२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

१८ साउन , २०७७

आहार, निद्रा वा ब्रह्मचर्य

प्रकृति अनुसार भोजन
आहार, निद्रा वा ब्रह्मचर्य

यो मानव जीवनको तीन आधार स्तम्भ हो । यसमा आहार एक महत्वपूर्ण स्तम्भ हो । आहार के हो ?

यसको बयान गर्दै महर्षि चरकले भनेका छन्, ‘अन्न-नलीद्वारा जुन पदार्थ आमाशयमा पुग्छ । र, त्यो हाम्रो शरीरमा धातुको पोषण, रक्षण र क्षतिपूर्ति गरेर जीवन–प्रक्रियालाई संयमित राख्छ । त्यही आहार हो ।’

अर्थात आवश्यक पोषण तत्व परिपूर्ति गरेर शरीरको कार्य-सम्पादन गर्नमा सघाउ पु¥याउने नै आहार हो । यसले शरीरलाई उर्जा प्रदान गर्छ ।

आर्युवेदमा भनिएको छ, शरीरको निर्माण पोषणयुक्त आहारबाट हुन्छ । अर्थात पोषणले युक्त । अयुक्त आहारले शरीरमा रोग उत्पन्न गर्छ ।

युक्त आहार असलमा मिताहार नै हो । देश, काल, ऋतु, मात्रा, शारीरिक बनावट र मानसिक वृत्तिको ध्यानमा राखेर युक्तिपूर्वक आहार ग्रहण गर्नुपर्छ । यसले शरीरको दोष, अग्नि र धातुलाई समान अवस्थामा राख्छ । मल निष्कासनको प्रक्रिया ठीक प्रकारले हुन्छ । साथै मन वा इन्द्रिय प्रशन्न रहन्छ ।

हठयोगमा आहारको वयान गरिएको छ ।

भोजन मिठो र सुपाच्य हुनुपर्छ । त्यस्तो भोजन भगवानलाई समर्पित गरेर आमाशयको एक तिहाइ भाग पूर्ण गर्नका लागि खानु पर्छ । आमाशयको एक चौथाई भाग पाचन क्रियाका लागि वायुका लागि खाली छाडिदिनुपर्छ ।

अतः जतिसुकै भोक लागेपनि भोक लागेको भन्दा केहि थोरै खानेकुरा खानुलाई मिताहार भोजन भनिन्छ ।

आहार पौष्टिक, स्वादिलो हुनुपर्छ । सकेसम्म गाईको दुधले बनेको भोजन ठिक हुन्छ । साथै त्यसबाट धातुलाई पोषण र मनलाई खुसी प्राप्त हुनुपर्छ । भोजन केवल भोक मेटाउने वा पेट भर्ने साधन होइन ।

भोजनले शरीरको सात धातु (रस, रक्त, मासु, हड्डी, मज्जा वा शुक्र) बनाउँछ । इन्द्रियलाई उर्जा दिन्छ । भोजनले शरीरको विकास गर्ने र त्यसलाई निरोगी बनाउने काम गर्छ । त्यसैले भोजन गर्नुअघि त्यसको सही चयन गर्न सक्नुपर्छ । अर्थात त्यसमा आवश्यक तत्व, कार्बोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन, खनिज, लवण र जल हुनुपर्छ ।

भोजन गर्दा हतारमा वा छिटोछिटो गर्नु हुँदैन । भोजन बिस्तारै-बिस्तारै, प्रेमपूर्वक वा शुद्ध भावले गर्नुपर्छ । अक्सर हामी हतारमा चपाएर निल्छौ । यसो गर्दा मुखबाट निस्कने ¥याल खानामा सही ढंगले घुलमिल हुन पाउँदैन । त्यस्तो भोजन पेटमा पुगेपछि पाचन प्रणालीलाई बोझ हुन्छ । यसले आन्द्रालाई कमजोर बनाउँछ ।

दाँतले पनि राम्ररी आफ्नो काम गर्न पाउँदैन, त्यसैले त्यो पनि कमजोर हुन्छ ।

खाना राम्ररी चपाएर खानुपर्छ, जसले गर्दा त्यसमा रहेको पौष्टिक तत्व हाम्रो शरीरमा राम्ररी प्राप्त हुन सकोस् । त्यसैले के भनिन्छ भने, भोजनलाई त्यसबेलासम्म निल्नु हुँदैन, जबसम्म त्यो पिसिएर रसदार हुँदैन ।

यसै प्रकारले पेय पदार्थ पनि मुखमा राखेर पिउनुपर्छ । भोजन गरेको समयमा चिसो पानी पिउनु हुँदैन । भोजन गर्नुभन्दा आधा घण्टा अघि वा आधा घण्टा पछि मात्र पानी पिउनुपर्छ ।

जिब्रोको दुई वटा काम छ । पहिलो स्वाद लिने, दोस्रो बोल्ने ।

यदि यी दुबै कामलाई आफ्नो अधिनमा लिन सकेमा मानिस स्वस्थ्य र सुखी रहन्छ । स्वादका लागि जस्तोपायो त्यस्तै खानेकुरा सेवन गर्दा रोगी हुन्छ । साथै जे पायो त्यही बोल्दा दुख वा सत्रुको सामना गर्नुपर्छ । यी दुबैमा नियन्त्रण गर्नुपर्छ ।

अक्सर के हुन्छ भने हामी स्वादिष्ठ खानेकुरामा लोभिन्छौ र जिब्रोको निर्देशन मानेर जे पनि खान्छौ । कति मान्छे त दिनहुँ समोसा, पकौडा, चाट, तारेको खानेकुरा सेवन गर्छन् । पिरो, अमिलो वा मसेलदार खानामा लोभिन्छन् । उनीहरु जिब्रोलाई महत्व दिन्छन् । यसले स्वास्थ्यलाई खराब गर्छ ।

यसैले खानुअघि बुद्धिको प्रयोग गर्नुपर्छ । खाना अगाडि आएपछि यो सोचौं कि, उक्त खाना शरीरमा गएपछि त्यसले असर त गर्र्दैन ?

यस्तो खानेकुरा सेवन गरौ, जो स्वास्थ्यवद्र्धक होस् । खानपानमा नियन्त्रण गरौ ।

व्यक्ति प्रकृतिसँग जति नजिक हुन्छ, उतिनै बढी स्वस्थ हुन्छ । अहिले रोगको कारण नै मानिसहरु प्रकृतिबाट टाढा हुनु हो । फलस्वरुप प्रकृतिबाट मिल्ने स्वभाविक उर्जा शरीरले पाएको छैन । जबकी सम्पूर्ण प्रकृति हामीलाई स्वस्थ्य बनाइराख्नका लागि प्रयासरत हुन्छ । त्यसैले प्राकृतिक खाद्य पदार्थ जस्तो कि, अन्न, फल आदिमा धेरै निर्भर हुनुपर्छ ।

ऋतु अनुसार मिल्ने सब्जी, फल स्वास्थ्यमैत्री हुन्छ । जबकी कोल्ड स्टोरमा राखिएको खानेकुरामा पोषक तत्व हुँदैन ।

खानेकुरामा सबै किसिमको पोषण तत्व हुनुपर्छ । साथै त्यसमा सबैखाले रंग पनि हुन आवश्यक छ । खाना सेवन गर्दा हातले गर्नु राम्रो हो । यो हाम्रो परम्परा पनि हो । हातले खाना सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने वैज्ञानिक तथ्य नै छ ।

भावको अभाव किन ?

खाना खाने क्रममा हामी अरु काम गरिरहेका हुन्छौ । र, ठान्छौ खाना खाने समय वर्वाद भएन । तर, यो एकदमै बेठिक हो । खाना खाएको बेला अन्यत्र ध्यान दिनु वा अन्य काम गर्नु ठिक होइन । खाना सेवन गरिरहँदा सम्पूर्ण ध्यान खानामा हुनुपर्छ ।

खाना खएको बेला हामीमा खानाप्रति शुद्ध भाव हुनुपर्छ । खाना शरीरमा गएपछि उर्जाको रुपमा खर्च भएको तत्व परिपूर्ति गर्छ, रोगबाट लड्छ, बल–बुद्धि आरोग्य वा सुन्दरता दिन्छ । अतः भावको अभावमा भोजनले शरीरमा राम्रो प्रभाव पार्दैन ।

खाना खाएको समय ठिक ढंगले बसेर, शान्त मनले खानामै केन्द्रित भएर खानुपर्छ ।

खाना खाएको समय हतारमा, रिस, आवेगमा हुनु हुँदैन ।

दुई पटक मलत्याग

सामान्यत हामी दिनमा दुई पटक भरपेट खाना खान्छौ, जसले दुई पटक मल अर्थात दिसा बन्छ । तर, हामी एक पटक मात्र खासगरी बिहानको समयमा दिसा उत्सर्जन गर्छौ । र, एक समय मल आन्द्रामै रहन्छ । यसले कब्जियत, ग्याष्ट्रिक, भारिपन, आलस्य, रक्त विकार, छाला रोग आदि हुन्छ । त्यसैले दुई पटक खाना खान भएपछि बिहान र साँझ दुई पटक शौचालय आवश्य जानुपर्छ ।

प्रकृति अनुसार भोजन

हाम्रो शरीरमा वात, पित्त र कप यी तीन दोष अनिवार्य उपस्थित हुन्छ । यी दोष विकृत भएपछि शरीरमा अनेक प्रकारको रोग लाग्छ । शरीर जुन प्रकृतिको हुन्छ, शरीरमा जस्तो विकार हुन्छ, त्यसलाई ध्यानमा राखेर भोजन गर्नुपर्छ ।

पथ्य र अपथ्य

भोजन दुई प्रकारको हुन्छ, पथ्य र अपथ्य । जुन भोजन शरीरलाई स्वस्थ्य बनाइराख्छ, बल, बुद्धि, दीर्घायु दिन्छ, त्यो पथ्य हो ।

जो भोजन शरीरमा रोग उत्पन्न गर्छ त्यो अपथ्य हो ।

पथ्य–अपथ्यको जानकारी नहुँदा हामी यस्तो भोजन गर्छौ, जुन गर्न नहुने थियो ।

गीतामा गुण–भेदको दृष्टिबाट आहारको तीन प्रकारको हुने भनिएको छ । सात्विक, राजसी, तामसिक । सात्विक आहारले आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रेम बढ्छ । राजसी आहार लवणयुक्त, अधिक तातो, जलन पैदा गर्ने, रुखो हुन्छ । तामसिक आहार जो अधकल्चो, रसहीन, दुर्गन्धित, बासी र अपवित्र हुन्छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस