३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

तीजले प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरित गरोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह :राष्ट्रपति
तीजले प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरित गरोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

भाद्र ५ गते २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् ।

तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र तीजले लैंगिक, जातीय विभेद लगायत सबै प्रकारका असमानता अन्त्य गर्दै समतामूलक प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेकी हुन् ।

उनले तीजमा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउनुपर्नेमा पनि जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक छ ।’

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन उनले सबैलाई आग्रह पनि गरेकी छन् ।

घरैमा बसेर तीज मनाउन उपराष्ट्रपतिको आग्रह

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसको संक्रमण देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा घरैमा बसेर तीज पर्व मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन् ।

तीजको अवसरमा आज शुभकामना दिँदै उनले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आग्रह गरेका हुन् । कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफै पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् ।

कोरोना संक्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थितिअनुसार चाडपर्व मनाउनुपर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीजलगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस