२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२५ साउन , २०७७

सुशान्त सिंह राजपुतः भारतीय अभिनेताको मृत्यु झन् रहस्यमय बन्दै

'भित्रिया र बाहिरिया'
सुशान्त सिंह राजपुतः भारतीय अभिनेताको मृत्यु झन् रहस्यमय बन्दै

सुशान्त सिंह राजपुतले आफूले अभिनय गरेका चलचित्रका पात्रहरू जस्तो एउटा असाधारण जीवन बाँचे।

तर उनको सामान्य सुरुवातदेखि लोकप्रियतासम्मको असाधारण जीवनयात्रा जुन १४ तारिखमा अन्त्य भयो जब उनी ३४ वर्षको उमेरमा आफ्नै कोठामा मृत अवस्थामा फेला परे।

उनको मृत्युको खबरले उनका लाखौँ प्रशंसकहरू मर्माहत भए। मुम्बई प्रहरीले उनले आत्महत्या गरेको बताएको छ।

भारतको अतिविपन्न राज्य बिहारमा हुर्किएका राजपुत एक उत्कृष्ट इन्जिनियरिङ कलेजमा भर्ना भएका थिए जुन एउटा मध्यम वर्गीय परिवारको उज्ज्वल भविष्य सुनिश्चित गर्ने माध्यम थियो।

  • कोरोनाभाइरसका कारण भारतीय चलचित्र उद्योग बलिउड ठप्प
  • राजेश खन्नाले कसरी सम्मोहित पारे?

तर उनी अभिनय गर्न चाहन्थे। त्यसैले उनले कलेज छोडे र मुम्बई आए। मुम्बई एउटा त्यस्तो सहर हो जहाँ दैनिक हजारौँका सपना साकार हुन्छन् वा तुहिन्छन्।

सुरुमा उनले सामान्य भूमिका रहेको पात्रको अभिनय गरे।

एउटा टेलिभिजन सिरियल चर्चित नबन्दासम्म उनले सानो भूमिकामा अभिनय गरे। र टेलिभिजनमा चर्चित बनेसँगै उनले ठूलो पर्दाका चलचित्रमा पनि सफलता पाए।

सानो सहरमा रहने युवाहरूको ठूलो हुने उद्देश्यसँग उनको जीवन मिल्ने भएकोले उनको मृत्युलाई थुप्रै प्रशंसकहरूले आफ्नै कोही आफन्त गुमाए जसरी लिए।

उनको मृत्यु भएसँगै सुशान्तको करिअर, आर्थिक हैसियत, सम्बन्ध र मानसिक स्वास्थ्यबारेका अपुष्ट विवरणहरू पनि सामाजिक सञ्जाल र न्यूज च्यानलहरूमा छ्यापछ्याप्ती आउन थाले।

उनको मृत्युपछि उनीसँग चिनजानमा रहेका कसैलाई पनि अन्तर्वार्ता लिन छोडिएन।

उनका मनोपरामर्शदाता, पुराना सहयोगीहरू, साथीहरू, व्यवस्थापक, परिवार र सहकर्मी सबैसँग गरिएका थुप्रै अन्तर्वार्ता टिभी च्यानलहरूले प्रसारण गरे।

प्रहरीले थोरैमात्रै विवरणहरू सञ्चारमाध्यमलाई दिइरहेका बेला उनको मृत्युसम्बन्धी रहस्यहरू थप गहिरो बन्दै गइरहेको छ।

  • कोरोनाभाइरस महामारीसँग मिल्दोजुल्दो कथा भएको यो चलचित्र एक दशकअघि बनेको थियो

‘भित्रिया र बाहिरिया’

उनको मृत्युको केही दिनपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भारतीय चलचित्र उद्योगमा थोरै शक्तिशाली परिवार र निर्देशकहरूले अन्यायपूर्ण व्यवहार गरेका कारण उनले आत्महत्या गरेको दाबी गरे।

उनीहरूले चलचित्र उद्योगमा उनको कुनै “गडफादर” नभएको र उनको प्रगति केहीलाई अस्वीकार्य भएको बताएका छन्।

ठूलो लगानी रहेका चलचित्रहरूमा उनलाई पाखा लगाइयो भन्ने हालैका खबरहरूलाई उनीहरूले इङ्गित गरेका हुन्।

राजपुतको मृत्युबारे मुम्बईको प्रहरीले अनुसन्धान गरिरहेको छ।

आत्महत्याको कारण पत्ता लाग्छ कि भनेर प्रहरीले अहिलेसम्म चलचित्र उद्योगका ५० जनाभन्दा बढी मानिससँग अन्तर्वार्ता गरिसकेको छ।

तर प्रहरी अधिकारीहरूले अन्तिम प्रतिवेदन भने तयार गरिसकेका छैनन्।

सामाजिक सञ्जालमा केही निर्देशक र निर्माताहरूविरुद्ध थुप्रै आरोप लगाइएका छन् र त्यसले उनीहरूलाई गम्भीर असर पारेको छ। तिनैमध्ये एक करण जोहर हुन्।

उनीमाथि अनलाइनमा धम्कीहरू आएका छन् र दुर्व्यवहारको पनि उनले सामना गरेका छन्। तर त्यस्ता धम्कीहरूमा उनले कुनै प्रतिक्रिया जनाएका छैनन्।

परिचय खुलाउन नचाहने एकजना चलचित्र समीक्षकले सुशान्तको मृत्युले राम्रो सम्पर्क नभएकाहरूले काम गर्ने अवसर पाउँदैनन् भन्ने तीतो सत्यलाई बहसमा ल्याएको बताएका छन्।

“तर व्यवसायिक प्रतिद्वन्द्विताले नै सुशान्तलाई त्यो अवस्थामा पुर्‍याएको हो कि होइन भन्ने हामीलाई थाहा छैन। अनुसन्धान नसकिँदासम्म हामीले प्रतिक्षा गर्नु्पर्छ,” उनले भने।

यो बहस चर्किरहेका बेला केही टिभी च्यानलहरूले आफ्नो ध्यान राजपुतकी प्रेमिका रिया चक्रवर्तीतर्फ मोडेका छन्।

राजपुतका बुवाले चक्रवर्तीविरुद्ध आत्महत्याका लागि उक्साएको र पैसा हिनामिना गरेको आरोप लगाउँदै बिहार राज्यस्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्।

चक्रवर्तीले भने आफूले कुनै पनि गलत काम नगरेको भन्दै राजपुतको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्री अमित शाहलाई ट्विटरमार्फत अपिल गरेकी छन्।

टिभी च्यानल र वेबसाइटहरूले राजपुतको मृत्यु हुनुमा दुईवटा पक्षहरू रहेको भनिरहेका छन्।

एकथरीले चक्रवर्ती र चलचित्र निर्देशकको व्यवहारले राजपुतले त्यो कदम चालेको दाबी गरेका छन् भने अर्काथरीले भने उनको मृत्यु निकै शङ्कास्पद भएको बताएका छन्।

र आ-आफ्ना भनाइहरू प्रमाणित गर्न उनीहरूले आफ्नो नैतिक दायरा नाघेको मानसिक स्वास्थ्यविज्ञ डा. सौमित्र पठारेले बताए।

राजपुतको ब्याङ्क खाताका विवरणसहित उनको मानसिक स्वास्थ्य र उनले लिइरहेका औषधिका विवरणबारे पनि समाचार बनेका छन्।

डा. पठारेले आत्महत्याजस्तो संवेदनशील विषयमा समाचार बनाउने सम्बन्धमा सबै समाचारसंस्थामा आचारसंहिता हुनुपर्ने बताए।

“तर दुखको कुरा, दर्शक सङ्ख्याको आधारमा चल्ने हाम्रो बजारमा धेरै च्यानलहरूले त्यो अनुसार गरेको देखिँदैन। एकले भन्दा अर्कोले बढी गर्ने प्रवृत्तिले उनीहरूले जिम्मेवारी बिर्सन्छन्,” उनले थपे।

सामाजिक सञ्जालमा राजपुतलाई फलो गर्ने लाखौँ युवाहरू छन् जो उनको मृत्युबारेका प्रत्येक नयाँ अफवाह वा घटनाक्रमहरू पढ्ने र हेर्ने गरिरहेका छन्।

ती युवाहरू मानसिक रुपमा जोखिमपूर्ण अवस्थामा हुनसक्ने भन्दै सञ्चारगृहहरू समाचार बनाउँदा थप जिम्मेवार हुनुपर्ने डा. पठारे बताउँछन्।

भारतमा मानसिक स्वास्थ्यको मुद्दा धेरै हदसम्म सम्बोधन गरिएको छैन र यसबारे वर्षौँदेखि गलत सन्देशहरू दिइँदै आइएको छ।

“हाम्रा चलचित्रहरूले वितृष्णामा भएको मानिसलाई पागल वा सधैँ दुखी रहने व्यक्ति जस्तो गरी देखाउँछ,” डा. पठारेले भने।

“डिप्रेसनमा भएको मानिस सधैँ उदास हुन्छ भन्नु एउटा कल्पित कुरा हो,” उनले थपे।

राजपुतले मृत्यु अगाडिका कस्ता सामग्री इन्टरनेटमा खोजिरहेका थिए भन्ने विवरणहरू सार्वजनिक गरेको भन्दै मुम्बई प्रहरीको पनि आलोचना भएको छ  ।

सुशान्तको गृहनगर बिहारमा यो वर्षको अन्त्यतिर चुनाव हुँदैछ।त्यसैले नेताहरू उनको परिवारलाई न्याय दिनका लागि लडेको देखिन चाहन्छन्।बिहारका मुख्यमन्त्री नितिश कुमारले उक्त मुद्दालाई सङ्घीय अनुसन्धान निकाय एफबीआई वा केन्द्रीय अनुसन्धान निकाय सीबीआईले अनुसन्धान गर्न सिफारिस गरेका छन्।उनीसँग सङ्घीय सरकारमा गठबन्धमा रहेको भारतीय जनता पार्टीले पनि सिफारिस स्वीकार गरेको छ र सीबीआईले अनुसन्धान सुरु गरेको छ।

साभार – बिबिसि

प्रतिक्रिया दिनुहोस