समाज बदल्न सोच बदल्नु पर्ने रहेछ

समता फाउन्डेसनले कान्तिपुर टेलिभिजनमार्फत जातको प्रश्नु नामक टेलिभिजन कार्यक्रम प्रसारण गर्ने

अन्तरजातीय प्रेम गरेकै कारण गैरदलितबाट मारिएका अजीत मिजारको शव चार-पाँच वर्षदेखि टिचिङ अस्पतालमा किन लावारिश छ ?
समता फाउन्डेसनले कान्तिपुर टेलिभिजनमार्फत जातको प्रश्नु नामक टेलिभिजन कार्यक्रम प्रसारण गर्ने

साउन १७ गते २०७७
कोरोना लकडाउनमा दलित समुदायविरूद्ध हिंसा झनै बढेको समाचार विभिन्न सञ्चार माध्यममा दिनदिनै आइरहेका छन्। अन्तरजातीय प्रेम सम्बन्धका कारण रूकुम पश्चिममा चार जना दलितसहित ६ जना युवाको हत्या, रूपन्देहीमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, खान नपाएर मलर सदाको मृत्यु, प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु केही प्रतिनिधि घटना हुन्।

दलित तथा सीमान्तकृत समुदायले भोग्नुपरेको यिनै सामाजिक उत्पीडन र विभेदविरूद्ध नीतिगत बहस तथा पैरवी गरी सामाजिक न्यायको वकालत गर्ने उद्देश्यले समता फाउन्डेसनले कान्तिपुर टेलिभिजनमार्फत जातको प्रश्नु नामक टेलिभिजन कार्यक्रम प्रसारण गर्ने भएको छ। शान्ता नेपाली प्रोडक्सनको निर्माण रहेको यो कार्यक्रम अभिनेता राजेश हमालले सञ्चालन गर्नेछन्।

कार्यक्रमबारे जानकारी दिन आयोजित समारोहमा हमालले बोलेका कुराको सम्पादित अंशः

हाम्रो संस्कार र परम्परामा मलाई सबभन्दा चित्त नबुझ्ने कुप्रथामध्ये एउटा मान्छेले अर्कोमान्छे प्रति गर्ने भेदभाव हो। कुनै एक व्यक्तिको वर्णव्यवस्था पृष्ठभूमिकै आधारमा भेदभाव मात्रै होइन, असाध्यै क्रुर अमानवीय व्यवहार पनि गरिन्छ। एउटा व्यक्तिले अर्को व्यक्तिमाथि अमानवीय व्यवहार गर्ने छुट पाएको र हक हो भन्ने सोच्दै आएको कुरा मलाई चित्त बुझ्दैन।

म यही समाजको उपज हुँ। मेरा पुर्खाले पनि यही समाजको रीतिरिवाज वा कुरीति केही न केही हदसम्म अपनाउँदै आउनुभएको थियो। यति हुँदाहुँदै पनि मेरा आमाबुवा प्रगतिशील विचारधाराको हुुनुहुन्थ्यो। यसमा मलाई गर्व लाग्छ।

मेरा हजुरबुबा हजुरआमाले अपनाएका केही परम्परागत प्रथा मैले प्रत्यक्ष देखेको थिएँ। मेरी आमामा पनि त्यसको असर देखिन्थ्यो। तर हामीलाई यस्तो कुरामा यही हुनुपर्छ भनेर लाद्ने काम कहिल्यै गर्नुभएन। हामीलाई स्वतन्त्र छोड्नुहुन्थ्यो। जातको मुद्दामा म संवेदनशील हुनुमा आफ्नै विवेक र विचारले निर्णय लिने छुट पाएकाले पनि काम गरेको छ भन्ने लाग्छ। यसमा उहाँहरूलाई श्रेय दिनैपर्छ।

हाम्रो घरमा एकजना सहयोगी हुनुहुन्थ्यो। म पाँच-सात वर्षको हुँदा उहाँ २२/२५ वर्षको हुनुहुन्थ्यो होला। म सानो बालकले उहाँलाई तँ भनेर सम्बोधन गरिरहेको हुन्थेँ। मेरो बुबालाई कताकता चित्त नबुझेको रहेछ। एक दिन बुबाकै अगाडि तँ भनेको सुनेपछि उहाँले मेरो कान समातेर गाली गर्नुभएको थियो। घिसारेर मलाई ती व्यक्तिसँग माफी माग्न लगाउनुभएको थियो। अरुलाई आदर गर्नुपर्ने र हेप्न नहुने कुराको प्रशिक्षण मैले यसरी घरमै पाएको हुँ। यसले मेरो हुर्काइ र सोचाइमै असर पारेको छ।

हाम्रो समाजमा मात्रै होइन, संसारभर नै जात, रंग, वर्ण, लिंग वा अन्य पृष्ठभूमिका हिसाबमा विभेद भइरहेको हुन्छ। त्यसैले यो जादूको छडी जस्तै गरेर, छु मन्तर गरेर जरैदेखि समाधान हुन्छ भन्नेमा ठूलो प्रश्नचिह्न छ। अन्यौल पनि छ।

त्यति हुँदाहुँदै हाम्रो कर्म र कर्तव्य के हुन्छ भने, यसबारे सार्वजनिक वृत्तमा छलफल गरिरहने, कार्यक्रमहरू बनाइरहने र आममान्छेमा गएर यस्ता भेदभाव र अन्यायबारे सन्देश सम्प्रेषण गरिरहन सक्छौं।

यस्ता विभेदबारे र समस्याबारे सम्बन्धित पक्षले मात्रै त्यसको समस्या हल गर्नु पर्छ भन्ने छैन। समस्यामा परेका समुदाय माथि उठ्न अन्य समुदायको पनि जरुरत पर्छ। दलितको मुद्दामा दलितले नै बोल्नुपर्छ भन्ने छैन। विभेदमा परेको व्यक्ति र समुदायलाई समस्याबाट उकास्न अरु सबैको उत्तिकै भूमिका हुन्छ। कुनै पनि सामाजिक समस्यामा बोल्ने, प्रश्न गर्ने र त्यसलाई बदल्नमा सबैको भूमिका हुन्छ।

दलितको समस्यामा हातेमालो गर्न गैरदलितको पनि उत्तिकै जिम्मेवारी हुन्छ। अन्य समूह र समुदायको सवालमा पनि त्यही हो। महिलाको मुद्दामा महिलामात्रै बोलेर अघि बढ्न सकिँदैन। पुरुषले पनि हातेमालो गरेर महिला अधिकार पाइने हो।

जातको विषयमा सबभन्दा जटिल कुरा के भने, कानुनमा जे-जे हुनुपर्ने त्यो छ तर कानुनमा भएका कुरा व्यवहारमा उतार्न, परम्परागत हिसाबले चलिरहेको रीतिरिवाज मेटाउन अत्यन्तै कठिन हुँदो रहेछ। त्यसकारण कानुन आफ्नो ठाउँमा बलियो हुँदाहुँदै पनि हामी खरो रुपमा उत्रिन सकेका छैनौं। यस कारण भेदभाव र अमानवीय घटना भइरहेका छन्। चाहे रुकुमको घटना होस् वा अन्य। यो कुरा हामी देखिरहेका छौं।

रुकुमकै घटनामा, एउटा एउटा समुदायले अर्को समुदायमाथि क्रुर व्यवहार र हत्यासम्म गर्ने आँट कसरी गर्यो ? कहीँ न कहीँ अपराध गर्नेले सोच्छ होला, जसले कानुनको रक्षा गरिरहेको छ, उनीहरू नै जातीय मुद्दालाई फितलो हिसाबले लिन्छन्, गम्भीर छैनन् कि!

यस्तै दृष्टिकोणबाट उनीहरूलाई त्यो अपराध गर्ने आँट आयो कि ?

त्यसैले यसबारे हामी सबैले मिलेर गम्भीरतापूर्वक मनन गर्नुपर्छ। कानुनमा भएका कुरा शतप्रतिशत र तुरुन्तै कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे पहल गर्नुपर्छ।

अन्तरजातीय प्रेम गरेकै कारण गैरदलितबाट मारिएका अजीत मिजारको शव चार-पाँच वर्षदेखि टिचिङ अस्पतालमा किन लावारिश छ ? एउटा न एउटा पक्षमा निर्णय त भइसक्नुपर्ने हो नि अहिलेसम्म।

समाजमा यसले के नजिर बसाउँछ भने कानुन पालना गराउनेहरू पनि यो मुद्दामा जति गम्भीर हुनुपर्ने हो, त्यति गम्भीरता देखाउन चुकिरहेका छन् कि ?

यस्तै विषयमा हामीले विभिन्न सरोकारवाला र विज्ञसँग प्रश्न गरेका छौं र यो कार्यक्रमलाई जातको प्रश्नु भनेका छौं। विभिन्न पृष्ठभूमिका व्यक्तिसँग यिनै विषयमा बहस गर्नेछौं।

कानुन आफ्नो ठाउँमा छ, व्यवहारमा उत्रिरहेको छैन। जातकै बलमा विभिन्न किसिमका अपराध गर्नेहरूमा हिम्मत कहाँबाट कसरी आइरहेको छरु जातको प्रश्नमा यसका उत्तरहरू खोज्ने प्रयास गरेका छौं।

त्यसैले यसमा हामी सबै गम्भीर हुनुपर्छ। मैले यसलाई एउटा प्रस्तोताका रूपमा भन्दा आत्मसात गरेरै यो कार्यक्रममा जोडिएको हो। मेरो व्यक्तिगत व्यवहार, संवेदनशीलताले पनि मलाई असाध्यै यो काममा जोडिने निर्देशित गरेको छ।

वर्षौं चलचित्रमा काम गर्दा पनि मैले जातीय विभेदका घटना देखेको छु। समस्या बुझ्ने प्रयास गरेको छु। म यस्तो कलाकार हुँ, जसले चलचित्रमा प्रतिनिधित्व नगरेको समुदाय सायदै होला।

हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म विभिन्न पृष्ठभूमिका व्यक्तिको प्रतिनिधित्व गर्ने अवसर पाएको छु। हिमालको शेर्पादेखि मधेसका किसानको भूमिका निर्वाह गरेको छु। दलित समुदाय पात्रको पनि प्रतिनिधि बनेको छु। ती पात्रको प्रतिनिधि भएर अभिनय गर्दा मैले पात्रको संवेदना पनि बुझ्ने मौका पाएको छु।

एउटा कलाकारले जब कुनै पनि पात्रको भूमिका निर्वाह गर्छ ऊ कलाकारितामा मात्रै सीमित हुँदैन। पात्रको भावना, भोगाई र कठिनाइको प्रभाव उसको सोच र अर्धचेत मनमा बसिरहेको हुन्छ। मनमस्तिष्कमा प्रभाव परिरहेको हुन्छ।

हामी चलचित्रमा काम गर्दा वास्तविक लोकेसनमा गएर गर्छौं। फलामको काम गर्ने व्यक्तिको भूमिका निर्वाह गर्दै त्यही मान्छेको घरमा गएर काम गर्छौं। समाजमा पनि एउटा हिपोक्रेसी भन्ने कि के, हामी छायांकनका लागि दलितका घर जाँदा पूरै गाउँका मान्छे त्यो घर आउँछन्। अरू बेला जातका कारण उनीहरू त्यहाँ पाइलासमेत टेक्दैनन्।

दलितका घरमा जाँदैमा केही हुने त हैन रहेछ। यो त परम्पराबाट आएको कुविचार र कुप्रथाका कारण भएको रहेछ। त्यसलाई हटाउन सक्यो भने त समाजमा विभेद हट्ने रहेछ। त्यसैले समाज बदल्न सोच बदल्नु पर्ने रहेछ।

प्रतिक्रिया दिनुहोस