२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

२९ साउन , २०७७

लकडाउनमा आत्महत्या : समाजशास्त्रीय अध्ययनले के भन्छ ?

ललितपुरको इमाडोलमा बसोबास गर्ने एक इन्जिनियरले यही लकडाउनको अवधिमा जेठ महिनामा आत्महत्या गरे
लकडाउनमा आत्महत्या : समाजशास्त्रीय अध्ययनले के भन्छ ?

ललितपुरको इमाडोलमा बसोबास गर्ने एक इन्जिनियरले यही लकडाउनको अवधिमा जेठ महिनामा आत्महत्या गरे । आर्थिक हैसियत राम्रो भएका उनले आत्महत्या गर्नुपूर्व आफ्नो तिरोतारोबाँकी रहेका जति सबैको नाममा चेक काटेर आफूले प्राण त्यागेको अध्ययनमा पत्ता लाग्यो । तर उनको आत्महत्या किन भयो ? भन्ने विषयमा समाजशास्त्रीय अध्ययन भइरहेको त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापकहरू बताउँछन् ।

यो समयमा भारतमा त ठूला सेलिब्रेटीले समेत आत्महत्याको बाटो रोजेको पाइन्छ । नेपालमा समेत धेरै यस्ता मुद्दाहरू छन् जुन मध्यम र उच्च आर्थिक हैसियत भएकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

आत्महत्याको सामाजशास्त्रीय कारण खोज्दै जाने हो भने आर्थिक अभाव मात्रै यसको कारण होइन । मान्छेको सोचाइ, आफ्नो कुरा लामो समयसम्म मनमा नै दबाउनुपर्ने बाध्यता र पुरानो परिवेशलाई नयाँमा ढाल्न नसक्नु पनि मुख्य कारण रहेको विभिन्न अध्ययनमा देखाएको छ ।

२०७६ चैत ११ गतेदेखि नेपालमा कोरोनाको प्रसार रोक्न गरिएको लकडाउनका कारण चार महिनासम्म धेरैजना घरभित्रै समय बिताउन बाध्य भए । यो कडा लकडाउनमा नागरिकको स्वास्थ्यकै लागि भए पनि यसले अर्काे साइड इफेक्ट गरेको तर्फ भने कसैले सोचेन । इमाडोलमा आत्महत्या गरेका इन्जिनियर मासिक ६० हजार रुपैयाँभन्दा धेरै कमाउँथे । उनको जीवनशैली उच्च स्तरकै थियो । तर उनलाई आत्महत्या गर्न केले बाध्य गरायो ? आत्महत्याको समाजशास्त्रीय अध्ययनको विषयमा नेपालमा हालसम्म अध्ययन नभएको बताउँछन् त्रिचन्द्र क्याम्पसका समाजशास्त्र विभाग प्रमुख सहप्राध्यापक डा. टीकाराम गौतम । तर जापानको होक्काइडो विश्वविद्यालयको स्कुल अफ हेल्थ साइन्सकी स्नातक विद्यार्थी कृतिका पौडेल र अस्ट्रेलियाका ला टोर्ब विश्वविद्यालयको बायोलोजी डिपार्टमेन्टका विद्यार्थी प्रमोद सुवेदीले यस विषयमा अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेका छन् ।

विभिन्न तथ्यांक अनुसार लकडाउन सुरु भएपछि साउनको मध्यसम्म मात्रै १५ जनाबढीले आत्महत्या गरिसकेका छन् । तथ्यांक अनुसार कोभिड सुरु भइसकेपछि दैनिक १८ जनाले आत्महत्या गर्ने गरेका छन् । यसको कारणका बारेमा समाजशास्त्र, मानवशास्त्र र मनोविज्ञानले छुट्टाछुट्टै कोणबाट व्याख्या गर्ने गर्छ ।

घरबन्दीको समयअघिको सामाजिक परिवेशमा हुर्किएको मान्छेले घरबन्दीमा नयाँ परिवेश अनुकूल आफूलाई ढाल्न नसक्दा जीवनको अर्थ नबुझेर पनि आत्महत्या गर्ने गरेको डा. गौतम बताउँछन् । उनी मान्छेले पहिलेको परिवेश र साथीभाइसँग आफ्नो अनुभव सेयर गर्न नपाउँदा जीवनको अर्थ देख्न छाड्छ भन्ने समाजशास्त्रीय मान्यता रहेको उनी बताउँछन् । समाजशास्त्रीय मान्यता अन्तर्गत् पनि आर्थिक, मानसिक, पारिवारिक जस्ता विविध पक्षलाई व्याख्या गर्ने गरिन्छ ।

पौडेल र सुवेदीले नेपालमा लकडाउनको समयमा भएको आत्महत्याको विषयमा असारको तेस्रो साता अध्ययन प्रतिवेदन प्रकाशित गरेका थिए ।

सो रिपोर्ट अनुसार व्यापार र पर्यटन, कृषिमा परेको असर, शिक्षामा परेको असर, सञ्चार सम्पर्कमा भएको असर र कमजोर मानसिकताका कारण यो समयमा धेरैले आत्महत्या गरेको पाइएको छ ।

नेपालमा कोभिड सुरु भएसँगै पर्यटन क्षेत्रका दुई तिहाइभन्दा धेरैको जागिर गएको छ । त्यस्तै, व्यापार व्यवसायमा पनि ठूलो ह्रास आएको छ । तर यो अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने यकिन छैन । त्यसैले पनि यो क्षेत्रका मान्छेले समेत आत्महत्याको बाटो अपनाउने गरेको अध्ययनले देखाएको छ ।

नेपालको आर्थिक सर्वेक्षण अनुसार २५ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । त्यही गरिबीको रेखामुनि रहेका नागरिकको रोजगारी समेत गुमेपछि भोलिको भयावह सम्झिएर पनि आत्महत्या गरेको देखिन्छ । यी सबै सामाजिक कारणहरू हुन् ।

बन्दाबन्दी, कर्फ्यू, सेल्फ आइसोलेसन, सामाजिक दुरी र क्वारेन्टिन सम्बन्धी व्यवस्थाले नेपालीको समग्र शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सोचाइमा परिवर्तन गरेको छ ।

लकडाउनको सुरूवातसँगै सरकारले सबै सिनेमा हल, जिम, स्वास्थ्य क्लब र संग्रहालय जस्ता मनोरञ्जनका केन्द्रहरू बन्द ग¥यो । मनको भारी बिसाउने आध्यात्मिक केन्द्रहरू मन्दिर, गुम्बा, चर्च र मस्जिदलगायत पनि बन्द भए । छिमेकीसँग कुरा गरेर हलुका हुने मनको भाव बिसाउने छिमेकी पनि घरभित्रै थुनिए । लामो समयको घर बसाइका कारण घरपरिवारसँग पनि सामान्य मनमुटाव सुरु भयो । यसले गर्दा आफ्नो योजना र अनुभव सुनाउने ठाउँ नभएर पनि मान्छेले आत्महत्याको बाटो रोजेको हुनसक्ने बताउँछन् सहप्राध्यापक डा. गौतम ।

बन्दाबन्दीको समयमा घरभित्र बस्दा उसले सुनेको मृत्यु र संक्रमणको जोखिमका कारण पनि नेपालीहरुमा डर, चिन्ता र अनिश्चितता पैदा हुने गरेको सो रिपोर्टमा उल्लेख छ ।

लकडाउनको समयमा भएको आर्थिक मन्दीले धेरै परिवारहरूमा आर्थिक दबाब सिर्जना गरेको छ । जसले अस्वस्थ संघर्ष, परिवार विच्छेद, दुरुपयोग, उदासीनता र घरेलु हिंसा बढाउन उत्प्रेरित गरेको समाजशास्त्रीय अध्ययनले देखाएको छ ।

वर्तमान महामारी र भविष्यमा हुने आपतकालीन समस्याहरूको सामना गर्न सरकारले पर्याप्त स्वास्थ्य उपकरण र दक्ष जनशक्ति थप गर्नुपर्ने सुझाव अध्ययनको छ ।

अर्काेतर्फ कोरोनाको बढी त्रासका कारण पनि धेरैले आत्महत्या गरेका छन् । नियमित आउने नकारात्मक समाचारले मान्छे त्रसित हुने र सम्भावित चुनौती सामना गर्न सक्दिन भन्ने कमजोर मानसिकताले पनि आत्महत्या दर बढिरहेको छ ।

त्यसैले सरकारले स्वास्थ्य सेवाको कार्यशक्तिलाई सुदृढ गर्दै, टोलटोलमा अनिवार्य स्वास्थ्य शिक्षा र प्रशिक्षण सञ्चालन गर्दै, विद्यमान स्वास्थ्य जनशक्तिको बुद्धिले उपयोग गर्दै, स्वास्थ्य अनुसन्धानको दायरामा लगानी बढाउने र सुसज्जित प्रयोगशालाहरूको स्थापना गरेर अहिलेको समस्या समाधानसँगै भविष्यमा हुनसक्ने समस्यालाई समेत समाधान गर्ने तर्फ ध्यान दिनुपर्ने सुझाव सो प्रतिवेदनमा छ ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस