२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२४ साउन , २०७७

कालिकोटका पहिरो प्रभावितका लागि राहत बितरण

अविरल बर्षापछि साउनको दोस्रो साता आएको पहिरोबाट प्रभावित कालिकोट जिल्लाको तीन वटा गाउँपालिकाका स्थानीयवासीका लागि राहत वितरण शुरु गरिएको हो
कालिकोटका पहिरो प्रभावितका लागि राहत बितरण

कालिकोटका पहिरो प्रभावितका लागि राहत वितरण गरिएको छ । अविरल बर्षापछि साउनको दोस्रो साता आएको पहिरोबाट प्रभावित कालिकोट जिल्लाको तीन वटा गाउँपालिकाका स्थानीयवासीका लागि राहत वितरण शुरु गरिएको हो ।

अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालले प्रदेश सरकार, जिल्ला विपत व्यवस्थापन समिति कालिकोट तथा स्थानीय सरकारसँगको समन्वय तथा साझेदार संस्थाहरु किर्डाक नेपाल, सादा नेपाल तथा हुरेन्डेक नेपालको सहकार्यमा नरहरिनाथ, सानी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका ५ सय परिवारहरुका लागि राहत वितरण गरिएको हो ।

रहात वितरणको पहिलो दिन नरहरिनाथ गाउँपालिकाका १ सय ४२ परिवारका लागि गैर खाद्य र स्वच्छता सामग्रीहरु प्रदान गरिएको छ । नरहरीनाथमा अति प्रभावित २ सय परिवारका लागि राहत वितरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी, आइतबारदेखि सान्नी त्रिवेणी गाउँपालिका तथा रासकोट नगरपालिकाका १५०÷१५० परिवारका लागि पनि राहत वितरण गरिनेछ । विगतमा जस्तै प्लान इन्टरनेशनल नेपालले प्रदेश सरकार, जिल्ला विपत व्यवस्थापन समिति तथा स्थानीय सरकारसँग मिलेर राहत वितरण गरेको हो ।

राहत प्राप्त गर्ने लाभग्राहीको छनोट स्थानीय सरकारको समन्वयमा भएको प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रवन्धक मीना पराजुलीले जानकारी दिईन । राहत वितरण गर्दा कोरोना संक्रमणबाट जोगिने उपाय र मापदण्ड लागू गरि बितरण गरिएको उनले बताईन ।

स्थानीय सरकार र सरोकारवाला निकायले पहिरो प्रभावितका लागि सहयोग गर्न तदारुकता देखाएर सबैभन्दा पहिलो राहत वितरण गरेकोमा प्लान इन्टरनेशनलप्रति आभार प्रकट गरेका छन् । राहत प्राप्त गरेपछि नरहरिनाथ गाउँपालिका वडा नम्वर ४ की २६ वर्षीया तृष्णा विकले भनिन्,–‘पहिरोका कारण विस्थापित भएका बेला हामी विपन्न परिवारका लागि राहतको व्यवस्था गरेकोमा खुशी लागेको छ, यसले हामीलाई थप जोखिमबाट जोगाउन मद्धत गर्नेछ ।’ अविरल बर्षापछि आएको पहिरोमा परि पछिल्लो पटक कालिकोटमा २० जनाको मृत्यु भएको थियो भने १ हजार १ सय भन्दा बढी परिवार विस्थापित भएका छन् ।

साभार – सदरलाइन

प्रतिक्रिया दिनुहोस