३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२१ साउन , २०७७

पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ नेपालमा कसरी भित्रियो ?

महानिर्देशक भन्छन्– आश्चर्यमा परेका छौं
पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ नेपालमा कसरी भित्रियो ?

गाई-भैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपाल भित्रिएको पुष्टि भएको छ । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँले नेपालमा फैलिन थालिसकेको छ । लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन ।

पछिल्लो समय प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको छ । प्रदेश १ मा यही रोगले केही गाईभैंसी मरेका छन् । यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु हुन्छ ।

पशुको विकास र दूग्ध उत्पादन चक्रमा तुरुन्तै असर देखिने यो रोगले मासु उत्पादनमा समेत ठूलो असर गर्छ । यही रोगका कारण कृषकमा विचलन आउँदा भारत र बंगलादेशले ठूलो मूल्य चुकाइरहेको मानिन्छ ।

नयाँ रोगको संक्रमणले दूध उत्पादनमा ठूलो ह्रास आउने पशु चिकित्सक बताउँछन् । उनीहरुका अनुसार, झापामा यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ ।

महानिर्देशक भन्छन्– आश्चर्यमा परेका छौं

सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान छ । पूर्वी नेपालको विभिन्न जिल्लाका गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग चितवनमा पनि देखिएको छ ।

तर यो रोग नेपालमा कसरी भित्रियो भन्ने कारण पत्ता लगाउन पशु सेवा विभागले सकेको छैन । पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्मा भन्छन्, ‘रोग पुष्टि भएको छ, तर कसरी भित्रिएर फैलियो हामी नै आश्चर्यमा छौं ।’

रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ । किनभने सम्भावित पशु रोग नियन्त्रण गर्न नेपालका १८ वटा नाकामा पशु क्वारेन्टाइन कार्यालय छन् तर काम भने प्रभावकारी छैन ।

नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान गरिए पनि पशु सेवा विभागका महानिर्देशक डा. शर्मा लकडाउन अवधिमा गाई, भैंसी वा अरु चौपाया नेपाल ल्याउन सम्भव नै नभएको बताउँछन् ।

हेलचेक्र्याइँ छ, कारबाही छैन

पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई कति हदसम्म छ भन्ने कुराको पुष्टि हालै ‘क्याट फिस’ भित्रिएको घटनाले पनि गर्छ ।

असार अन्तिम साता विराटनगर भन्सार कार्यालयबाट ७ हजार पाँच सय किलो ‘माछा’ नेपाल भित्रिएको थियो । भन्सार र भन्सारमा रहेको पशु सेवा विभागको क्वारेन्टाइनबाट पास भएर सुनसरीको इनरुवा आइपुगेको माछाका बाकसहरुमा नेपाल सरकारले आयात प्रतिबन्ध लगाएको ‘क्याट फिस’ पनि थियो ।

माछा बोकेको डब्लू बी २५ जे ६१२१ नम्बरको ट्रकले सबै प्रक्रिया पूरा गरेको भन्दै क्वारेन्टाइनले भन्सारलाई आयात सहमति दिएको थियो । जबकी, कृषि मन्त्रालयले माछामासु तथा पशुजन्य वस्तु आयातका लागि अनुमति जारी गरेकै छैन ।

सीमामा ‘मिलाएर’ नेपाल भित्र्याइएका ती माछा सुनसरी प्रहरीले नष्ट गरे पनि ‘मिलाउनेहरु’ कारबारीमा परेका छैनन् । सुनसरीको यो घटना सीमा क्षेत्रका क्वारेन्टाइनमा हुने हेलचेक्र्याइँ र सेटिङको एउटा नमूना हो, जसले लकडाउनको अवधिमा भारतबाट पशुहरु नभित्रिएको भन्ने पशु सेवा विभागको दाबीलाई कमजोर बनाउँछ ।

लम्पी स्किनबारे अनुसन्धान भइरहेको विभागका महानिर्देशक डा. शर्मा बताउँछन् । यसबारे अहिले दिन सकिने तथ्य–तथ्यांक भने नभएको उनले बताए । सूचना प्रविधिको युगमा पनि डा. शर्मा भन्छन्, ‘यस्तो लकडाउन छ, सूचनाहरु नै प्राप्त हुन सकेको छैन ।’

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस