३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

ओलीले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने प्रस्ताव

पार्टी फुट्न नदिन गौतमको ६ बुँदे प्रस्ताव, ओली र गौतमबीच डिनर संवाद

तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नॅपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने र प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरूको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ
पार्टी फुट्न नदिन गौतमको ६ बुँदे प्रस्ताव, ओली र गौतमबीच डिनर संवाद

साउन १४ गते २०७७

पार्टीको आन्तरिक विवाद विभाजनउन्मुख दिशामा अघि बढेपछि त्यसलाई रोक्न उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराईले दुईखाले छुट्टाछुट्टै प्रस्ताव अघि सारेका छन् ।

उपाध्यक्ष गौतमले ‘पार्टी विग्रह तत्काल रोक्न भन्दै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष ६ बुँदे प्रस्ताव राखेका छन् । जुन प्रस्तावमा ओलीले यो प्रतिनिधिसभाको कार्यकालभर सरकारको नेतृत्व गर्ने र पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहितको जिम्मेवारीमा रहने उल्लेख छ ।

ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्नेमा दाहाल र नेपाल अडिग रहिरहेका बेला यही समूहसँग अहिले मोर्चाबन्दी गरिरहेका गौतमले प्रधानमन्त्री ओलीले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने प्रस्ताव गरेका हुन् । जुन प्रस्ताव ओलीका लागि केही राहत हुने खालको छ । कहिले ओली र कहिले दाहाल समूहसँग मिल्दै आएका गौतमले अहिले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै यस्तो प्रस्ताव ल्याएका हुन् । गौतमको प्रस्तावमा प्रधानमन्त्रीको दैनन्दिन काममा पार्टीले हस्तक्षेप गर्न नहुने उल्लेख छ । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरूमा निर्णय गर्नॅपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने र प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरूको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

उपाध्यक्ष गौतमले एकता महाधिवेशन सहमतिमा आयोजना गर्नुपर्ने, पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नॅपर्ने र संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नॅपूर्व सचिवालयको परामर्श लिनुपर्ने सुझाव पनि दिएका छन् । पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्नुपर्ने पनि उल्लेख छ । हाल नेकपाका अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुन्छन् । गौतमले दाहाल–नेपाल पक्षले बालुवाटारमा गरेको बैठकमै उपस्थित भएर आफूले अघि सारेको विकल्पले पार्टीलाई एकताबद्ध बनाएर लैजान सक्ने भन्दै सबैलाई समर्थन गर्न आग्रह गरेका थिए । अन्यथा ढंगले पार्टी एकता बिगार्ने गरी अघि बढ्न खोजे आफ्नो कसैलाई पनि सहयोग नहुने उनको भनाइ थियो ।

उपाध्यक्ष गौतमले मंगलबार बिहान नै यो प्रस्ताव अघि बढाएका थिए । तर स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा रोकेपछि विवाद झन् बढ्ने स्थिति देखापर्‍यो । थप स्थिति बिग्रन नदिनका लागि स्थायी कमिटी सदस्यहरू भुसाल, पोखरेल र भट्टराईले छुट्टै बैठक गरे । उनीहरूले स्थायी कमिटीको बैठकमा राखिएको ‘पार्टी र सरकारको कामको समीक्षा’ भन्ने एजेन्डाहरू तत्कालका लागि हटाउनुपर्ने प्रस्ताव गरेका छन् । त्योबाहेकका एजेन्डामा बैठक बसी निष्कर्षमा पुग्नुपर्ने उनीहरूको प्रस्ताव छ । यसो गर्दा तत्कालका लागि पार्टी नै विभाजनमा जाने खालको खतरा टर्न सक्ने उनीहरूको बुझाइ छ । उनीहरूले अध्यक्षद्वय ओली र दाहाल दुवैलाई यो प्रस्ताव गरेका छन् । तर दुवै पक्षले अहिले आएका यी प्रस्तावलाई ‘रेस्पोन्स’ गरेका छैनन् ।

ओली–गौतम डिनर संवाद

नेकपा अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच मंगलबार साँझ डिनर संवाद भएको छ । गौतम निवास भैंसेपाटीमा साँझ ७ देखि ९ बजेसम्म ओली र गौतमबीच छलफल भएको हो । व्यक्तिगत र पारिवारिक भनिएको भेटघाटमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य र पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी थिए । उनीहरूका बीचमा पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य कुराकानी भएको गौतमनिकट स्रोतले बतायो ।

यसअघि पोहोर असोजमा सांसदहरूका लागि आवास उद्घाटन गर्न गएका बेला ओली गौतम निवास छिरेका थिए । राजनीति गम्भीर मोडमा पुगेका बेला ओली र गौतमबीच यसअघि पनि खानपान सहितको यस्तो संवाद हुँदै आएको छ । अघिल्ला संवादहरूमा ओलीले गौतमलाई आफ्नै निवासमा बोलाउने गरेको भए पनि यसपालि उनी नै भैंसेपाटी पुगेका हुन् । पोहोर असारमा पनि अर्कै गुटमा रहेका गौतमलाई आफ्नो पक्षमा ल्याउने पहल ओलीले सरकारी निवास बालुवाटारमा गौतमको जन्म दिन मनाइदिएर गरेका थिए ।

मंगलबार मात्रै आफ्नो ६ बुँदे प्रस्ताव पेस गर्दै गौतमले ओलीलाई पाँचै वर्षका लागि सरकार चलाउन दिनुपर्ने बताएका थिए । पार्टीभित्र अल्पमतमा परिरहेका बेला गौतमबाट मंगलबार आएको प्रस्तावले ओलीलाई राहत मिलेको छ । त्यसैले आफ्नो उपयुक्त सारथि बन्न सक्ने आकलनसहित ओली गौतम निवासमा गएका हुन् ।

बालुवाटार बैठकमा उपस्थित

1)पुष्पकमल दाहाल

2)झलनाथ खनाल

3)माधवकुमार नेपाल

4)वामदेव गौतम

5)नारायणकाजी श्रेष्ठ

6)अष्टलक्ष्मी शाक्य

7)गणेश साह

8)गिरिराजमणि पोखरेल

9)गोकर्ण विष्ट

10)घनश्याम भुसाल

11)चक्रपाणि खनाल

12)जनार्दन शर्मा

13)देव गुरूङ

14)देवेन्द्र पौडेल

15)पम्फा भुसाल

16)वर्षमान पुन

17)वेदुराम भुसाल

18)भीम आचार्य

19)भीम रावल

20)मातृका यादव

21)मुकुन्द न्यौपाने

22)युवराज ज्ञवाली

23)योगेश भट्टराई

24)रघुजी पन्त

25)लीलामणि पोखरेल

26)सुरेन्द्र पाण्डे

27)शक्ति बस्नेत

28)हरिबोल गजुरेल

29)अमृत बोहरा

30)विष्णुपुकार श्रेष्ठ

1)बैठकमा अनुपस्थित
केपी शर्मा ओली

2)ईश्वर पोखरेल

3)रामबहादुर थापा

4)विष्णु पौडेल

5)किरण गुरूङ

6)छविलाल विश्वकर्मा

7)टोपबहादुर रायमाझी

8)प्रदीप ज्ञवाली

9)पृथ्वीसुब्बा गुरूङ

10)मणि थापा

11)रघुवीर महासेठ

12)लेखराज भट्ट

13)विष्णु रिमाल

14)सत्यनारायण मण्डल

15)सुवास नेम्वाङ

16)शंकर पोखरेल

साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस