाउँदा भू–गर्भको अध्ययन गरेर सडकको माथि र मुनिका ‘स्लोभ’ भागलाई मजबुत राख्न ठोस योजना नबन्नु दुःखद भएको बताउँछन् पूर्वाधार विद आचार्य ।

‘हाम्रोमा सडक निर्माणको क्रममा नै लापरवाही हुन्छ, राष्ट्रिय राजमार्गहरुको डिजाइनको मापदण्ड नै बाढी र पहिरोबाट जोगाउने खालको छैन, भएका कतिपय मापदण्ड पनि मिचेर लापरवाही पूर्वक सडक बनाइन्छ,’ उनी भन्छन्,‘हाम्रो जस्तो भू–बनोट र मौसम भएको मुलुकमा हाईड्रोलोजिकल र जिओलोजिकल अध्ययन र इन्जिनिरिङबिना बन्ने सडकहरुमा कालान्तरमा आउने समस्या यस्तै हुन् ।’

सडक विभागका उपमहानिर्देशक सापकोटा पनि उपलब्ध बजेटअनुसार नै सडक बनाउनुपर्ने बाध्यता रहेको बताउँछन् । सडक संरचनालाई स्थिर र बलियो राख्न आवश्यक थप संरचनाहरु बनाउने विषय कम प्राथमिकतामा पर्ने गरेको उनी स्वीर्काछन् ।

‘मुग्लिन–नारायणगढ सडक खण्डमा हामीले सडकमाथिको पहरो झर्न नदिने प्रविधि प्रयोग गरेका ठाउँमा समस्या आएन,’ उनी भन्छन्,‘तर, अन्य राजमार्गमा त्यस्ता वैज्ञानिक प्रविधिको प्रयोग गर्न सकेका छैनौं, सडक बनाउँदा यस्ता काममा ठूलो बजेट खर्च गर्ने सक्ने स्रोत हुँदैन ।’

तर, अत्यावश्यक देखिएका स्थानमा पहिरो रोक्न काम हुने गरेको उनको दावी छ ।

अहिले धेरैजसो सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, लगाएको पर्खा ढलिहाल्ने, पुलरुमा समस्या आइहाल्ने, सडकमा ढिस्को उठ्ने लगायत समस्याहरुको दोष नागरिकले सरकारमाथि लगाउँछन् र सरकारले ठेकेदारमाथि । अनि, ठेकेदार सरकारलाई नै दोष दिएर उम्किन्छन् ।

यसरी एक–अर्कालाई हिलो छ्याप्ने गरिए पनि यसको मूल कारण भने सडकको पुनर्निर्माण नगर्नु नै भएको बताउँछन् पूर्वयातायात सचिव तुलसीप्रसाद सिटौला । ‘राजमार्गहरु मात्रै हैन, शहरी सडकको हाल पनि उही हो । पुराना सडकलाई पुनर्निर्माण (रिह्याब) नगरेसम्म समस्या बल्झिरहन्छ,’ उनी भन्छन् ।

विज्ञहरुका अनुसार कालोपत्रे नटिक्ने र पहिरो खसिरहने समस्याले सडकको कन्तबिजोग हुँदा दुर्घटनाको जोखिम बढ्दो छ । अहिले सडक मर्मत गर्दा पर्खाल लगायतका सहायक संरचनातर्फ आँख नलगाउने प्रवृत्ति छ । यसैकारण विस्तार र स्तरीकरणको नाममा कालोपत्रे गरिएकै सडकहरु सुरक्षाका हिसाबबाट कमजोर बन्दैछन्, जसले करोडौं लगानी खेर जाने अवस्था छ ।

अब के गर्ने ?

विज्ञहरु यस्तो समस्या समाधान गर्न अन्य देशमा भएका अभ्यासहरुलाई आत्मसात गर्नुपर्ने सुझाव दिन्छन् । जापान लगायतका मुलुकले यस्ता सडकमा जाने पहिरोहरु रोक्न बायोइन्जिनियरिङ (साबो टेक्नोलोजी)को ब्यापक अभ्यास गर्ने गरेका छन् ।

बाँस, बाबियो लगायतका घाँस तथा बुट्यानहरु रोपेर पहिरो रोक्ने प्रयास पृथ्वी राजमार्गको कृष्णभिरमा सफल भएको थियो । यस्तो अभ्यास गर्न ठूलो बजेट पनि नचाहिने र त्यसले प्राकृतिक रुपमा नै सडकलाई संरचण गर्न सकिन्छ । तर, यसमा सडक विभागको यथेष्ट ध्यान गएको छैन ।

त्यसैगरी सडकमाथिका भिरालो भागमा ग्राउटिङ (क्रंक्रिटिङ) गरेर पनि पहिरो रोक्न सकिन्छ । मुग्लिन–नारायणगढ खण्डका केही ठाउँमा त्यस्ता प्रयास भएका छन् । त्यसलाई सबै अरु राजमार्गका विस्तार गरेर पुराना र जोखियुक्त बनेका पर्खालहरुलाई विस्थापित गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

जोखिमयुक्त स्थानको भूर्गभको अध्ययन गरेर सडकलाई संरक्षण गर्न सकेमा ठूलो क्षत नहुने बताउँछन् पूर्वाधारविद आचार्य ।

‘सडकको डीपीआर बनाउँदा र ठेक्का लगाएर काम गर्दा नै कालोपत्रै मात्रै हैन, सडकमा दायाँबायााका भागलाई सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिनुपर्छ,’ उनी भन्छन्,‘सडक भनेको पिच भएको भागमात्रै हैन, सडकमा गुड्ने र सवारी र यात्रा गर्ने यात्रुको सुरक्षाको प्रत्याभूति गर्ने सबै संरचनाको एकीकृत स्वरुप हो । त्यस्तो मर्मलाई ख्याल राख्नुपर्छ ।’

त्यसैगरी वर्षा अगावै सडकमा पर्ने सक्ने बाढी र पहिरोको जोखिमलाई मूल्यांकन गरेर समय–समयमा सडकमा मर्मतको काम हुनुपर्ने विज्ञहरुको मत छ ।

सडक विभाग यसमा सहमत छ । तर, उसको प्रश्न छ, त्यसका लागि आवश्यक पर्ने अर्बौं बजेट कताबाट ल्याउनु ?

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस