२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

३२ साउन , २०७७

सरकारको निर्णय विपरीत खुलेको विद्यालयका शिक्षकमा कोरोना

साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय
सरकारको निर्णय विपरीत खुलेको विद्यालयका शिक्षकमा कोरोना

साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि मकवानपुरगढी गाउँपालिकाले केटाकेटी ‘बरालिने भए’ भन्दै विद्यालयहरु खोल्ने निर्णय गर्‍यो । जोर–विजोर वा सिफ्टमा सुरक्षा उपाय अपनाएर पठनपाठन सुरु गर्न सकिने उसले बताएको थियो ।

जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको छ ।

तर गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई सुरु गर्‍यो । कक्षा ८ देखि १२ सम्म बिहान ८ देखि १२ बजेसम्म र त्यसपछि १ देखि ७ सम्मको कक्षा सञ्चालन भयो । कुल विद्यार्थी संख्या ५०० भएपनि झण्डै २०० हारहारी स्कुल आउन थाले ।

कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने भएकाले विद्यालय खुलेको समयमा केही अभिभावकले आफ्ना सन्तानलाई भर्ना गर्न पनि ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनकुमारी पाख्रिनले जानकारी दिइन् ।

तर प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । कट्याक्ट ट्रेसिङका क्रममा शिक्षकको पनि स्वाब संकलन गरेर परीक्षण गर्दा २५ गते संक्रमण पुष्टि भयो । त्यसले सिंगो गाउँ त्रासमा पर्‍यो ।

शिक्षकको प्रत्यक्ष सम्पर्कमा रहेका केही शिक्षकले कोरोना परीक्षणका लागि स्वाब दिए । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये दुई जना प्राथमिक र एक जना माध्यमिक तहका शिक्षक हुन् ।

‘कोरोना गाउँपालिकामा थिएन । त्यसैले सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्ने भनेका थियौं’ गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई भन्छन्, ‘शिक्षकमा कोरोना संक्रमण देखिएपछि नयाँ समस्या सृजना भएको छ ।’

उनकाअनुसार थप ५ जना शिक्षकले पीसीआर टेष्टका लागि आइतबार स्वाब दिएका छन् । विद्यार्थी र अभिभावकलाई घरमै बस्न आग्रह गरिएको छ । ‘लक्षण देखियो वा केही गाह्रो भयो भने सम्पर्क गर्नुस् भनेका छौं’ उनले भने ।

तर अभिभावकहरु भने त्रासमा छन् ।

उनीहरुमध्ये एक प्रकाश दाहाल भन्छन्, ‘शिक्षकमा कोरोना देखियो भनेपछि बच्चाको ख्याल गरेका छौं । तर उनीहरुमा संक्रमण देखिन्छ कि भन्ने डर लागेको छ ।’

साभार – अनलाइन खबर

 

 

प्रतिक्रिया दिनुहोस