२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

१५ साउन , २०७७

कोरोना भ्याक्सिन विकासको पछिल्लो अपडेट के छ? यस्तो छ डब्लुएचओको उत्तर

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई महामारीका रूपमा घोषणा गरेको ६ महिना पुगिसकेको छ
कोरोना भ्याक्सिन विकासको पछिल्लो अपडेट के छ? यस्तो छ डब्लुएचओको उत्तर

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई महामारीका रूपमा घोषणा गरेको ६ महिना पुगिसकेको छ। यो अवधिमा कोरोना संक्रमित ६ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु पनि भइसकेको छ। पछिल्लो समय कोभिड महामारी नियन्त्रणमा आइहाल्ने संभावना कम देखिएको भन्दै यो रोगविरुद्धको भ्याक्सिन कहिले विकास हुन्छ भनेर धेरैले जिज्ञासा राख्न थालेका छन्।

विश्व स्वास्थ्य संगठनमा पनि यसबारे धेरैले जिज्ञासा राखेपछि प्रवक्ता डा मार्गेरेट ह्यारिसले लाइभ कार्यक्रम राखेकी थिइन्। डब्लुएचओमा आएका प्रश्नहरू उनले भर्चुअल मिटिङका क्रममा डब्लुएचओकी प्रमुख वैज्ञानिक डा सौम्या स्वामीनाथनलाई राखिन्। उनै डा स्वामीनाथनले दिएको उत्तरको सम्पादित अंश हामीले यहाँ समावेश गरेका छौं। यस्तो छ डा स्वामीनाथनले दिएको उत्तरको सार:

गत जनवरीमा कोरोना भाइरसको महामारी सुरु भएदेखि नै हामीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणको अध्ययन तथा अनुसन्धान गरिरहेका छौं। कोरोना भाइरसका सम्बन्धमा हामीले निकै छोटो समयको अन्तरालमा नयाँनयाँ कुराहरू पत्ता लगाइरहेका पनि छौं। भ्याक्सिन निर्माणका सम्बन्धमा पनि तीव्र गतिका साथ काम भइरहेको र नयाँ कुरा पत्ता लागिरहेको छ।

हालसम्म हामीले २ सयभन्दा बढी मोडलका खोपबारे अनुसन्धान गरिरहेका छौं। यी भ्याक्सिनबारे विभिन्न चरणमा विभाजन गरेर अध्ययन भइरहेको अवस्था छ। भ्याक्सिन विकासको प्रक्रिया निकै लामो समय लाग्ने, लगातारको मेहनत आवश्यक हुने र जटिल प्रकृतिको समेत हुन्छ।

भ्याक्सिन विकासका लागि सबैभन्दा पहिले संभावित मोडलका भ्याक्सिनहरू संकलन गरिन्छ। यसलाई अनुसन्धानको भाषामा ‘क्यान्डिडेट कलेक्सन’ भनिन्छ। यसका पनि विभिन्न चरण र प्रकार हुन सक्छन्।

क्यान्डिडेट कलेक्सन गरिसकेपछि त्यस्तो मोडलको भाइरस पूरै भाइरससँग भिडाएर अध्ययन गरिन्छ। पूरै भाइरसको नमुना लिएर केही रसायनिक तत्त्व लगाएर सो भाइरसलाई निष्क्रिय गरिन्छ वा मानिसको प्रतिरोधात्मक क्षमता ह्रास गराउने भाग मात्र लिएर पनि अध्ययन गर्न सकिन्छ। कोरोना भाइरसको सन्दर्भमा कुरा गर्नुपर्दा भाइरसको बाहिरी भागमा हुने भालाजस्तो माथि उठेको प्रोटिनको भागलाई लिन सकिन्छ।

गत जनवरी ११ मा चीनका वैज्ञानिकहरूले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने र यसले शृंखला निर्माण गर्ने सार्वजनिक गरेका थिए। यसपछि लगत्तै यो भाइरस विरुद्धको खोप विकास गर्ने काम शुरु भएको हो।

भ्याक्सिन विकास भइसकेपछि पनि ल्याबमा परीक्षण परीक्षण गरिन्छ। यसबाट पास भएपछि मुसा, ह्यामस्टर र गिनिपिग्सजस्ता साना जनावरमा परीक्षण गरिन्छ। यससछि मात्र ठूला जनावरमा यसको परीक्षण गरिन्छ। मानिसमा परीक्षण गर्नुअघि नयाँ विकास भएको भ्याक्सिन बाँदरजस्ता जनावरमा पनि परीक्षण हुन्छ। भ्याक्सिन विकासको यति लामो प्रक्रिया भएपनि धेरै काम भइरहेको छ।

यसअघि नै मानिसमा प्रयोग भइसकेका भ्याक्सिनमा भने यी सबै काम गर्नुपर्दैन र मानिसमा परीक्षण गर्न सजिलो हुन्छ। मानिसमा हानी नपुर्‍याउने पहिले नै जानकारी भइसक्ने भएकाले सजिलो पर्ने भएको हो। कोरोना भाइरसले शृंखला बनाउँछ भन्ने सार्वजनिक भएको ८/१० हप्तापछि नै यसबारे पनि काम सुरु भएको हो।

हाल विभिन्न २४ मोडलका भ्याक्सिन मानवीय परीक्षणका क्रममा रहेका छन्। तर यी २४ भ्याक्सिनबारे पनि विभिन्न चरणमा विभाजन गरेर मानवीय परीक्षणको अध्ययन भइरहेको छ। मानवीय परीक्षणमा पनि पहिलो, दोस्रो र तेस्रो चरणको परीक्षण गर्नुपर्ने हुन्छ। समग्रमा १ सय ५० भन्दा बढी भ्याक्सिन ‘क्लनिकल डेभलपमेन्ट’भन्दा अघिल्ला चरणमा नै परीक्षण भइरहेका छन् भने बाँकी क्लिनकल डेभलपमन्टका क्रममा छन्। यसरी हामीले विभिन्न मोडलका भ्याक्सिनबारे अध्ययन गरिरहेका छौँ। प्रारम्भिक अध्ययनका क्रममा परीक्षणको पाइपलाइनमा रहेका थुप्रै भ्याक्सिनहरू सकारात्मक परिणाम ल्याउन सक्ने प्रकृतिका पनि देखिएका छन्।

साधारणतया, भाइरस विरुद्धको भ्याक्सिन विकासको सफलतादर १० प्रतिशत मात्र हुन्छ। त्यसैले हामीसँग जति धेरै ‘क्यान्डिडेट भ्याक्सिन’ आउँछन्, हामी सफल हुने दर पनि उति नै बढी हुने संभावना हुन्छ।

मानवीय परीक्षणका क्रममा पुगेका भाइरस तीन चरणमा अध्ययन गरिन्छ- पहिलो, दोस्रो र तेस्रो। पहिलो चरणमा स्वस्थ र वयस्क व्यक्तिमा छनौट गरिन्छ। छनौट भएका व्यक्तिलाई भ्याक्सिन दिइन्छ। यसरी पहिलो चरणको परीक्षणमा प्रायगरी, ३० देखि ५० जना व्यक्तिलाई मात्र भ्याक्सिन दिइन्छ। कहिलेकाहीँ यी व्यक्तिमा फरकफरक डोजमा पनि भ्याक्सिन चलाइन्छ। पहिलो चरणको मानवीय परीक्षण गर्नु भनेको भ्याक्सिन कति सुरक्षित छ भने पत्ता लगाउनु हो। पहिलो चरणमा मानिसमा प्रयोग गर्न सकिने निष्कर्षमा पुगिए दोस्रो चरणको परीक्षण सुरु हुन्छ।

दोस्रो चरणको मानवीय परीक्षणमा एक सयदेखि १ हजार जनासम्मलाई भ्याक्सिन दिएर परीक्षण गरिन्छ। यसमा पनि मानिसमा प्रयोग गर्न कति सुरक्षित छ भन्ने त अध्ययन गरिन्छ नै, यसका साथसाथै भ्याक्सिनको इम्युनोजेनिसिटीका विषयमा पनि अध्ययन गरिन्छ। इम्युनोजेनिसिटी भन्नाले भ्याक्सिनले प्रतिरोधात्मक क्षमता कति बलियो बनाउँछ भनेर गरिने अध्ययन हो। दोस्रो चरणमा भ्याक्सिन दिइएका व्यक्तिबाट विभिन्न समयमा रगतको नमुना लिएर इम्युनोजेनिसिटी परीक्षण गरिन्छ। यो चरण निकै संवेदनशील मानिन्छ।

तेस्रो चरण सबैभन्दा महत्वपूर्ण चरण हो। यही चरणबाट भ्याक्सिन प्रयोगयोग्य छ/छैन र रोगबाट सुरक्षा दिन सक्छ/सक्दैन भनेर निर्क्योल गरिने भएकाले पनि यसलाई महत्त्वपूर्ण मानिएको हो। तेस्रो चरणको मानवीय परीक्षणमा भ्याक्सिन लिने दसौं हजार व्यक्ति आवश्यक हुन्छन्। यी व्यक्ति पनि स्वस्थ हुन जरुरी हुन्छ।

यसरी छानिएकामध्ये आधालाई भ्याक्सिन दिइन्छ भने आधालाई प्लेसिबो इन्जेक्सन दिइन्छ। प्लेसिबो इन्जेक्सनका लागि हेपाटाइटिस भ्याक्सिन वा मेनेन्जाइटिस भ्याक्सिनजस्ता पहिलेदेखि नै प्रयोग भइरहेका अन्य भ्याक्सिन दिन सकिन्छ। यसरी भ्याक्सिन दिइएका व्यक्तिलाई महिनौँसम्म परीक्षण फलो गरिरहनुपर्छ। यसरी कोरोनाविरुद्धको भ्याक्सिन दिइएका र अन्य भ्याक्सिन दिइएका कति-कति व्यक्तिलाई कोरोना संक्रमण भयो भनेर तुलना गरिन्छ। तुलना गर्दा भ्याक्सिन प्रभावकारी पाइयो भने यो मानिसमा प्रयोगयोग्य ठहर्छ। तर यस्तो भ्याक्सिनको प्रभावकारिता दर भने उच्च हुनुपर्छ। यस्तो प्रभावकारिता दर कम्तीमा पनि ७० प्रतिशत हुनपर्छ।

यसका साथै तेस्रो चरणमा ठूलो संख्यामा मानिसहरूमा भ्याक्सिनको प्रयोग हुने भएकाले सुरक्षाका विषयमा अध्ययन गर्ने अवसर पनि हुन्छ। भ्याक्सिन लिएका दसौं हजार मानिसको रगत परीक्षण गरेर अध्ययन गरिन्छ। निश्चित समयको अन्तरालमा एन्टिबडीको अवस्था पनि अध्ययन गर्नुपर्छ। यसका साथै केही वर्षसम्म उनीहरूलाई निरन्तर फलअप पनि गरिरहनुपर्छ। किनभने कति लामो समयसम्म भ्याक्सिनले काम गर्छ भन्ने पनि पत्ता लगाउन जरुरी हुन्छ।

भ्याक्सिनको मानवीय परीक्षणअन्तर्गत तेस्रो चरणको परीक्षण गर्न निकै लामो समय लाग्छ। धेरै मानिसको फलोअप गर्नुपर्छ।

कोरोना महामारीका सन्दर्भमा कुरा गर्दा यो सबै गर्नका लागि कम्तीमा ६ महिनाको समय लाग्छ। यदि सुरक्षित हुने र प्रभावकारी पनि रहेको पाइए ६ महिनाभित्र प्रयोगमा ल्याउन सकिन्छ। यसका लागि विश्वभरका नियामकले भ्याक्सिनलाई कसरी स्वीकृति दिन सकिन्छ भनेर छलफल गर्दै आएका छन्।

प्रयोगयोग्य भनेर लाइसेन्स प्रदान गरिसकेपछि पनि भ्याक्सिन दिइएका व्यक्तिलाई पनि निरन्तर फलो गरिरहनुपर्छ। यसलाई कतिपयले चौथो चरण पनि भनेका छन्।

साभार – स्वास्थ्य खबरपत्रिका

प्रतिक्रिया दिनुहोस