२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

पञ्चायतविरुद्ध मिलेर संघर्ष नगरी पञ्चायत पल्टाउन सकिन्न

कांग्रेस-कम्युनिस्ट दुवैले पढ्नुपर्छ बिपी र पुष्पलाललाई

बिपीले ठट्टा गर्दै भन्थे रे, राजनीतिक कार्यक्रम चाहिँ मेरो हुन्छ, बरू आर्थिक कार्यक्रम तपाईंको मानौंला
- रघुजी पन्त

कांग्रेस-कम्युनिस्ट दुवैले पढ्नुपर्छ बिपी र पुष्पलाललाई

साउन २७ गते २०७७

हामी हरेक वर्ष साउन ६ गते बिपी कोइरालालाई र साउन ७ गते पुष्पलाल श्रेष्ठलाई सम्झन्छौं। यी दुई यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो जीवनकालमा नेपालका दुई फरक राजनीतिक धारलाई नेतृत्व दिए।

उनीहरूको निधनको लामो समयपछि पनि दुवै व्यक्तित्व नेपालको राजनीतिमा अत्यधिक चर्चामा छन्। उनीहरूका कृति पनि मान्छेले खोजीखोजी पढ्छन्।

मैले बिपीका लेख अलि ढिलो मात्र पढ्न सुरू गरेँ। सुरूमा मैले मार्क्सवाद र वामपन्थी नेताका कृतिहरू पढेँ। वामपन्थी आन्दोलनमा लागेको दस वर्षपछि मलाई लाग्यो- अब यसरी भएन, बिपी कोइराला र कांग्रेस आन्दोलन पनि पढ्नुपर्छ। वामपन्थी आन्दोलनमा लागेका हामीले कांग्रेसलाई पढेनौं र कांग्रेसले हामीलाई पढेनन् भने नेपालको राजनीति समग्रमा बुझ्न सक्दैनौं।

मेरो आग्रह छ, कांग्रेस मान्यताभन्दा फरक विचार राख्नुहुन्छ भने पनि बिपीका राजनीतिक विचार र साहित्यिक कृति खोजेर पढ्नुस्।

बिपीका कृति पढ्दा उनी आफ्नो समयको मात्र होइन, अहिले पनि मूर्धन्य बौद्धिक व्यक्तित्व हुन् भन्ने अनुभूति हुन्छ। उनको बौद्धिकताको उचाइ छुने राजनीतिक नेता फ्रन्टलाइनमा कमै देखिन्छन्। उनलाई एक शब्दमा भन्दा, सुसंस्कृत राजनीतिज्ञ भन्न सकिन्थ्यो।

उनको रूचिको दायरा फराकिलो थियो। उनी आफ्ना कृतिमा पेन्टिङको चर्चा गर्छन्, संगीतको चर्चा गर्छन्। उनको सुम्निमाु पढ्दा कोशी छेउछाउको वातावरण पाउँछौं, ुनरेन्द्र दाइु पढ्दा तराईको। साहित्यक दृष्टिले बिपी जुन उचाइमा छन्, त्यो उनको अध्ययनको छुट्टै पाटो भयो। राजनीतिक रूपमा विचारहरू व्यक्त गर्न बिपी अब्बल थिए।

बिपीको एउटा महत्वपूर्ण कृति उनले अभियुक्तका रूपमा अदालतमा दिएको बयान हो। त्यहाँ बिपी बढो मज्जाले भन्छन्-म मेरो नाममा जे जति गतिविधि भए त्यसको नैतिक जिम्मेवारी लिन्छु।

उनलाई आफ्नो बयानमा गणेशराज शर्मा, कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारीजस्ता धेरै वरिष्ठ वकिलले सहयोग गरेको देखिन्छ। तै पनि त्यसको अभिव्यक्तिमा बिपीको विशिष्टता अनुभव गर्न सकिन्छ।

उनी व्यक्तित्व, विचार र बौद्धिकता हिसाबले जुन उचाइका राजनीतिज्ञ थिए, त्यत्तिकै उचाइमा राजनीतिक सफलता भने पाएको देखिँदैन। उनको जीवनको लामो कालखण्ड संघर्षमा बित्यो। सत्तामा १६ महिनाभन्दा बढी बिताउन पाएनन्। बिपीले शासनमा चार–पाँच वर्ष समय पाएको भए व्यावहारिक परीक्षण हुनसक्थ्यो। त्यो नेपालले देख्न पाएन।

बिपीका साहित्यक कृति सहजै पाइन्छन् र तिनलाई कालक्रम मिलाएर अध्ययन गर्न सकिन्छ। तर, उनका राजनीतिक विचारका कृतिहरू छरिएका छन् र कालक्रम अध्ययन गर्न गाह्रो छ। उनलाई नजिकबाट बुझ्न सक्ने पत्रकार वा राजनीतिक लेखन क्षमता भएका कार्यकर्ताले उनका सुरूदेखिका विचार समयअनुसार विभिन्न खण्डमा बाँडेर प्रकाशित गरे बिपीलाई समग्रमा बुझ्न मद्दत पुग्छ।

बिपीको जीवन र विचारमा बढो भिन्नता पाइन्छ। उनी सशस्त्र संघर्षका अनुयायी होइनन्। राणाकालमा लामो अनसन गरे। जब राणाशाहीबाट शासन फुत्काउन अप्ठ्यारो देखे, उनले मुक्ति सेना बनाएर लडे। त्यो मुक्ति सेना निर्माणमा दक्षिण छिमेकीको पनि केही योगदान रह्यो होला। उनले हतियार उठाए र त्यसमा मूलतस् हतियार उठाएर लड्नेहरू नेपाली नै थिए। त्यो संघर्षले बिपीलाई पहिलो सफलता दिलायो।

२०१७ सालको काण्डपछि २०१८–१९ सालतिर बिपीले फेरि हतियार उठाए। जबकि, उनी हतियार उठाउने राजनीतिमा विश्वास गर्ने मानिस थिएनन्।

उनले विभिन्न ठाउँमा गान्धीको प्रशंसा गरेका छन्। राममनोहर लोहिया, जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेवको विचारबाट र समाजवादी विचारधाराबाट उनी बढी प्रभावित छन्। संसदीय राजनीतिमा उनी कटिबद्ध देखिन्छन्। संवैधानिक राजतन्त्रमा पनि प्रतिबद्ध देखिन्छन्। उनका राजनीतिक विचार पढ्दा, हिंसालाई आफ्नो अभिव्यक्तिमा बहुतै कम स्थान दिएका छन्। तर, व्यावहारिक राजनीतिको आवश्यकता र बाध्यताले उनी प्रधानमन्त्री भइसकेपछि पनि विदेश बसेर हतियार उठाउनुपर्ने अवस्थामा पुगे।

दोश्रोपटकको उनको सशस्त्र आन्दोलन सफल भएन। त्यसले धेरै क्षति भोग्यो। उनीहरूले जहाज अपहरण गरेनन् कि, बन्दुकहरू भारतमा जम्मा गरेनन् कि, ती बन्दुक बंगलादेशमा मुक्ति सेनालाई पठाएनन् कि, के गरेनन्! यी घटनाले एक हदसम्म उनी रोमान्टिक रिभोलुसनरी थिए कि भन्नेतर्फ पनि सोच्ने ठाउँ दिन्छ।

नेपाली राजनीतिको एउटा कालखण्ड र लोकतान्त्रिक आन्दोलनको एउटा पाटो बुझ्न बिपीलाई पढ्नुपर्छ। उनको भाषा प्राञ्जल थियो। भाषण कलाबारे म टिप्पणी गर्न सक्दिनँ, किनभने उनलाई क्यान्सर भएपछिको टेप मात्र मैले सुनेको छु-टुँडिखेलमा बोलेको। त्यसैले उनको भाषण कला कस्तो थियो, म भन्न सक्दिनँ। तर लेखन र विचार अभिव्यक्तिमा उनी अब्बल थिए।

