३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

कोरोना बीमा गरेको १५ दिन पश्चात कोरोना देखिएमा दाबी भुक्तानी गर्न सकिने

संक्रमण दर बढेसँगै कोरोना बीमा गराउने ह्वात्तै बढे, बीमा गर्नेमध्ये ११० जना संक्रमित

१ लाख रुपैयाँको प्रतिव्यक्ति १ हजार र ५० हजारको प्रतिब्यक्ति ५ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ
संक्रमण दर बढेसँगै कोरोना बीमा गराउने ह्वात्तै बढे, बीमा गर्नेमध्ये ११० जना संक्रमित

साउन २७ गते २०७७

कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएपछि कोरोना बीमा गर्नेहरु ह्वात्तै बढेका छन् । हालसम्म ६ लाख भन्दा बढीले कोरोना बीमा गरेको बीमा समितिले जनाएका छ । कोरोना बीमा गर्ने १ सय १० जनामा कोरोना संक्रमण देखिएपछि दाबी भुक्तानी माग भएको बीमा समितिले जनाएको छ ।

सोमबारसम्म दाबी गर्नेहरु मध्ये ३८ जनालाई दाबी भुक्तानी दिइएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । अन्य बाँकी रहेकाहरुको भने दाबी भुक्तानी गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । अधिकारीका अनुसार संक्रमित भएकाहरुमा १ जनाले ५० हजार र अन्यले १ लाख रुपैयाँको बीमा गराएका छन् ।

पीसीआर परीक्षण र कोरोना बीमा गर्दाको कागजात लिएर गए सम्बन्धित बीमा कम्पनीले सातदिन भित्र भुक्तानी दिनेछन् । भुक्तानीमा कुनै समस्या नभएको अधिकारीले बताए । कोरोना संक्रमणको दर बढ्दै गएपछि कोरोना बीमा गराउनेहरु पनि बढ्दै गएको अधिकारीले बताए । कोरोना बीमाबाट हालसम्म ३५ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ ।

वैशाख सात गतेबाट शुरु भएको कोरोना बीमामा सोचे भन्दा बढी बीमा गर्नेहरु बढेपछि र कोरोना संक्रमण पनि बढ्दै गएपछि नियामक बीमा समितिले कोरोना बीमा बन्द गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । जेठ २३ गते बन्द गरिएको बीमा पोलिसी पुन अर्थमन्त्रालयको दबाबमा भोलिपल्टबाटै खुला गरियो । सरकारले बजेटमा समेत कोरोना बीमाको व्यवस्था गरेको अवस्थामा समितिले कोरोना बीमा पोलीसी बन्द गराएर बजेट फेल गराउन खोजेको आरोप अर्थले लगायो । अन्ततः सरकारले समेत अनुदान दिने भएपछि बीमा कम्पनीहरु कोरोना बीमा गर्न राजी भएका हुन् ।

अहिले सरकारले पनि कोरोना बीमा गराउन सुरु गरेको छ । सरकारी कर्मचारीको कोरोना बीमा गराउँदा पूरै बीमा शुल्क र नागरिकको हकमा ५० प्रतिशत बीमा शुल्क सरकारले व्यहोर्ने छ । बजेटमा १ लाख रुपैयाँसम्मको बीमा गर्दा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशतसम्म सरकारले व्यहोर्ने उल्लेख छ । यस्तै स्वास्थ्यकर्मी महिला स्वयमसेविकाको दायित्व भने सरकारले नै व्यहोर्नेछ । बजेटको बुँदा नम्बर ५५ र २८५ मा कोरोना बीमा सम्बन्धित व्यवस्था गरिएको छ । हाल देशभरका २० वटा निर्जिवन बीमा कम्पनी मार्फत कोरोना बीमा भइरहेको समितिले जनाएको छ ।

यसरी गर्न सकिन्छ कोरोना बीमा
कोरोना बीमा अन्र्तगत १ लाख र ५० हजार रुपैयाँ गरी दुइप्रकारको बीमांक कायम गरिएको छ । १ लाख रुपैयाँको प्रतिव्यक्ति १ हजार र ५० हजारको प्रतिब्यक्ति ५ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपैयाँका लागि ६ सय र ५० हजार रुपैयाँको लागि ३ सय रुपैयाँ शुल्क लाग्नेछ । बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारत लगायत तेस्रो मुलुकबाट आएको रहेछ भने १५ दिन अनिवार्र्य रुपमा क्वारेन्टिन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्नेछ ।

कोरोना बीमा गरेको १५ दिन पश्चात कोरोना देखिएमा दाबी भुक्तानी गर्न सकिनेछ । दाबी गरेका सात दिनभित्र बीमा कम्पनीले दाबी भुक्तानी गर्नेछ । भुक्तानीका लागि पिसिआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्नेछ ।

सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी प्रचलन छ । तर नेपालमा भने कोरोना भाइरस महामारीको बीमा गर्ने नीति बीमा समितिले अघि सारेर नयाँ अभ्यास गरेको छ । कोरोनाको बढ्दो संक्रमणमा यस खालको बीमाको उपयोगिता देखिएको छ ।
साभार रातोपाटी

प्रतिक्रिया दिनुहोस