२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

गाईको छाला कुहिएर झर्ने समस्या

मोरङमा पशुको शरीरमा फोका आउने, ज्वरो आउने, फोका फुट्ने, फुटेको भागबाट पानी बग्ने, खुट्टा सुन्निने र दुध उत्पादन घट्ने लक्षण

केन्द्रीय पशुरोग अन्वेषण केन्द्रमा यो कुन प्रजाति र उपजातिको विषाणु हो भन्ने परीक्षण भइरहेकाले तत्काल खोप लगाउने कार्य सम्भव भएन
मोरङमा पशुको शरीरमा फोका आउने, ज्वरो आउने, फोका फुट्ने, फुटेको भागबाट पानी बग्ने, खुट्टा सुन्निने र दुध उत्पादन घट्ने लक्षण

भाद्र ७ गते २०७७
गत असारको मध्यदेखि पशुमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आउन सकेको छैन। लम्पी स्किन रोगको नियन्त्रणका लागि सरकारी तवरबाट कुनै कार्य नभएको मोरङका किसानको गुनासो छ। रोगबाट प्रभावित पथरीशनिश्चरे, लेटाङ र कानेपोखरीका किसानहरुले व्यक्तिगत रुपमा गाईको उपचार गराए पनि रोग नियन्त्रणमा नआएको बताए। स्थानीय पशु स्वास्थ्य प्राविधिकहरुले रोग फैलिन नदिन एन्टिबायोटिक्स र छालाका रोगमा प्रयोग गरिने औषधि प्रयोग गरे पनि लम्पी स्किन रोग नियन्त्रणमा आउन नसकेको लेटाङका किसान प्रेम दाहालले बताए। उनका अनुसार रोगले अझ अवस्था भयावह अवस्था सिर्जना गर्न लागेको छ। रोगका कारण गाईको छाला कुहिएर झर्ने समस्या देखिएका छन्। अन्य निरोगी पशु समेत बिरामी पर्दै गएको दाहालले बताए। रोग फैलिएको जानकारी गराए पनि सरकारी तवरका भेटनरी अस्पतालबाट रोग नियन्त्रणका लागि खोप लगाउने र रोगको संक्रमण रोक्नका लागी अन्य कार्य नभएको किसानहरुको गुनासो छ। एउटा पशुको उपचारमै तीनदेखि चार हजार रुपैयाँसम्म खर्चिनु परिरहेको किसानहरुको भनाइ छ। पशुको शरीरमा फोका आउने, ज्वरो आउने, फोका फुट्ने, फुटेको भागबाट पानी बग्ने, खुट्टा सुन्निने र दुध उत्पादन घट्ने लक्षण देखिने गरेको छ।

रोगबाट संक्रमित पशुमा बाँझोपनाको समस्या देखिने पशु चिकित्सकहरु बताउँछन्। प्रदेश १ को भूमी व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गानाका अनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरीका पशुमा लम्पी स्किन रोगको प्रकोप भए पनि यसका नियन्त्रणका लागि भेटनरी अस्पतालले प्रयास थालेका छन्। रोग फैलाउने झिँगा, लामखुट्टेलगायत नियन्त्रण गर्न औषधि छर्ने काम समेत भइरहेको ढुङ्गानाको दावी छ। उनका अनुसार रोग विषाणुबााट सर्ने भएकाले केन्द्रीय पशुरोग अन्वेषण केन्द्रमा यो कुन प्रजाति र उपजातिको विषाणु हो भन्ने परीक्षण भइरहेकाले तत्काल खोप लगाउने कार्य सम्भव नभएको हो। खोपका लागी केही ढिलाइ भए पनि संक्रमण थप फैलन नदिन कृषि तथा पशुपंक्षी मन्त्रालयले पहल थालिरहेको ढुङानाको भनाइ छ।

‘पहिला त नेपालमा फैलिएको लम्पीको उपजातबारे पत्ता लागेपछि मात्र खोप व्यावस्थापन गर्न सकिन्छ’ उनले भने, ‘संक्रमितलाई खोप लगाउनु प्रभावकारी छैन।’ झापा, मोरङ र सुनसरीका धेरै पशुमा यसको संक्रमण अझ बढ्ने पशु चिकित्सकहरु बताउँछन्। बर्खा याममा चरनका लागि पशुबाहिर नछोडिने भए पनि यसपछि चरनका लागि जंगल वा अन्य क्षेत्रमा छाडिने र संक्रमितको प्रत्यक्ष सम्पर्कबाट रोग फैलने पशु चिकित्सकको भनाइ छ। अफ्रिकाबाट फैलिएको यो रोग २०१९को मध्यतिर भारत र बंगलादेशमा देखिएको थियो भने नेपालमा असारको मध्यदेखि देखिएको हो। यो रोग मोरङमा पालिएका गाईमा पहिलो पटक देखिएको हो। रोग नियन्त्रण गर्न भारत तथा अन्य देशमा खोप दिँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस