३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

२० साउन , २०७७

बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिने कि ?

बालबच्चा जस्तो छन्, त्यही अवस्थामा रमाउन दिनुपर्छ
बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिने कि ?

बालबच्चा जस्तो छन्, त्यही अवस्थामा रमाउन दिनुपर्छ । अर्थात उनीहरुमाथि अति निगरानी र हस्तक्षेप उचित हुँदैन । यदि उनीहरु गलत काम गरिरहेका छन् भने त्यसमा सर्तक गराउनै पर्छ । तर, सामान्य अवस्थामा पनि उनीहरुलाई ‘यो गर’, ‘त्यो नगर’ भन्दै नियन्त्रण गर्दा त्यसले राम्रो नतिजा नदिन सक्छ ।

बालबच्चा चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । जे देख्यो, छुन खोज्छन् । चलाउन खोज्छन् । नयाँ कुराप्रति उनीहरुको चासो हुन्छ । प्रश्न हुन्छ । त्यही चासो वा प्रश्न मेटाउन उनीहरुले केही न केही गरिरहेका हुन्छन् । जस्तो, खेलौना खोतल्छन् । भाँडावर्तन ठट्याउँछन् । सिरानीको कपास निकाल्छन् । भासमा सजाइएको फूल निकाल्छन् ।

घरबाहिर खाल्डोमा पानी जमेको हुन्छ । उनीहरुलाई त्यही आफ्नो खुट्टा डुबाउन मन पर्छ । आकासबाट झमझम पानी परिरहेको हुन्छ । उनीहरुलाई बेपर्वाह पानीमा भिज्न मन लाग्छ । आमाबुवाको सिको गर्दै आफ्नो लुगाफाटो पानीमा भिजाएर धुन मन लाग्छ । भान्साको सब्जी आफुखुसी काट्न मन लाग्छ । पुस्तक, पत्रिकामा चित्र बनाउन मन लाग्छ ।

आमाबुवालाई लाग्छ, आफ्ना छोराछोरी चकचके भए । घर सफा–सुग्घर राख्नै दिएनन् । लुगाफाटो मैला बनाए । जुत्ता पानीमा भिजाए । भाँडावर्तन जुठो बनाए । खेलौना, सजावटका सामाग्री लथालिंग पारिदिए । त्यही कारण धेरैजसो आमाबुवा छोराछोरीमाथि निर्देशन गरिरहेका हुन्छन्, ‘यस्तो नगर, यसरी नगर ।’

कतिसम्म भने बालबच्चाले आफै भात खाँदा जुठो बनाउँछ वा राम्ररी खान सक्दैन भनेर आमाबुवाले ख्वाइदिन्छन् । बालबच्चाले खेलौना खेलिसकेपछि राम्ररी मिलाउँदैन भनेर बुवाआमाले आफै मिलाइदिन्छन् ।

धेरै बुवाआमालाई लाग्छ, आफ्ना बालबच्चा चञ्चल वा चकचके नहोस् । शान्त र ज्ञानी होस् । आज्ञाकारी होस् । अहिले मोवाइल खेलाउन पाएपछि बच्चाहरु एकै ठाउँ घण्टौंसम्म चुपचाप बस्छन् । त्यही कारण पनि कति आमाबुवाले बच्चालाई खेलौनाकै रुपमा मोवाइल खेल्न दिन्छन् । जबकी यसले उनीहरुको शारीरिक र मानसिक विकासमा गंभीर असर पु¥याइरहेको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

अहिलेका बच्चालाई आफ्नै ढंगले हुर्कन दिइदैन । आफ्नो बालबच्चालाई राम्ररी हेरचाह गर्ने चक्करमा बुवाआमाले बढी नै निगरानी गरिरहेका छन् । बढी नै नियन्त्रण गरिरहेका छन् । बच्चाहरुलाई बच्चा जस्तै हुन दिनुपर्छ । तर, बुवाआमाले बच्चालाई ‘भलाद्मी’ बनाउने चक्करमा अनावश्यक रुपमा नियन्त्रण गरिरहेका पाइन्छन् । उनीहरुले खेल्न चाहेका कुरा खेल्न पाइरहेका छैनन् । गर्न खोजेका कुरा गर्न पाइरहेका छैनन् । सोध्न खोजेका कुरा सोध्न पाएका छैनन् ।

पछिल्लो समय स्वभाविक रुपमा छोराछोरीमाथि आमाबुवाको लगाव बढ्दो छ । थोरै सन्तान जन्माउने, मनग्ये सेवा सुविधा दिएर सहज वातावरण दिएर हुर्काउने प्रवृत्ति छ । छोराछोरीलाई कसरी पोषिलो ख्वाउने ? कसरी स्वस्थ्य राख्ने ? कसरी अनुशासित बनाउने ? कसरी तिक्ष्ण एवं अब्बल बनाउने ? आमाबुवाको ध्यान यसैमा केन्द्रित हुन थालेका छन् । यस क्रममा आमाबुवाले के गल्ती गरिरहेका छन् भने, बालबच्चालाई आफ्नो नियन्त्रण र निर्देशनमा बाँधेर राख्ने । आफ्नो आँखाभन्दा दायाँबायाँ गर्न नदिने । यसलाई अहिले हेलिकोप्टर प्यारेन्टिङ पनि भन्न थालिएको छ । यस किसिमको अभिभावकत्वले बच्चालाई सबल र सक्षम भन्दा पनि परनिर्भर बनाउँदैछ ।

विगतमा यस्तो थिएन । चेतनाले भन्दा पनि बाध्यताले गर्दा धेरै आमाबुवाले बालबच्चामाथि कडा निगरानी गर्दैनथे । बच्चाहरु आफै खेल्थे, आफै खान्थे, आफै रमाउथे । आफुलाई मन लागेको गर्थे । रुन्थे, झगडा गर्थे । यसरी उनीहरु आफ्नो हिसाबले हुर्कन्थे । बुवाआमाको अनावश्यक हस्तक्षेप, नियन्त्रण एवं निगरानी थिएन ।

यसरी हुर्कन पाएका कारण उनीहरुको शारीरिक एवं मानसिक विकासमा धेरै फाइदा पुग्यो । आफ्नो कौतुहलता मेट्न आफैले प्रयास गरे । आफुलाई भोक लागेको बेला खानेकुरा खोज्न सिके । आफुलाई चित्त नबुझ्दा बिरोध गर्न सिके । आफैलाई सम्हाल्न सिके । साथीभाईसँग मिल्न सिके । प्रतिस्पर्धा गर्न सिके ।

बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिनुपर्छ । उनीहरु जसरी खेल्न, रमाउन चाहन्छन्, त्यसमा छुट दिनुपर्छ । अनावश्यक हस्तक्षेपले उनीहरुलाई यन्त्रमानव जस्तै बनाउँछ । आमाबुवाको इशारा वा आदेश विना केहीपनि गर्न  नसक्ने अवस्थामा पुग्छन् ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस