२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

३१ साउन , २०७७

पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

पूर्वमा कम पानी पर्ने
पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ ।

शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिए । कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना नरहेको उनले बताए ।

मनसुनी न्युन चापीय रेखा पश्चिम भूभाग नजिक रहेकाले पश्चिम क्षेत्रमा बढी वर्षाको सम्भावना देखिएको हो । पश्चिम क्षेत्रमा एकैछिन आकास खुले पनि एकैछिनमा बादल लाग्ने र वर्षा हुने छ ।

गएराति बर्दियाका गुलरिया, रानीजरूवा, रम्बापुर लगायतका धेरैजसो स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले बाढी पूर्वानुमान महाशाखाले बबई जलाधार क्षेत्र आसपासका डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन भनेको छ ।

यस्तै गोरखाको बारपाक, आरूघाट, विरेनचोक लगायत धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । दरौदी र बुढीगण्डकी नदीहरुमा जलसतह बढ्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

पूर्वमा कम पानी पर्ने

पश्चिमको तुलनामा प्रदेश १ र प्रदेश २ मा भने कम पानी पर्ने छ । गत २४ घण्टामा पूर्वी भागका केही स्थानमा मध्यमखालको वर्षा भए पनि अधिकांस स्थानमा हल्का वर्षा भएको छ ।

मौसमविद श्रेष्ठले भने, ‘सबैभन्दा धेरै पाँचथरको फिदिम नजिक ४७ मिलिमिटर पानी परेको छ । यसैगरी ताप्लेजुङमा २७ मिलिमिटर छ, नत्र प्रदेश नं. १ मा १० मिलिमिटरभन्दा कम नै पानी परेको छ ।’

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस