२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

पुँजीवादले विभिन्न मायावी रूप ग्रहण गरिराख्छ

आन्दोलनविहीन वामपन्थी युवा

परिणामस्वरूप नेपालमा के देखिन थाल्यो भने किसानलाई मर्का प¥यो भने उनीहरू दूध बगाउन तयार हुन्छन्, तर प्रतिरोध गर्न तयार हुँदैनन्
- राम कार्की

आन्दोलनविहीन वामपन्थी युवा

साउन २६ गते २०७७

कम्युनिस्ट पार्टीमा आबद्ध चाहे त्यो युवा होस्, चाहे विद्यार्थी, किसान, मजदुर नै किन नहोस्, त्यो शक्तिले बितेका १५–२० वर्षमा कुनै ठूलो आन्दोलन नै गरेको छैन । खासगरी पुँजीवादले विभिन्न मायावी रूप ग्रहण गरिराख्छ । त्यसक्रममा पछिल्लो कालमा हामीकहाँ पनि पुँजीवादको नवउदारवादी स्वरूपले प्रवेश ग¥यो । विशेषगरी, ५० को दशकसँगै पालैपालो सरकारको नेतृत्व गरेका कांग्रेस, एमालेले विश्वको पछिल्लो ट्रेन्ड यही हो भन्दै नवउदारवादको नीतिलाई सहज रूपमा अँगाल्न पुगे । माओवादी आन्दोलन यसैको विकल्प दिन सुरु भएको थियो । समयक्रममा यो पनि नवउदारवादकै अँध्यारो सुरुङमा विलुप्त भयो । त्यसयता आजसम्म जे–जति परिवर्तन भए, सरकार फेरिए, उनीहरूले नवउदारवादसँग सम्बन्धविच्छेद गर्नै सकेनन् । बरु सबै सरकारले निरन्तर नवउदारवादलाई फलाउने–फुलाउने अनुकूलको काम मात्रै गरिरहे ।

नवउदारवादको मुख्य चरित्र के हो भने यसले तेस्रो विश्वका देशमा प्रवेश गरेपछि वामपन्थी र समाजवादी आन्दोलनलाई शत्रु ठानेर मुख्य तारो बनाउँछ । त्यसपछि क्रमशः प्रतिरोध गर्न सक्ने सबैखाले आन्दोलनलाई त्यसले समाप्त पारिदिन्छ । परिणामस्वरूप सामाजिक आन्दोलनको ठाउँमा एनजिओ–आइएनजिओ देखा पर्न थाल्छन् । त्यसले सामाजिक आन्दोलन र संस्थालाई प्रतिस्थापन गर्छ । लड्ने क्षमता भएका संस्था र समूहलाई झन्झन् कमजोर बनाउने र समाप्तिको अवस्थासम्म पु¥याउने त नवउदारवादको आमचरित्रै हो ।

अहिले करिब–करिब विकसित देश नवउदारवादकै कारण निकै ठूलो संकटको भूमरीमा परेका छन् भने हाम्रो मुलुक पनि त्यसैको चपेटामा परेकाले समस्या बढ्दै छ । यसले गर्दा ‘सेन्टर लेफ्ट’ शक्तिहरू क्रान्तिकारी बाटो हिँड्न सक्ने त कुरै भएन, बरु उनीहरू जनताको आधारभूत मुद्दामा पनि बोल्न नसक्ने अवस्थामा छन् । उनीहरूको धरातल मजदुर, सुकुमबासी भएकाले चुनाव आउँदा उनीहरूलाई सम्झिएर नारा तय गर्छन् । पाँच वर्षमा हुने चुनावी घोषणापत्रमा मजदुर, किसानका हितका पक्षमा अनेक कुरा लेख्छन्, तर चुनाव सकिएपछि उनीहरू कर्पोरेट हाउस र ठूला व्यापारिक घराना, बिचौलियाको सेवामा लीन हुन्छन् । अहिले हामीकहाँ देखिएको परिदृश्य ठ्याक्कै यही हो । हाम्रै पार्टीको चरित्र पनि झन्डै यही हो भन्दा अन्यथा मानिनेछैन ।

जनताको चेतनास्तरलाई हेर्ने हो भने त्यहाँ लामो समयदेखि कम्युनिस्टको प्रभाव छ । जहाँ कम्युनिस्ट पार्टीको प्रभाव घनीभूत रहन्छ, त्यहाँ नयाँ विचारले पालुवा हाल्न पाउँदैन । यो कम्युनिस्टका निम्ति ठूलै चुनौतीको विषय हो । जहाँ कम्युनिस्ट पार्टी हावी छैनन्, त्यस्ता मुलुकमा बरु समाजवादी विचारधारात्मक सवालमा थोरै भए पनि काम भएको छ । त्यसको विपरीत जहाँ कम्युनिस्ट र मजदुर, किसानको ठूलो पंक्ति छ, त्यहाँ वैचारिक कामै नहुने परिस्थिति देखिएको    छ ।

किनभने, कम्युनिस्ट पार्टी छँदैछ भन्ने मनोविज्ञानले सबैलाई परनिर्भर बनाएको हुन्छ । हाम्रो देशमा कम्युनिस्टको प्रभाव भएकै कारण खास गरेर किसान, मजदुर, युवा, विद्यार्थीको ठूलो तप्कालाई संगठनात्मक र वैचारिक रूपमै कुँज्याइयो । जसले गर्दा उनीहरूले स्वतस्फूर्त रूपमा गर्ने प्रतिरोधी क्षमता पनि गुमाउँदै गए । अर्थात्, कम्युनिस्ट पार्टीले जनतामा रहेको जुझारुपनलाई नै समाप्त पारिदियो । परिणामस्वरूप नेपालमा के देखिन थाल्यो भने किसानलाई मर्का प¥यो भने उनीहरू दूध बगाउन तयार हुन्छन्, तर प्रतिरोध गर्न तयार हुँदैनन् । यो अवस्था युवाको हकमा पनि लागू हुन्छ र विद्यार्थीको हकमा पनि ।

कम्युनिस्ट पार्टीमा आबद्ध चाहे त्यो युवा होस्, चाहे विद्यार्थी, किसान, मजदुर नै किन नहोस्, त्यो शक्तिले बितेका १५–२० वर्षमा कुनै ठूलो आन्दोलन नै गरेको छैन । कम्युनिस्ट पार्टीले पनि आफ्ना जनसंगठनलाई पाँच वर्षमा एकपटक प्रयोग गर्ने औजारका रूपमा प्रयोग गर्न थाले । अन्ततः उनीहरू समाज बदल्ने अग्रदस्ताको भूमिकाबाट अनुहारविहीन मतदातामा परिणत हुन पुगे । आजको युवाको वास्तविक अनुहार पनि यही हो । नेकपाका नेता–कार्यकर्ता केवल मतदानका एजेन्टमा सीमित हुन पुगेका छन् । कम्युनिस्ट क्याडरहरू खानेपानी, वन, विद्यालय र अस्पताल सञ्चालक समितिमा हावी त भए, तर त्यहाँ हावी भएसँगै उनीहरूमा रहेको जुझारुपन पनि उनीहरूले त्यतै कतै विसर्जन गरिदिए

यस्तोमा अझै हाम्रो पार्टीले लेनिनवादी संगठनात्मक सिद्धान्त अपनाएको स्वाङ रच्छ । तर, लेनिनको संगठनात्मक सिद्धान्त उनको राजनीतिक, सांस्कृतिक र आर्थिक सिद्धान्तसँग अविभाज्य छ भन्ने उसले बिर्सिसकेको छ । लेनिनको समग्र आत्मालाई छोडिदिएर भित्तामा झुन्ड्याइएको लेनिनको तस्बिरले समाजलाई कति उद्वेलित गर्न सक्ला ? समाजमा त्यसले कति प्रभाव विस्तार गर्न सक्ला अथवा भनौँ पुँजीवादविरुद्धको संघर्षमा त्यसले कत्तिको प्रभावकारी भूमिका निर्वाह गर्न सक्ला ? यही प्रश्न आजका युवाको हकमा पनि लागू हुन्छ ।

समाजमा कम्युनिस्ट पार्टीको यो स्तरको बोलवाला छ, संगठनमा उसले यो स्तरको पकड कायम गरेको छ कि सातमध्ये ६ प्रदेशमा उसले आफ्नै नेतृत्वको सरकार सञ्चालन गरिरहेको छ । देशैभरका युवा, कम्युनिस्ट पार्टीमा आबद्ध छन् । यसरी जुझारुपन सकिदिने र वैचारिक कुँजोपन विकास गरिदिने खालको दुर्भाग्यपूर्ण अवस्थामा उभिएका युवासँग हामी के अपेक्षा गर्न सक्छौँ ? यति भइसकेपछि नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तर कहाँ छ भन्ने थप दृष्टान्त दिइरहनु पर्छ र ? यद्यपि, आशा गर्ने ठाउँ जहिले पनि जीवित रहन्छ ।

हामी यो पार्टीलाई ब्युँताउने, प्राण भर्ने, वैचारिक, राजनीतिक मुद्दालाई संघर्षशील बनाउने सोचमा छौँ । अहिलेका विवादलाई वैचारिक चरणमा पु¥याउने प्रयासमा छौँ । तर, सफल हुन्छौँ कि असफल, अहिले नै भन्न सक्ने अवस्था छैन । यो वैचारिक लडाइँमा हामी पार्टीभित्र असफल भयौँ भने यस मुद्दालाई लिएर बाहिरबाट भए पनि विद्रोह हुन सक्छ । किनभने, अनुहारसहितको विकल्प नदेखिँदा अनुहारविहीन विकल्प आउन सक्छ । यसै आलोकमा उभिएर के भन्न सकिन्छ भने राजनीतिभन्दा बाहिर पुगेर खडा भएका वैकल्पिक शक्तिको भविष्य पनि त्यति उज्यालो छैन । यसको ज्वलन्त उदाहरण भारत हो, जहाँ कांग्रेस र बिजेपीको विकल्पमा दुई–चारजना डिग्रीधारी त उभिए, तर कालान्तरमा उनीहरूबाट पनि नहुने रहेछ भनेर देखियो ।

अन्ततः अन्ना हजारेको नैतिक साधकलाई अगाडि ल्याएर आम आदमी पार्टीले कंग्रेस र बिजेपीको गढलाई भताभुंग बनाइदियो । यसले पनि देखिन्छ कि नैतिक बल मात्र त्यो बल हो, जसले धन–बललाई पछार्न सक्छ । त्यो नैतिक बल गुमाएका हाम्रा नेताहरू आज असहाय देखा परेका छन् । त्यसैले हामी नैतिक बल भएकालाई अघिल्लो पंक्तिमा राखेर यही पार्टीलाई वैचारिक र सांगठनिक रूपले बलियो बनाएर अगाडि बढाउन चाहन्छौँ, जहाँ वास्तविक युवाहरूले नेतृत्व लिऊन् । हामीलाई लाग्छ, त्यस्तो वैचारिक राजनीतिक संघर्षलाई साथ दिनेको संख्या उल्लेख्य छ । हाम्रो संघर्षले हामीलाई तत्काल प्रधानमन्त्री वा राष्ट्रपति बनाउन नसक्ला, तर वैचारिक ढंगले संघर्ष अघि बढाउन भने त्यो पर्याप्त हुनेछ । हामी असफल भयौँ भने हाम्रो असफलताको चिहानमा उभिएर प्रतिगामी र दक्षिणपन्थी शक्तिले आफ्नो पखेटा फिजाउनेछ ।

जनताको बेचैनीलाई सबैले अनुभव गरेका छन् । पत्रपत्रिकामा दैनिक त्यस्ता समाचार आइरहेका हुन्छन्, जसले हरेकलाई उद्वेलित बनाइरहेको छ । गलत व्यक्तिलाई पोषिएको र इमानदार व्यक्तिलाई दण्डित गरिएको वर्तमान अवस्थामा हाम्रो असफलताले धेरै दिनसम्म निराशालाई आक्रोशमा फेरिनबाट रोक्न सक्नेछैन । किनभने, समाज विकल्परहित कहिल्यै पनि रहँदैन । प्रगतिशील विकल्प भित्रबाट दिन सकिएन भने यसको विकल्पमा अर्को विकल्प बाहिरबाटै भए पनि जन्मन्छ । यसको अनुमान ०६४ मा ह्वात्तै अगाडि आएको माओवादी पार्टीको उत्थान र पतनको इतिहासबाट पनि लगाउन सकिन्छ । माओवादी पार्टी त्यति वेला निर्वाचन जितेर आएको थियो, जति वेला उनले कतै पनि पुल–पुलेसा, बाटो, पोखरी बनाएको थिएन ।

तर पनि एमाले, कांग्रेसकै मतदाताले माओवादीलाई निर्वाचन जिताएर अगाडि ल्याइदिए । जनताको त्यो अपेक्षा पूरा गर्न नसकेको माओवादीलाई अर्कोपटक उनीहरूले चुनेनन् । भन्नुको अर्थ के भने जनताले विकल्प खोजिरहेका हुन्छन् । अहिलेको अवस्था माओवादीसँग मोह भंग हुँदा एमालेलाई चुन्ने र एमालेसँग मोह भंग हुँदा माओवादीलाई चुन्नेजस्तो छैन । यति वेला जनताले विकल्प रोज्नुपरेमा अर्कैतिर जान सक्ने सम्भावना छ ।