उनको व्यक्तित्वमा चुम्बकीय आकर्षण थियो। त्यो उनीसँग संगत गरेका र वरपर रहेका मानिसको अनुभव सुन्दा बोध गर्न सकिन्छ।

बिपी सबभन्दा फराकिलो थ्रो पाउने राजनीतिज्ञ पनि हुन्। उनी प्रवास (भारतको बनारस) मा जन्मिए। उनको संघर्ष र राजनीतिक जीवन भारतमा सुरू भयो। जयप्रकाश नेतृत्वको समाजवादी कांग्रेसको प्रान्तीय सचिव भए। त्यहाँ जेल परे। समाजवादी विचारधारामा लागे र त्यहाँ राजनीतिक स्पेस पनि पाए। त्यसले उनलाई २००७ सालको क्रान्ति नेतृत्व गर्न मद्दत गर्‍यो।

त्यो संगतले उनलाई राजनीतिक विचारका लागि धेरै फराकिलो क्षितिज दियो, जहाँ उनले दौडन पाए, उड्न पनि पाए। त्यसै कारण उनी सुसंस्कृत राजनीतिज्ञमा पर्छन्। उनले जुन स्पेस पाए, त्यो अरू कसैले पाएनन्।

बिपी मात्र होइन, कोइराला परिवारका सदस्यहरूकै लेखन क्षमता गज्जब देखिन्छ। मातृकाप्रसाद कोइरालाको अपूर्ण डायरी र कोशीको कथा मैले पढेको छु। त्यो पढ्दा मातृकाको साहित्यिक लेखन पनि बिपीभन्दा कमजोर छैन भन्ने देखिन्छ। तारिणीप्रसादको लेखन पनि कमजोर छैन। प्रकृतिप्रदत्त भन्ने कि संजोग, तीन दाजुभाइको लेखनमा अब्बल क्षमता देखिन्छ।

बिपीको राजनीतिक जीवनको सबभन्दा ठूलो दुखान्त भने उनले बुझ्न नसकेको नेपाल हो।

भारतमै जन्मेर, त्यहीँ राजनीति सुरू गरेका उनी थोरै समय मात्र नेपालमा रहे। यहाँको शासनमा आए। जेल परेपछि उनी बाहिरी संसारबाट अलग्गिए। जेलबाट निस्केपछि फेरि प्रवास गए। यसले खासमा नेपालीहरू के सोचिरहेका छन्, नेपालमा भित्रभित्रै कस्तो परिवर्तन भइरहेको छ भनेर समाजशास्त्रीय र ऐतिहासिक ढंगले नेपाली समाज बुझ्नमा कमी भएको देखिन्छ। त्यसैले उनी आफ्नो जीवनकालमा सफल भएनन्। यद्यपि उनले साहित्यिक रूपमा नेपाली समाज राम्ररी अनुभूत गरेको देखिन्छ।

मलाई मोदनाथ प्रश्रितले सुनाउँथे- बनारस हुँदा बिपीलाई भेट्न पुष्पलाल पटक-पटक पुग्थे। पुष्पलाल भन्थे, तपाईं राजनीतिक नेतृत्व लिनुस्। हामी मिलेर संयुक्त संघर्ष गरौं। पञ्चायतविरुद्ध मिलेर संघर्ष नगरी पञ्चायत पल्टाउन सकिन्न।

बिपीले आश्वासन दिए, तर कहिल्यै त्यो प्रस्ताव स्वीकार गरेनन्। ठट्टा गर्दै भन्थे रे, राजनीतिक कार्यक्रम चाहिँ मेरो हुन्छ, बरू आर्थिक कार्यक्रम तपाईंको मानौंला।

हैरान भएपछि पुष्पलाल गणेशमान सिंह कहाँ पुगे रे। गणेशमानले पनि आश्वासन दिँदादिँदा थकित भएपछि एकदिन मंगलादेवीले भनिन् रे, ए पुष्पलाल यहाँ आऊ। यी बूढाहरूले केही पनि गर्दैनन्। तिमी र म मिलेर संयुक्त आन्दोलन गरौं।

बिपीले नेपाल र नेपालीको राजनीति बुझ्न सकेनन् भन्ने २०३६ को आन्दोलनमा पनि देखिन्छ। जनमत संग्रहमा बिपीले टुँडिखेलमा गरेको भाषण म सम्झन्छु। त्यति बेला म राजनीतिक कार्यकर्ता थिएँ, पत्रकार पनि थिएँ। उनले भने, अहिलेको सरकारले कुनै त्यस्तो अन्तर्राष्ट्रिय सम्झौता नगरोस्, भावी सरकारलाई बोझ बन्ने कुनै पनि नीति र कामहरू नगरोस्।

मलाई बढो अनौठो लाग्यो। त्यो बेला हामी वामपन्थीले पाँचवटा पूर्वसर्त अगाडि सारेका थियौं र कांग्रेससँग मिलेर बहुदल जिताऔं भन्ने अभियानमा थियौं। बिपीले जे अपेक्षा राखे, परिणाम त्यसको उल्टो आयो।

बिपीले भविष्यमा आफ्नो सरकार बन्छ भनेर त्यस बेलाको पञ्च सरकारलाई कुनै पनि आर्थिक बोझ पर्ने निर्णय नगरोस् भनेर खबरदारी गरे, तर परिणाम पराजय आयो। यद्यपि त्यो पराजय धाँधलीद्वारा सिर्जित थियो। उनले राजनीतिक व्यक्तिका रूपमा इमानदारीसाथ म निर्वाचन परिणाम स्विकार्छु भने।

भारत बस्दा बिपीमा समाजवादी र कम्युनिस्ट बीच कडा बहस र अन्तर्विरोधको प्रभाव परेको थियो। नेपालका वामपन्थी हेर्ने दृष्टि पनि प्रभावित भयोजस्तो लाग्छ। बिपीले नेपालका वामपन्थी र २०३६ सालको आन्दोलन सही ढंगले बुझ्न सकेनन् भन्ने पनि मलाई लाग्छ। यसले उनको जीवनको उत्कर्षकाल संघर्षमै बित्यो।

अब पुष्पलालको कुरा गरौं।

पुष्पलाल बिपीभन्दा दस वर्ष कान्छा थिए। उनी कोइरालाहरू जस्तो हाइफाइु परिवारमा जन्मिएनन्, रामेछापमा जन्मे। पछि काठमाडौं आए र संघर्ष गरेर राजनीति सुरू गरे। नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव भए। त्यति बेला उनी केन्द्रीय सदस्य पनि थिए। पछि डिल्लीरमण रेग्मी र बिपीको मतभेद बढेपछि उनले कम्युनिस्ट पार्टी स्थापना गरे।

तर उनी कम्युनिस्ट पार्टी स्थापना गर्ने ठाउँसम्म कसरी पुगे होलान् भन्ने मलाई लाग्छ। किनकि पुष्पलाल नेपालमै पढेका थिए। राणा शासन थियो, किताबहरू थिएनन्। उनले नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहासु किताबमा भनेका छन्, दाजु गंगालाल श्रेष्ठहरूसँग अरूले बहस गरेको सुन्थेँ- रूसमा यस्तो हुन्छ रे! कम्युनिस्ट छ रे! अनि मैले खोजीखोजी किताबहरू पढ्न थालेँ।

पछि उनले वीरगन्जपारि भारत बसेर पनि पढे। उनी जुन पसलबाट किताब किन्थे, त्यहीँ मार्क्सवादी किताब खोजेर पढ्न थाले। त्यही बेला कम्युनिस्ट पार्टीको घोषणापत्र अनुवाद गरे। कलकत्तामा बस्दा चन्दा उठाएर नेपालको पहिलो कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशित गरे।

पुष्पलालको विशेषता के भने, उनको सुरूआत देखिको लेखनमा प्रजातन्त्रप्रतिको कटिबद्धता पाइन्छ। संसारका अरू कम्युनिस्ट आन्दोलनभन्दा नेपालको वामपन्थी आन्दोलन प्रजातन्त्रमा किन अगाडि बढ्यो भनेर हेर्ने हो भने, यसले दुइटा कुरा कहिल्यै छाडेन- एउटा राष्ट्रियताको विषय, अर्को जनवादको। यसमा पुष्पलालले एउटा कुरा थपे- जनजीविकाको कुरा। उनले भने, जनताका दैनिक हातमुख जोर्ने समस्या सम्बोधन गरिएन भने राजनीति अगाडि जाँदैन।

यो नारा हामीले पछिसम्म बोक्यौं।

पुष्पलालको भारतीय कम्युनिस्ट पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँग राम्रो दोस्ती थियो। उनी त्रिपुरामा पटक-पटक मुख्यमन्त्री भए। उनीसँग पुष्पलालको व्यक्तिगत सम्बन्ध थियो। पुष्पलालहरू भारतमा भोकै पर्दा, पार्टी चलाउनै मुश्किल पर्दा नृपेन्द्रले भनेका थिए, पुष्पलाल तिम्रो पार्टी चलाउन म आर्थिक सहयोग गर्न सक्छु, तर एउटा कुरा याद राख, यदि नेपाली जनताले नेपालको कम्युनिस्ट पार्टीको खर्च उठाउन र धान्न सक्दैनन् भने त्यसको औचित्य छैन।

पुष्पलालले त्यो कुरा मनमा लिए। वनारसमा भौकै बसे, तर मागेर खाएनन्। विदेशी सहयोग लिएनन्। नेपालबाट जति लेबी जान्थ्यो, त्यसकै आधारमा बाँचे। नेपालबाट जाने साथीहरूले सुनाउँथे, यहाँबाट अलिकति पैसा बोकेर गएका बेला उहाँले ल आज मासु खाऔं भन्नुहुन्थ्यो। नभए चिसो पानीमा चनाको सातु घोलेर खानुहुन्थ्यो।

पुष्पलाल नेपाल अध्ययन गर्ने अब्बल राजनीतिज्ञ हुन्। उनको हिस्टोरिकल नोट्स किताब र अन्य राजनीतिक लेखनहरु छापिएका छन्। प्रख्यात इतिहासकार महेशराज पन्तको शब्दमा भन्ने हो भने, पुष्पलालले नेपाली इतिहासको परिसीमन राम्रोसँग गरे। उनको बुझाइ यथार्थपरक थियो। उनले दिएको तथ्य-तथ्यांक ठ्याक्कै मिल्थे। नेपालको समाज कसरी विकसित भयो, यो समाज बुझ्न सकिएन भने राजनीतिक क्रान्ति गर्न सकिँदैन भन्ने पुष्पलाललाई थाहा थियो।

पृथ्वीनारायण शाहले विस्तारवादी भएर नेपाल एकीकरण गरे भन्दै वामपन्थी नेता र जनजाति नेताहरू कुर्लंदा पुष्पलालले भने त्यसबारे राम्रो व्याख्या गरेका छन्। उनी भन्छन्, त्यति बेलाको समाजमा सामन्तवाद थियो। पुँजीवाद पनि उदय भइरहेको थियो। बजारमा उत्पादन जान शान्ति चाहिन्छ। स(साना रजौटाहरू हुँदासम्म जहिले पनि लड्ने भए। जनताको जीवन अशान्त भयो। त्यो समयमा एउटा व्यक्तिको खोजी भइरहेको थियो। जनताको आकांक्षा स्थिर शासनु को थियो। ठीक त्यही बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे। गर्न त उनले राज्यविस्तार गरेका हुन्, तर नेपाल एकीकरण हुनुमा उनको ठूलो भूमिका छ।

नेपालको इतिहास बुझ्ने हो भने पुष्पलालका कृतिहरू पढ्नुपर्छ। तपाईंले आफ्नो इतिहास, भूराजनीति र कूटनीति बुझ्न र यो कसरी बन्यो भन्ने इतिहास थाहा पाउन पुष्पलाललाई पढ्नुपर्छ।

पुष्पलाल म्याक्सिम गोर्कीको आमा र अरू विभिन्न साहित्यक कृतिबाट प्रभावित भएको पाइन्छ। तर उनमा साहित्यकभन्दा समाजशास्त्रीय लगाव गहिरो देखिन्छ। इतिहासप्रति गहन रूचि देखिन्छ। यता बिपीको साहित्यिक पाटो निकै फराकिलो छ। तर यी दुईले नेपालको राजनीतिक धारलाई जुन बौद्धिक नेतृत्व दिए, त्यो महत्वपूर्ण छ।

पुष्पलाललाई फर्केर हेर्दा उनी सिद्धान्त, संगठन र संघर्षका नेता हुन्। सिद्धान्तमा उनी सन्तुलित थिए। जुन बेला चीन र रूस दुई धुरीमा विभाजित थियो, उनी कतै लागेनन्। उनले रूसलाई सामाजिक स्रामाज्यवादी हौ भनेर गाली गरेनन्। चिनियाँ झन्डा बोकेर पनि हिँडेनन्। तर, माओ-त्सेतुङ विचारधारासँग नजिक रहेको न्यू डेमोक्रेसी लाई यो ठीक है भनेर नेपालको सन्दर्भमा नयाँ जनवादी कार्यक्रम आफैं लेखे। राजनीतिक रूपमा चीनसँग अलि नजिक भए।

त्यति बेला केशरजंग रायमाझीले रूसी प्रवृत्तिलाई अलि बढी प्रतिनिधित्व गर्थे। कम्युनिस्ट आन्दोलन, नेपाल र भारत सम्बन्धमा किन धेरै समस्या छन् भन्ने थुप्रै लेख पुष्पलालले लेखेका छन्। पारवहनका कुरामा, सीमा समस्यामा बढी लेखेका छन्। यो पाटोमा बिपी कोइरालाका लेखहरू कम छन्।

बिपीको नेपाल स्टेट हो कि नेसन भन्ने कुराले विवाद जन्माएको छ। तर पुष्पलालले बढो राम्रोसँग ऐतिहासिक परिप्रेक्ष्यमा व्याख्या गरेका छन्। नेपालमा मातृसत्ता कसरी थियो भन्ने राम्रोसँग उल्लेख गरेका छन्। त्यसैले यी दुइटाको बौद्धिकता एकदम उचाइमा देखिन्छ।

यी दुवै कुशल संगठक पनि हुन्। बिपीले प्रजातान्त्रिक समाजवाद भनेर संगठन गरे। पुष्पलालले कम्युनिस्ट पार्टी बनाएर भोकभोकै सिंगो नेपाल घुमेर संगठन गरे। त्यसैले पुष्पलाललाई वामपन्थीहरू सिद्धान्त, संगठन र संघर्षको नेता भन्छन्।

पुष्पलालको प्रजातन्त्र प्रतिको प्रतिबद्धता कति गहिरो थियो भने, २०१४ सालको निर्वाचनमा कांग्रेसले ७३ सिट पाउँदा कम्युनिस्ट पार्टीले संसदमा ४ सिट पायो। जब राजा महेन्द्रले संसद विघटन गरे, कांग्रेसले होइन, पुष्पलालले विघटित संसद पुनर्स्थापनाको नारा लामो समयसम्म राखे। उनको त्यो विघटित सन्दर्भमा संसद पुनर्स्थापित गर भन्ने नारा नयाँ सन्दर्भमा लागू भयो। गिरिजाप्रसाद कोइरालाको पालामा हामी सबै वामपन्थी मिलेर विघटित संसद पुनर्स्थापित गर्‍यौं।

यसले के देखाउँछ भने उनले मेरो पार्टीको ४ सिट, कांग्रेसको ७३ सिट छ भन्ने हेरेनन्। उनले राजाले विघटन गरेको संसद पुनर्स्थापित हुनुपर्छ, तब यो जनआन्दोलनको जित हुन्छु भने।

उनी कुराकानीमा पनि भन्थे-( छेर बहादुर छेर, यो राजाले खाएको हो, संसद त्यसैले छेर्नुपर्छ।)

उनको अर्को नारा संयुक्त जनआन्दोलन गर्नुपर्छु भन्ने थियो, जुन बिपीले स्वीकार गरेनन्, गणेशमानजीले गरे। २०४६ सालमा त्यो नाराद्वारा हामीले बहुदलीय व्यवस्था पुनर्स्थापित गर्‍यौं। फेरि २०६२र६३ को आन्दोलनमा पनि हामीले संयुक्त जनआन्दोलन गर्‍यौं। अर्थात् माओवादी, अरू वामपन्थी, नागरिक समाज, नेपाली कांग्रेस सबैको नेतृत्वमा हामीले गणतन्त्र ल्यायौं।

गणतन्त्रका विषयमा अहिले हामी वामपन्थीहरू गजब व्याख्या गरिरहेका छौं। संसारमा कम्युनिस्ट क्रान्ति कहीँ पनि उस्तै तरिकाले दोहोरिएको छैन। त्यसैले हामीभित्र अहिले बहस छ- बुर्जुवा क्रान्ति सफल भयो कि भएन ?

भयो।

त्यो बुर्जुवा क्रान्ति कम्युनिस्टले नेतृत्व गरेको थियो ? मूलतस् कांग्रेस र वामपन्थीको संयुक्त नेतृत्वमा संयुक्त जनआन्दोलन भयो। गणतन्त्र आयो।

त्यसैले बिपी र पुष्पलाललाई हामीले किन पढ्नुपर्छ भने, जुन कालखण्डमा नेपाली राजनीति सुरू भयो, त्यो बेलाका धेरै घटना यिनीहरूले लेखनमा उतारेका छन्। र, नेपालको राजनीतिक इतिहास यिनीहरूलाई नपढी सही ढंगले बुझ्न सकिन्न।

बिपी हिसांवादी थिएनन्, हिंसाको सिद्धान्त अस्वीकार गर्थे। तर, आफ्नो जिन्दगीमा उनले दुईपटक बन्दुक उठाए। पुष्पलाल आवश्यक परे वामपन्थीले बन्दुक उठाउनुपर्छ भन्थे, तर झापामा अरूले बन्दुक उठाउँदा यो उग्रवादी विचार भयो, ठिक होइन भनेर अस्वीकार गरिदिए।

मान्यताले बन्दुकको विषय स्वीकार गरे पनि उनले जहिले पनि संयुक्त आन्दोलनमा वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेर अगाडि बढ्नुपर्छ, अरू बाटो छैन भने। जीवनकालको अन्त्यपछि मात्र उनका विचार लागू हुन पाए। त्यसलाई संयोग मान्नुपर्छ, उनका विचार लागू गर्ने नेतृत्व कांग्रेसका नेता गणेशमान सिंहले गरे।

त्यसैले संसारका धेरै इतिहासको तुलनामा नेपालको राजनीतिक इतिहासका केही सौन्दर्य, छटा, घटना र प्रवाहहरू छन्। राजनीतिको प्रवाहमा आउन चाहने नयाँ साथीहरूले बिपी र पुष्पलाललाई पढ्नुपर्छ। यी दुईलाई नपढेसम्म हामी नेपालको समाजलाई ऐतिहासिक ढंगमा राम्रोसँग बुझ्न सक्दैनौं।

प्रतिक्रिया दिनुहोस