३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

१५ साउन , २०७७

बाघको संख्या घट्दा चिन्ता, बढ्दा चुनौती !

बुधबार विश्व बाघ दिवस मनाइयो
बाघको संख्या घट्दा चिन्ता, बढ्दा चुनौती !

बुधबार विश्व बाघ दिवस मनाइयो। बर्दियामा पनि ​’स्वस्थ वातावरणका लागि बाघ संरक्षण र यसको वासस्थान संरक्षणमा सहभागी बनौं’, ‘बर्दियाको शान, संरक्षणमा मन’, ‘बाघ सहितको वन, देशको धन’ जस्ता नारासहित विश्व बाघ दिवस मनाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जलाई विशेषगरी बाघको वासस्थान मानिन्छ। बाघ संरक्षणमा यहाँका संरक्षणकर्मीहरूले कयौँ प्रयास थालेका छन्।

जिल्लामा बाघको संख्या बढाउन बर्दियाका युवाहरूको ठूलो योगदान रहेको छ। बाघको आक्रमणमा अंगभंग भएका स्थानीय पनि बाघ संरक्षणसम्बन्धी गीत गाउँदै हिँड्छन्।  मधुवन नगरपालिका खाताका अध्यक्ष भदै थारु वन्यजन्तु संरक्षणका क्षेत्रमा यस्तै दुर्लभ नाम हो। थारु झण्डै १३ वर्षअघि बाघको आक्रमणबाट बच्‍न सफल भएका थिए, तर उनले आँखा गुमाए। आक्रमण भएपनि उनी बाघसँग टाढिएनन्, बरू संरक्षणमै जुटिरहे।  भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्टिय निकुञ्जको बीचमा खाता जैविक मार्ग पर्छ। यो मार्गको जंगलले दुई देशका निकुञ्‍ज र आरक्षलाई जोडिदिएको छ।यो जैविक मार्गसँग जनावरहरूको विशेष सम्बन्ध छ, यस वरपर रहेका वासिन्दाहरूको पनि। मानव-वन्यजन्तु द्वन्द्व मत्थर पार्दै यस क्षेत्रमा संरक्षणका विभिन्न कार्यक्रममा उनै भदै थारु सक्रिय छन्‌। उनको कण्ठबाट रुमानी मायाँप्रितीका होइन, बाघप्रतिको प्रेम र संरक्षणले ओतप्रोत गीत निस्कछन्‌।

बर्दिया ‘बाघको जिल्ला’ का रुपमा चिनिनुका पछाडि संरक्षणमा भदै थारुजस्ता व्यक्तिको निरन्तर लगाव र मेहनतको आधार छ। लोपोन्मुख सूचीमा परेको बाघको संख्या वृद्धि गर्न उनीहरू लागिपरेका छन्‌।​सन् २०१० मा नेपालभर १२१ वटा बाघ गणना गरिएको थियो। सन् २०१८ मा गणना गर्दा नेपालभर २३५ वटा बाघ पाइएको छ। नेपालले सन् २०२२ भित्र बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको छ। चोरीशिकारमा व्यापक नियन्त्रण र संरक्षण चेतना अभिवृद्धि गरिएका कारण यो बाघको संख्या निरन्तर बढिरहेको संरक्षणकर्मीहरू बताउँछन्‌। बर्दियामा अहिले ८७ वटा वयस्क पाटेबाघ छन्। निकुञ्ज अवलोकन गर्न आउने पर्यटकहरूले तीन/चार वर्षयता दिन-दिनै बाघ देख्न पाक्रषहेका छन्। बर्दियामा वर्षेनी बाघको संख्या पनि वृद्धि हुँदै गइरहेको छ। बर्दिया निकुञ्ज घुम्न आएका पर्यटकहरूले पाटे बाघसँगै गैँडा, जंगली हात्ती लगायतका वन्यजन्तु देख्न पाउँछन्‌।

तर यहाँ आउने पर्यटकको सबैभन्दा उद्धेश्य नै बाघ हेर्नु हो।  तर मानव-बाघबीच बढ्दो द्वन्द्व, यसको आहारा तथा वासस्थानमा कमी, चोरीसिकार लगायतका कारणले पछिल्लो समय नेपालमा बाघको दिगो संरक्षण चुनौतीपूर्ण बन्दैछ।  बाघको संख्या त बढेको छ, तर यसको दिगो संरक्षणमा चुनौती थपिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्‌, ‘मानवसँगको बढ्दो द्वन्द्व, साँघुरिएको वासस्थान र आहारा अभाव लगायतका कारणले पछिल्लो समय बाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।’ द्वन्द्व बढ्यो पछिल्लो समय बर्दियामा जंगली हात्ती र पाटे बाघसँग मानिसको द्वन्द्व बढिरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट बाहिर निस्किएका जंगली हात्तीले मानवीय क्षति गर्ने, घरगोठ भत्काउने र अन्नबालीमा नोक्सानी पुर्‍याउने गर्छन्‌।

संख्या बढेसँगै झण्डै १७ वर्षपछि बर्दिया निकुञ्जका पाटे बाघको आक्रमणबाट मानवीय क्षति भयो। गत वर्ष ९ महिनाको अवधिमै पाटे बाघको आक्रमणबाट ६ जनाले ज्यान गुमाए। जंगली हात्ती जस्तै अब पाटे बाघबाट पनि गाउँमा त्रास फैलिन थालेको छ। २०७६ भाद्र पहिलो साता बिहीबार बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणमा परी बर्दिया गेरुवा गाउँपालिका ४ दङ्गपुरकी ५६ वर्षीया रामकली शाहीको ज्यान गयो। त्यसको चार दिनपछि फेरि बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको खानेपानी ट्यांकीनजिक ७० वर्षीय वृद्ध पहरिया थारुलाई पाटे बाघको आक्रमण गरी ज्यान लियो। त्यसको एक महिनापछि गएको असोज दोस्रो साता बर्दिया बाँसगढी नगरपालिका २ को भगवती सामुदायिक वनमा पाटे बाघको आक्रमणमा परी राँझाकी ४० वर्षीया गंगा सलामी मगरको ज्यान गयो। सोही स्थानकी एक महिलालाई पाटे बाघले गम्भीर घाइते बनायो।

कार्तिक १९ गते बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट निकुञ्जभित्रै गैँडा मचान नजिक ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गयो। बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका बेला पाटे बाघले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको थियो।  राजापुर क्षेत्रमा भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परी राजापुर नगरपालिका ७ का धर्मेन्द्र यादवको जनाको ज्यान गएको थियो। बर्दिया निकुञ्जभित्रबाट बाहिर आएर पाटे बाघले आक्रमण गरेर ज्यान लिन थालेपछि निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका स्थानीय त्रसित बनेका छन्।  सन् २०१८ को बाघ गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा वयस्क पाटे बाघको संख्या बढेर ८७ पुगेको छ। ‘बाँके-बर्दिया कम्प्लेक्स’ नाम दिइएको क्षेत्रमा अहिले १०८ वटा पाटे बाघ रहेको निकुञ्ज विभागले जनाएको छ।

संरक्षणमा समुदाय सक्रिय संरक्षण अभियानमा समुदायको सक्रियता बढेका कारण वर्षेनी निकुञ्जमा जंगली जनावरको संख्यामा पनि वृद्धि हुँदैछ। क्षेत्रफल उही, तर वर्षेनी जंगली जनावरको संख्यामा वृद्धि भएपछि जनावरहरू मानव वस्तीमा पस्ने गरेका छन्।

वन्यजन्तुबाट जन धनको क्षति भएमा तत्काल राहत व्यवस्था गरे पनि अहिलेको राहत रकम निकै न्यून छ। संरक्षण अभियानमा स्थानीय सकारात्मक हुँदाहुँदै पनि जंगली जनावरको आतंकका कारण वर्षभर खाने अन्नपात एकै दिनमा सखाप पारिदिन थालेपछि स्थानीयमा प्रतिशोधको  भावना उत्पन्‍न हुने गरेको छ। जसको नतिजा हो : मानव-वन्यजन्तु द्वन्द्व ! वन्यजन्तुको संख्या बढेसँगै अहिले यो द्वन्द्व अहिले बढिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन्‌।

​यस्तै, राजमार्गमा सवारी साधनको तीव्र गतिका कारणसमेत जंगली जनावरको ज्यान जाने गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयवासी जंगली जनावरका कारण मारमा पर्ने गरेका छन्। उचित तारबार नहुँदा बस्ती छिर्ने जंगली जनावरले बालीनाली मास्ने, कच्ची घर भत्काउने तथा घरपालुवा जनावर मार्नेदेखि मानिसकै ज्यान लिने क्रम बढेपछि स्थानीयमा त्रास बढेको हो। वन्यजन्तु संरक्षणमा प्रगति भएपनि मध्यवर्ती क्षेत्रमा आवत-जावत नियन्त्रण र जोखिम न्यूनीकरणको प्रयास प्रभावकारी नहुँदा समस्या बढिरहेको स्थानीय भनाई छ।

मानव-वन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरणका लागि नेपाल सरकारले बेलैमा विशेष कार्यक्रम ल्याउनुपर्ने संरक्षणकर्मीहरू बताउँछन्‌। वन्यजन्तुलाई निकुञ्जभित्रबाट बाहिर आउन नदिनेगरी दिगो व्यवस्थापन गर्न सकेमा र वन्यजन्तुबाट क्षति भएमा तत्कालै उचित राहत दिनु आवश्यक रहेको उनीहरू बताउँछन्‌। बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र घोषणा गरेपछि निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय समुदाय र झण्डै १० वर्ष अघि स्वस्फुर्त निकुञ्ज आसपासका युवा वन्यजन्तु संरक्षण अभियानमा जुटेका थिए ।

तर, जंगली जनावरको आतंक न्यूनीकरण गर्न नसक्नु, वन्यजन्तु बाहिर आउनबाट रोक्न दिगो व्यवस्थापन गर्न नसक्नु र जनधनको क्षति भएमा निकुञ्जले उचित राहत उपलब्ध गराउन नसक्नुले मानव र वन्यजन्तु बीचको द्वन्द्व विस्तारै बढ्न थालेको तथा वन्यजन्तु संरक्षण अभियानमा चुनौती आउनसक्ने संकेत देखिन थालेको चोरीसिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए।
साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस