४८ घर उच्च जोखिममा

कालीकोटको पहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव भेटियो

‘त्यहाँ पुरिएकामध्ये दुई जनाको कसैको टाउको, कसैको खुट्टा भेटिएको भन्ने छ,शवको पहिचान हुन सकेको छैन, : मेयर काशीचन्द्र बराल
कालीकोटको पहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव भेटियो

साउन १३ गते २०७७
कालीकोटको पहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको छ। अझ २ जना बेपत्ता छन्। सोमबार राति परेको अविरल वर्षाका कारण रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जयबहादुर शाहीको घर पुरिएको थियो। घर पुरिँदा शाहीसहित अरु ४ जना बेपत्ता भएका थिए।

मंगलबार बिहान जयबहादुर शाहीको शव भेटिएको थियो। मंगलबार नै दिउँसो सोही पहिरोमा पुरिएका अरु दुईको शव भेटिएको रास्कोट नगरपालिकाका मेयर काशीचन्द्र बरालले जानकारी दिए। उनका अनुसार भेटिएका दुई जनाको पहिचान भने हुन सकेको छैन।

‘त्यहाँ पुरिएकामध्ये दुई जनाको कसैको टाउको, कसैको खुट्टा भेटिएको भन्ने छ। शवको पहिचान हुन सकेको छैन,’ मेयर बरालले भने। यस्तै, वडा नम्बर १ कै चोक्टेबगरमा टेके टमट्टाको घर पहिरोले पुर्दा बेपत्ता भएकी केश्पुरा शाहीको शव भेटिएको उनले जानकारी दिए। उनी सन्नीत्रिवेणी गाउँपालिका–७ की हुन्।

साथीको घरमा बस्न गएकी उनी घर भत्किँदा बेपत्ता भएकी थिइन्। टेके टमट्टा र उनकी छोरी घाइते भएका छन्। यसअघि उनीहरू दुई जनासहित अर्का एक जना बेपत्ता भएको भनिएको थियो। बेपत्ता भनिएका तीन जना सकुशल रहेको मेयर बरालले बताए।

‘हतार-हतारको सूचनामा उनीहरू बेपत्ता भएको भन्ने आएको थियो, अहिले सकुशल रहेको भन्ने खबर आएको छ,’ उनले भने। सोमबार रातिकै वर्षाका कारण रास्कोट नगरपालिका वडा नम्बर ९ बालुखेतमा दुई घर भत्किएका छन्। त्यहाँ मानवीय क्षति भने नभएको मेयर बरालले बताए।

रास्कोट नगरपालिका–१ चोक्टेवाडाकै ५८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा बस्ती रहेकाले त्यहाँका मानिसलाई नजिकै रहेको विद्युत गृह र केही घरमा स्थानान्तरण गरिएको बरालले बताए।

४८ घर उच्च जोखिममा

रास्कोट नगरपालिकाकै चोक्टे बगरकै अरु ९ घर पहिराको उच्च जोखिममा रहेको मेयर बरालले बताए। त्यहाँको बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए। वडा नम्बर १ कै वेल्केढुंगामा ६ वटा घर उच्च जोखिममा रहेका छन्। त्यहाँको बस्तीलाई अन्यत्र सारिसकिएको छ।

यस्तै, रास्कोट नगरपालिकाकै वडा नम्बर-३ को कुमालवाडाका २५ घर पहिरोको उच्च जोखिममा रहेको मेयर बरालले जानकारी दिए। वडा नम्बर- ८ को फडारटाडामा पनि ९ घर उच्च जोखिममा रहेका छन्। जोखिममा रहेको बस्ती र क्षति भएको बस्तीमा नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएको मेयर बरालले बताए।

प्रतिक्रिया दिनुहोस