यस्तो बेथिति निर्बाध चलेको देख्दा नेपालमा युवापुस्ता नै छैन कि भन्ने भान हुन्छ । तर कुरा त्यस्तो भने होइन । नेपालीमा एउटा उखान छ– तातो दूधले मुख पोलेको बिरालोले मोही पनि फुकेर खान्छ । आन्दोलनका नेताहरूबाट पटक–पटक ठगिएकाले युवाहरू हतपती कसैलाई विश्वास नगर्ने अवस्थामा छन् । तर, उनीहरूको धैर्यको बाँध भत्केको दिन सिद्धान्त र नेताको अभावमा पनि युवपुस्ता यो अवस्थालाई समाप्त पार्न अघि आउनेछ ।

अब कम्युनिस्ट पार्टीले ५० वर्षसम्म विकासको रणनीति र कार्यक्रम बनाउनुपर्ने हुन्छ । त्यसभन्दा पनि महत्वपूर्ण कुरा कम्युनिस्ट पार्टीले कम्युनिस्ट कार्यदिशा अख्तियार गर्नुपर्छ । नवउदारवादी पुँजीवादी कार्यदिशा बोकेर समाजवादको यात्रा असम्भव छ । कार्यदिशा निर्माण गर्दा यो पनि हेक्का राख्नुपर्छ लेनिनको जस्तो एकदलीय सत्ता, हिंसामा आधारित क्रान्ति हुँदैन भने त्यसको विकल्प दिन सक्नुपर्छ । हिजो लेनिन र माओको विकल्प भनेर जुन विकल्प अघि सारियो, त्यो प्रजातान्त्रिक समाजवादभन्दा कुनै पनि मानेमा नयाँ थिएन

त्यो फेबियन समाजवादकै नेपाली संस्करण थियो । अब हामीले सर्वाहाराको अधिनायकत्व लागू नगर्ने, एकदलीय शासन नचलाउने हो भने पनि उत्पीडित वर्गको राजनीतिक, सांस्कृतिक र आर्थिक वर्चस्व कायम राखिरहने नयाँ बाटो खोज्नैपर्छ । हामीले नयाँ आर्थिक, राजनीतिक, सांस्कृतिक सिद्धान्तलाई अगाडि सार्नैपर्ने हुन्छ । नेपालका निम्ति ल्याइएको त्यस्ता सिद्धान्तलाई अन्य मुलुकले पनि अनुकरण गर्न सक्छन्, जसरी हामीले विश्वबाट सिकिरहेका हुन्छौँ । नेपालका कम्युनिस्ट र युवाको आजको मुख्य चुनौती नै यही हो

हामी र हाम्रो अग्रज पुस्ताले सामन्तवादका विरुद्ध सानदार ढंगले संघर्ष ग¥यो, तर पुँजीवादसँग आमनेसामने भएपछि हाम्रो नेतृत्वको ठूलो अंश पुँजीवादबाट प्रदूषित बन्न पुग्यो । यस्ता प्रदूषितहरूले पुँजीवादका विरुद्ध लड्न सक्ने कुरै भएन । त्यसैले युवापुस्ताले यो अजंगको पुँजीवादसँग यसरी नै सानदार ढंगले लडाइँ लड्नुपर्छ, जसरी हिजोको पुस्ताले सामन्तवादका विरुद्ध लडाइँ लडेको थियो ।

हाम्रो पुस्ताले युवाहरूसमक्ष यो सत्यलाई कबुल्नैपर्छ कि पुँजीवादसँगको लडाइँमा हामी कमजोर साबित भयौँ । युवालाई भन्नुपर्छ कि तिम्रा अगाडि पुँजीवादसँग लड्ने चुनौती तेर्सिएको छ । सम्पूर्ण सामथ्र्यका साथ पुँजीवादलाई धुलिसात पार्ने महायज्ञमा सामेल होऊ । अन्यथा, पुँजीवादले मान्छे र मान्छेको संसारलाई समाप्त पारिदिनेछ । नेपालका कम्युनिस्ट र युवाको आजको मुख्य चुनौती नै यही हो ।
साभार नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस