३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१ भदौंबाट बन्द प्रशिक्षण सञ्चालन गर्ने तयारी

सोमबार फुटबल खेलाडीहरुको कोरोना भाइरस संक्रमण परीक्षण

नेपालले सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२३ मा आयोजना हुने एसियाकपको दोस्रो चरणको छनोट प्रतियोगिताको ‘होम गेम’ खेल्न बाँकी
सोमबार फुटबल खेलाडीहरुको कोरोना भाइरस संक्रमण परीक्षण

साउन २६ गते २०७७

विश्वकप र एसियाकप छनोट प्रतियोगिताका आगामी खेलको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गर्नुअघि सोमबार फुटबल खेलाडीहरुको कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ ।

खेलाडीहरुले जावलाखेलस्थित पाटन अस्पताल पुगी परीक्षणका लागि ‘स्वाब’ दिएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी दुई महत्वपूर्ण प्रतियोगिताको तयारी स्वरुप १ भदौंबाट बन्द प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ ।

त्यसका लागि एन्फाले काठमाडौंबाहिर रहेका खेलाडीलाई समेत बोलाएर गत १८ साउनदेखि क्वारेन्टिनमा राखेको छ । काठमाडौंमा रहेका खेलाडीहरु भने आफ्नै घरमा क्वारेन्टिनमा छन् । उनीहरु मध्ये सोमबार ११ खेलाडी र १४ अफिसियलले कोभिड १९ संक्रमण परीक्षणका लागि स्वाब दिएका हुन् । एन्फा प्रवक्ता किरण राईका अनुसार बाँकी खेलाडीको परीक्षण भोली गरिने छ ।

परीक्षणमा संक्रमण नदेखिएका खेलाडीहरुलाई सातदोबाटोस्थित एन्फा एकेडेमीमै राखेर प्रशिक्षण सुरु गर्ने तयारी एन्फाले गरेको छ । त्यसका लागि एन्फाले एकेडेमी र मैदानलाई समेत ‘डिसिन्फेक्ट’ गरेको छ ।

नेपालले सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप र सन् २०२३ मा आयोजना हुने एसियाकपको दोस्रो चरणको छनोट प्रतियोगिताको ‘होम गेम’ खेल्न बाँकी छ । बाँकी खेलमध्ये नेपालले आगामी आठ अक्टोबरमा चाइनिज ताइपे, १३ अक्टोबरमा अस्टे«लिया र १२ नोभेम्बरमा जोर्डनसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने प्रस्ताव गरिएको छ ।

यद्यपि, कोभिड १९ महामारी पछिको अवस्थामा यो खेल तालिका परिवर्तन हुनसक्ने सम्भावना पनि देखिएको छ । विशेष गरी कोभिड १९ महामारी अझै नियन्त्रण बाहिर देखिएको अवस्थामा प्रतियोगिता खेल्न धेरै देश पुग्नु पर्ने र क्वारेन्टिनमा समेत बस्नु पर्ने समस्याका कारण बाँकी सबै खेल एकै देशमा गर्ने प्रस्ताव आउन थालेका छन् । यो प्रस्तावमाथि निर्णय भएको अवस्थामा नेपालले आफ्नो ‘होम गेम’ पनि देश बाहिरको भेन्युमा खेल्नु पर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस