३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

अब साविककोभन्दा १ सय रुपैयाँ बढी दैनिक ज्याला दिनुपर्ने

सुर्खेतमा मजदुरको दैनिक ज्यालामा वृद्धि

मजदुरले २६ दिनमात्रै काम गरेपनि १ महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्ने छ
सुर्खेतमा मजदुरको दैनिक ज्यालामा वृद्धि

साउन २७ गते २०७७

सुर्खेतमा मजदुरको दैनिक ज्याला वृद्धि भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै मजदुरको दैनिक ज्याला बढाइएको हो ।जिल्ला प्रशासन कार्यालय अन्तर्गतको दररेट निर्धारण समितिले मजदुरहरुको ज्यालामा हेरफेर गरेको हो ।  यस्तै जडिबुटी र निर्माण सामग्रीको मूल्य पनि तोकिएको छ ।

बजारमा महँगी बढ्दै जाँदा समितिले मजदुरको ज्याला तोकेको हो । यस्तै कालोबजारी रोक्न निर्माण सामग्रीको पनि मूल्य निर्धारण गरिएको छ । अब यही समितिले निर्धारण गरेको दररेट अनुसार नै कारोबार हुनेछ । मजदुरले पनि तोकिएको दरमा ज्याला पाउनेछन् । आफूखुशी बजार मूल्य तोक्ने र मजदुरलाई कम ज्याला दिएर शोषण गर्नेक्रम बढेपछि यस्तो दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आर्थिक ऐन अनुसार १२ प्रतिशत सम्म मजदुरको ज्याला बढाइएको हो ।सरकारी काममा खटिने मजदुरको दैनिक ज्यालामा १ सय रुपैयाँ वृद्धि गरिएको छ । यस्तै निजी तथा गैरसरकारी संघसंस्थामा दैनिक ज्यालामजदुरी गर्नेहरुको पारिश्रमिक पनि बढेको छ । जसअनुसार डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा १ सय रुपैयाँ बढाइएको छ । यसअघि दैनिक ८ सय रुपैयाँ पारिश्रमिक पाउने मजदुरहरुले अबदेखि ९ सय रुपैयाँ दैनिक ज्याला पाउनेछन् । काम गराउनेले अब साविककोभन्दा १ सय रुपैयाँ बढी दैनिक ज्याला दिनुपर्ने छ ।

यस्तै निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६ सय, पलम्बरको ६ सय ८८, सिनियर पलम्बरको ७ सय, इलेक्ट्रिसियन हेल्परको ६ सय,इलेक्ट्रिसियनको ७ सय, निर्माण सामग्री परीक्षण गर्ने ल्याव असिस्टेनको ६ सय ४० र टेक्निसियनको ७ सय ४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै हलुका ड्राइभरको हकमा ६ सय ६०, हेभि ड्राइभरको हकमा ७ सय ३०, हेभी इक्यिुमेन्ट अपरेटरको ८ सय २०, ड्राइभर सहयोगीको ६ सय, नगर निरीक्षक अर्थात कार्यालय सहयोगी सरहलाई ६ सय, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचिकार, सर्भे हेल्पर र मालिको ६/६ सय रुपैयाँ दैनिक ज्याला निर्धारण गरिएको छ ।

मजदुरको हकमा गत आर्थिक वर्षको तलुनामा ६० रुपैयाँदेखि १सय रुपैयाँसम्म ज्याला बढेको हो ।यस्तै मजदुरको हकमा अब २६ दिनसम्म काम गरेको खण्डमा १ महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । मजदुरले २६ दिनमात्रै काम गरेपनि १ महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्ने छ ।

नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदुर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । मूल्य र ज्याला निर्धारण गरेसँगै बजारमा कालोबजारी नहुने र मजदुरले उपयुक्त ज्याला पाउने विश्वास जिल्ला प्रशासन कार्यालयले गरेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई कडाइ गरिने समेत प्रशासनको भनार्इ छ ।

मूल्य निर्धारण समितिले श्रीखण्ड र रक्तचन्दन लगायतका वन तथा भू-संरक्षणतर्फको पनि मूल्य तोकेको छ । जसअनुसार प्रतिकिलो श्रीखण्डको ३ हजार, रक्तचन्दनको ३ हजार, कपुरको २ हजार ५ सय, तेजपत्ताको १ हजार, लप्सीको ३ सय, टिमुरको ३ सय र बकाइनोको मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै रुदाक्ष प्रतिगोटाको २ सय र सर्पगन्धको ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै विरुवाका लागि दाँते ओखर प्रति गोटाको २५ रुपैयाँ, उन्नत जातको चिली प्रतिगोटाको १ सय रुपैयाँ निर्धारण गरिएको छ । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ ।तर इट्टाको मूल्य भने यसपाली बढाइएको छ । यसअघि ढुवानीसमेत जोडेर प्रतिहजार वटाको १४ हजार ५ सय निर्धारण गरिएकोमा चालु आर्थिक वर्षमा १५ हजार कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस