३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

ओभरस्टे बस्नेमा अधिकांश चिनियाँ

विभिन्न कसुरमा मुछिएका ६सय ७१ जना विदेशी नागरिक निष्कासित

विदेशीहरू यौन दुराचार, बैकिंग कसुर, विना पासपोर्टरभिसा नेपाल प्रवेश, लागुऔषध, चौरीपैठारी, अवैध हुण्डी र विदेशी मुद्रा अपचलन, ठगी, कल बाइपासजस्ता अभियोगमा मुछिने गरेका छन्
विभिन्न कसुरमा मुछिएका ६सय ७१ जना विदेशी नागरिक निष्कासित

नेपालले एक वर्षको अवधिमा विभिन्न कसुरमा मुछिएका ६सय ७१ जना विदेशी नागरिकलाई निष्कासित गरेको छ । यसमध्येको ठूलो संख्या भिसा अवधि सकिएपछि नवीकरण नगराई बसेका विदेशी नागरिकहरूको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ मा ‘ओभर स्टे’को कसुरमा ५सय ७८ र अन्य कसुरमा ९३ जना विदेशीलाई नेपालले सम्बन्धित मुलुकमा फिर्ता गरेको हो ।

अध्यागमन विभागका अनुसार एक वर्षको अवधिमा इरानका १९ जना नागरिक जाली राहदानी र भिसा रहेको अभियोगमा नेपालबाट निष्कासनमा परेका छन् । यो अभियोगमा नाइजेरियाका ३ जना परेको अध्यागमनको तथ्याङ्कमा उल्लेख छ । जाली भिसा लिएर आएका ३ जना बंगलादेशका, २ जना श्रींलकाका१/१ जना काजकिस्तान र उज्वेकिस्तानका नागरिकसमेत निष्कासनमा परेका छन् ।

विभागका अनुसार विदेशीहरू यौन दुराचार, बैकिंग कसुर, विना पासपोर्टरभिसा नेपाल प्रवेश, लागुऔषध, चौरीपैठारी, अवैध हुण्डी र विदेशी मुद्रा अपचलन, ठगी, कल बाइपासजस्ता अभियोगमा मुछिने गरेका छन् । त्यसबाहेक ओभरस्टेको संख्या भने ठूलो छ । विभागका अनुसार सुन चोरी पैठारीको अभियोगमा पक्राउ परेका ४ जना चिनियाँ नागरिकलाई समेत सन् २०१९ मा नेपालबाट निकालिएको छ ।

हुण्डी र विदेशी मुद्रा अपचलन गरेको आरोपमा एक चिनियाँ नागरिक निष्कासनमा परेका छन् । रुसका ४ जना नागरिक लागुऔषध प्रयोग गरेको आरोपमा निष्कासनमा परेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट २८ वटा मुलुकका नागरिक विभिन्न कसुरमा निष्कासनमा परेका छन् । यसरी निष्कासनमा पर्नेमा इरान र अफ्रिकी मुलुकका नागरिकको संख्या धेरै छ ।

ओभरस्टे बस्नेमा अधिकांश चिनियाँ

आफ्नो भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी बस्नेमा चिनियाँ नागरिकको संख्या ठूलो छ । यो कसुरमा एक वर्षमा ४सय १५ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् । ओभर स्टे बस्नेमा अमेरिकी नागरिक दोस्रो स्थानमा छन् । एक वर्षमा २३ जना अमेरिकनलाई नेपालले फिर्ता पठाएको छ । उत्तर कोरियाका १७ जना नागरिक ओभर स्टेको कसुरमा निष्कासनमा परेका छन् ।

बेलायतका १५ जनालाई नेपालले फिर्ता पठाइदिएको छ । पाकिस्तान र फिलिपिन्सका ८/८, मलेसिया र यमनका ५/५, उज्वेकिस्तान, रसिया, अष्ट्रेलिया, जापान, भियतनामका ४/४ जना पर्यटकलाई समेत ओभर स्टेको कसुरमा नेपालले निष्कासन गरिदिएको छ ।

सन् २०१९ मा नेपालले कुल ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटकलाई स्वागत गरेको थियो । यो संख्या नेपालको पर्यटकीय इतिहासमै सबैभन्दा ठूलो संख्या थियो । उक्त आँकडालाई छलाङ मार्दै सन् २०२० मा वाषिर्क २० लाख पर्यटक भित्राउने लक्ष्य नेपालको थियो । उक्त लक्ष्य भने कोरोना भाइरसको संक्रमणसँगै अन्त्य भएको छ ।

लकडाउन भएपछिको अवधि १४ असारयता मात्र ७३ जना विदेशीलाई नेपालले स्वागत गरेको छ । नेपालमा रहेका ६ हजार भन्दा बढी विदेशीलाई उद्धार गरी उनीहरूको मुलुकमा पठाइएको छ । अब भने १ भदौबाट सरकारले पुनः व्यावसायिक उडान खुला गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस