२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

करिब ६० करोड रुपैयाँ बजेट समेत विनियोजन

औद्योगिक क्षेत्रको निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति

कोरोना संक्रमण कारण उत्पन्न असहज अवस्था अन्त्य हुनासाथ सडक, ढल, विद्युत् र खानेपानीलगायतका भौतिक संरचनाहरु निर्माणको प्रकृया सुरु
औद्योगिक क्षेत्रको  निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति

साउन ३२ गते २०७७
सुकुम्बासीहरुसँग सहमति भएसँगै बाँकेको नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हटेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र सुकुम्बासीहरुबीच बैकल्पिक व्यवस्था नहुँदासम्म सुकुम्बासीहरुलाई हाल बसेकै स्थानमा बसोबास गर्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति भएको छ। औद्योगिक क्षेत्र निर्माण हुने क्षेत्रमा २०५४ सालदेखि ६१ घर परिवार सुकुम्बासी बसोबास गर्दै आएका थिए। उनीहरुले आफ्नो व्यवस्थापन नहुँदासम्म औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउन नदिने बताउँदै जबरजस्ती गरेर आन्दोलन गर्ने चेताबनी दिँदै आएका थिए।

तर, बाँकेका सांसद, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका जनप्रतिनिधिहरुको लामो प्रयासपछि लिमिटेड र सुकुम्बासीबीच सहमति जुटेको हो। बैकल्पिक व्यवस्था नहुँदासम्मका लागि सुकुम्बासीहरुलाई हाल बसेकै स्थानमा बस्न दिने र औद्योगिक क्षेत्रको खाली स्थानमा निर्माणका कामहरु सुरु गर्न सुकुम्बासीहरुले अवरोध नगर्ने लिखित सहमति भएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनले बताए। औद्योगिक क्षेत्र निर्माण हुने स्थलमा पुगेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्षलाई भेटेर सुकुम्बासीहरुले आफ्नो व्यवस्थापन गरेर औद्योगिक क्षेत्र निर्माणको काम सुरु गर्ने सुकुम्बासी अगुवा नवीन उपाध्यायले बताए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने समितिले औद्यौगिक क्षेत्रको जग्गामा बसेका सुकुम्बासीहरुलाई कहा कसरी व्यवस्थापन गर्ने निर्णय गर्नेछ।

बैकल्पिक व्यवस्था नहुँदासम्म सुकुम्बासीहरुलाई अहिले बसोबास गरेकै क्षेत्रमा बसोबास गर्न दिने र औद्योगिक क्षेत्रका पूर्वाधार निर्माणका साथै सुकुम्बासीहरुको बैकल्पिक व्यवस्थाको काम सँगसँगै अगाडि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए। औद्योगिक क्षेत्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृत भई करिब ६० करोड रुपैयाँ बजेट समेत विनियोजन भइसकेको छ। कोरोना संक्रमण कारण उत्पन्न असहज अवस्था अन्त्य हुनासाथ सडक, ढल, विद्युत् र खानेपानीलगायतका भौतिक संरचनाहरु निर्माणको प्रकृया सुरु गर्ने तयारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको छ। २०७२ सालदेखि सुरु भएको औद्योगिक क्षेत्र निर्माणको कामले करिब ५ वर्षपछि गति लिन लागेको हो। सुरुमा ५ सय २५ बिघा जमिनमा औद्योगिक क्षेत्र निर्माण गर्ने भनिए पनि सुकुम्बासीहरुको ब्यबस्थापन गर्दा करिब ३ सय ८ बिघा जमिनमा औद्योगिक क्षेत्र बन्ने छ।

प्रतिक्रिया दिनुहोस