२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

३२ साउन , २०७७

भरतपुर अस्पतालका मेसुसँगको बैठकमा सांसद, सीडीओदेखि जिल्ला नेतासम्म सहभागी

प्रसूति सेवा प्रभावित बन्न सक्ने
भरतपुर अस्पतालका मेसुसँगको बैठकमा सांसद, सीडीओदेखि जिल्ला नेतासम्म सहभागी

चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित तीनजना अस्पतालका चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा एक खालको त्रास फैंलिएको छ । यही गतिमा स्वास्थ्यकर्मीहरू धमाधम संक्रमित भएमा बिरामीहरूले उपचारमा समेत समस्या हुन सक्ने आंशका गर्न थालिएको छ ।

भरतपुर अस्पताल, भरतपुर कोभिड-१९ ल्यावको समेत जिम्मेवारी हेर्दै आएका अस्पतालका मेसु डा. तिवारी आफैं संक्रमित भएर अस्पतालको पुरानो क्याविनमा बसेका छन् । जहाँ उनले यसअघि अन्य संक्रमितलाई राखेर उपचार गर्दै आएका थिए ।

बिहीबार स्वाबको नमुना दिएका मेसु डा. तिवारीले शुक्रबार साउन ३० गते अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको आग्रहमा कोभिड संक्रमितको उपचार र व्यवस्थापनका विषयमा छलफल गर्न भन्दै अस्पतालमा नै बैठक गराएका थिए ।

अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको कार्यकक्षको हलमा निकै भिडभाडपूर्ण रुपमा गरिएको बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रदेश सभाका सांसद मिलनबाबु श्रेष्ठ, विजय सुवेदी, घनश्याम दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी सहभागी थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियार, कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठ, समाजवादी दलका जिल्ला अध्यक्ष प्रेम भुजेल, चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधान, चिकित्सक संघका अध्यक्ष डा. लोकबहादुर सेढाई, सचिव डा. सूर्यप्रकाश सापकोटा, डा. प्रकाश खतिवडा, भरतपुर अस्पतालका कोभिड संयोजक डा.प्रमोद पौडेल, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक सुवेदी, अस्पताल विकास समितिका सदस्य रमा घिमिरे र केशव देवकोटा, निजी अस्पताल सञ्चालक समितिका सचिव विक्रम अधिकारीसमेत बैठकमा थिए ।

बैठकमा अध्यक्ष डा. अधिकारी र मेसु डा. तिवारी एकै ठाउँमा थिए भने, मेसुको आडमा पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधान र नजिकै प्रमुख जिल्ला अधिकारी थिए । उनको सीधा पछाडि चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने बसेका थिए ।

सरकारले स्वाब दिएपछि रिपोर्ट नआइञ्जेल आइसोलेसनमा बस्न अनुरोध गर्दै आएको भए पनि त्यसको पालना स्वयं अस्पतालकै चिकित्सक तथा प्रशासनबाट भएको देखिदैन । सो बैठकको सञ्चालन गरेका मेसु मै कोरोना संक्रमण देखिएपछि नियमतः सहभागीहरू आइसोलेसनमा बस्नुपर्ने हुन्छ । यसो हुँदा जिल्लाको समग्र नेतृत्व नै प्रभावित हुन सक्ने देखिएको छ ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक सातामा परीक्षणका लागि स्वाब दिइने बताए ।

बैठकमा सहभागी कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले मेसुमा संक्रमण पुष्टि भएपछि आफूहरू होम क्वारेन्टाइनमा बसेको बताए । उनले भने, ‘कोभिडको व्यवस्थापनका बारेमा बैठक थियो, हामी सबै जना थियौं, मेसुलाई संक्रमण भएपछि होम क्वारेन्टाइनमा बसेका छौं, एक सातामा स्वाब परीक्षण गर्ने योजना छ, ।’ बैठकले खासै ठोस निर्णय भने गरेन ।

प्रशासनले चितवनका अस्पतालहरुलाई कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रका रूपमा राख्दै आएको छ । शुरूमा क्वारेन्टाइनमा मात्रै देखिएको संक्रमण हिजोआज अस्पतालमा देखिन थालेको छ । पछिल्लो समयमा देखिएका अधिकांश संक्रमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकाहरू छन् । उनीहरुबाट नै स्वास्थ्यकर्मीहरुसमेत संक्रमित बनेको अनुमान छ ।

भरतपुर अस्पतालमा कोरोना संक्रमित र संक्रमित नभएका बिरामीहरुको मिक्सम्याच हुँदा संक्रमण मेसुदेखि अस्पतालका चिकित्सकहरूसम्म फैलिन थालेको छ । स्वाब दिने शंकास्पद व्यक्तिहरू पनि अस्पतालको मूलबाटो भएरै जाने र अन्य सेवा लिन गएका बिरामीसँग नजिकको सम्पर्क हुने हुँदा संक्रमण सर्ने अवस्था सिर्जना भएको छ ।

प्रसूति सेवा प्रभावित बन्न सक्ने

राजधानी काठमाडौंको परोपकार प्रसूति गृह थापाथलीपछि सबैभन्दा बढी भरतपुर अस्पतालमा सुत्केरी हुने गरेको तथ्यांक छ । तर, भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेललाई नै कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रभावित हुने अनुमान छ ।

प्रा.डा. पोखरेलले हेरेका बिरामीहरुको कन्ट्याक ट्रेसिङदेखि स्वाब संकलन गर्नुपर्ने अवस्था छ । अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म महिलाहरुले प्रसूति सेवा लिँदै आएका थिए ।

डा. पोखरेलले गत बिहीबार विहानबाट बिरामीहरू नहेरेको बताएका छन् । उनको सोही दिन स्वाब संकलन गरिएको थियो । उनलाई हल्का ज्वरो र खोकी समेत छ । डा. पोखरेलको अनुपस्थितिमा डा. निर्मलालक्ष्मी श्रेष्ठ, डा. सजन केसी, डा. रामप्रसाद सापकोटाको टोलीले प्रसूति सेवा कसरी सुरक्षित तरिकाले दिने भन्ने बारेमा छलफल थालिएको डा. जीवन परियारले जानकारी दिए ।

सो विभागमा रेजिडेन्ट चार, तालिममा आएका ६ सहित २३ जना चिकित्सक र झण्डै ४० जना नर्सहरु कार्यरत छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस